मेलमिलापमा मेहेनत

अदालतमा मुद्दाको चाप घटाउन ल्याइएको मेलमिलाप कार्यक्रम अपेक्षा अनुसार सफल हुन नसकेको तथ्य भर्खरै बजार आएका समाचारले पुष्टि गरिरहेको छ । म्याग्दी, पर्वत, मुस्ताङ र बागलुङ जिल्ला अदालत र उच्च अदालत पोखराको बागलुङ ईजलासको वार्षिक तथ्यांकले मेलमिलाप असफल भएको देखाउनुले सरोकारवाला निकायले आवश्यक मेहेनत नगरेको त होइन भन्ने आभाष भएको छ । उच्च अदालतले मेलमिलापका लागि पठाएको १० वटा मुद्दामा एउटा मात्र सफल हुनुले कार्यक्रम नै असफल भएको पुष्टि गर्छ । दिगो शान्ति स्थापनाको लागि शुरु गरिएको मेलमिलाप कार्यक्रम निष्प्रभावी हुँदा सामान्य विवाद पनि अदालतसम्म पुग्ने गरेका छन् ।विवादित पक्षहरुबीच मेलमिलाप हुँदा विवादले मुद्दाको रुप लिन नपाओस्, न्यायिक क्षेत्रमा मुद्दाको चाप समेत नबढोस् भन्ने उदेश्यले मेलमिलाप कार्यक्रम ल्याईएको हो । तर, मेलमिलाप कार्यक्रम सरोकारवाला निकायको प्राथमिकता र आवश्यक मेहेनत नगर्दा मेलमिलाप बिफल भई मुद्दाको रुप लिएका छन् ।
मेलमिलाप सम्बन्धी कानूनले सामाजिक सदभाव बढाउनका लागि फौजदारी अभियोग बाहेकका मुद्दालाई मेलमिलापमा टुंगो लगाउने प्रावधान राखेको छ । आर्थिक बर्ष २०७४÷०७५ मा अदालतले ५९ थान मुद्दा मेलमिलापमा पठाएकोमा १० वटा मात्र सफल भएका छन् । ४८ मुद्दा असफल भए, एउटा प्रकृयामै छ । मेलमिलापमा रोकिएर अदलतमै फर्केपछि जेठ र असार महिनामा बढी चाप खेप्नुपरेको छ । बागलुङ जिल्ला अदालतमा अघिल्लो बर्षका १ सय २७ र नयाँ दर्ता ४ सय २५ गरी एक बर्षमा ५ सय ५२ मुद्दा परेका थिए । तीमध्ये असार मसान्तसम्म ४ सय ७ मुद्दा फछ्र्यौट भएका छन् । १ सय ४५ मुद्दा आगामी बर्षलाई सरेका छन् । पर्वत र म्याग्दी जिल्ला अदालतमा पनि बर्षभरिमा एक÷एक वटा मुद्दा मात्र मेलमिलाप भएको तथ्यांकमा उल्लेख छ । हरेक बर्ष १० देखि १५ थान मुद्दालाई मेलमिलाप गर्न छुट्टयाउने गरेकोमा एक दुई वटा मात्र छिनोफानो हुने गरेको छ । मुस्ताङमा अधिकांस मुद्दा भने अदालतमा नआइकनै मुखिया प्रथामा जाने गर्छन् ।
अदालतबाट फैसला भएका मुद्दाबाट थप घटना उत्पन्न हुने, समाजमा बैमनस्यता बढ्ने तथा दिगो समाधान नहुने भन्दै मेलमिलाप परिषदले मेलमिलाप अभियान शुरु गरेको हो । विवादित पक्षलाई जुटाउन नसक्नु, भौगोलिक कठिनाईका कारण मेलमिलाप कार्यक्रम प्रभावकारी हुन नसक्नु अर्काे कारण हो । र अर्काेतर्फ मेलमिलापकर्ता र कानून व्यवसायीहरु एउटै भएकोले मुद्दामा जाँदा बढी फाईदा हुने भएकोले पनि मेलमिलाप कार्यक्रम असफल हुनुमा कसैको दुई मत छैन । मेलमिलाप कार्यक्रमलाई सफल बनाउनको लागि सबैभन्दा बढी महत्वपूर्ण भूमिका मेलमिलाप कर्ता र वकिलको भएको हुँदा पैसाको प्रलोभनमा पर्नु हुँदैन । मेलमिलाप कार्यक्रमबाट सबैभन्दा बढी श्रमजिवी वर्ग लक्षित भएको हुँदा उनीहरुलाई मेलमिलापमा अग्रसर गराउनु पर्छ । मेलमिलापले सामाजिक सद्भावलाई मजबुद बनाउने हुँदा मेलमिलाप कर्ताले आर्थिक लाभ होइन बढी मेहेनत गर्नुपर्छ ।