संवादबाट समाधान

बागलुङ,२१ साउन–दृष्टिबिहिन विद्यार्थीले समेत सहज रुपमा अध्ययन गर्ने वातावरण मिलाउँदै आएको जिल्लाको नारायणस्थामा रहेको जनता–धन माध्यामिक विद्यालयका शिक्षकहरु बीच चलेको जुँगाको लडाईंका कारण विवादित बन्दै गएको छ । मर्यादाक्रममा विद्यालयका प्रधानाध्यापक र केही शिक्षकको बीचमा देखिएको मदभेदको असर अन्ततः विद्यार्थी तथा विद्यालयमा देखिन थालेको छ । नेपाल सरकारले साविकको उच्च माध्यामिक तहलाई माध्यामिक तहमा समायोजन गरेर कक्षा ८ देखी १२ सम्मको शिक्षालाई माध्यामिक शिक्षा मान्ने निर्णय गरे यता विद्यालय बिस्तारै विवादित हुँदै गएको थियो । साविकको माध्यामिक तहमा अध्यापन गराईरहेका स्थायी तथा अस्थायी शिक्षक र उच्च माध्यामिक तहमा अध्यापन गराईरहेका करार सेवाका शिक्षकहरुको मर्यादाक्रममा विवाद रहेको छ । उच्च माध्यामिक तह रहने बेलासम्म मर्यादाक्रममा तेस्रो र चौथो स्थानमा रहेका शिक्षकहरुले एकाएक आफ्नो मर्यादाक्रम आठौं र नवौं स्थान कायम गरिएपछि तीन महिनादेखि विद्यालयमा उपस्थित भएर पनि हाजिर गरेका छैनन् भने हाजिर नगरेको हानामा विद्यालय प्रशासनले उनीहरुले पाउने आर्थिक बर्ष २०७४÷०७५को अन्तिम चौमासीक तलब समेत रोक्का गरेको छ ।
मर्यादाक्रममा आफुलाई अपमान भएको ठहर गरी हाजिर नगरेका शिक्षक दिपेन्द्र खड्का र नारायण प्रसाद ढकाललाई अन्तिम चौमासिक तलब नदिएको विद्यालय प्रशासनले शिक्षा विभागको निर्देशन अनुसार मर्यादा कायम गरिएको भनेपनि गत बैशाख महिनाबाट उनीहरुको मर्यादाक्रम घटाएर राखिएको छभने जेठ महिनामा मात्रै मर्यादाक्रमको बिषयमा शिक्षा विभागको पत्र बागलुङ नगरपालिकामार्फत विद्यालयलाई प्राप्त भएको स्वमं विद्यालयका प्रधानाध्यापक कुमार पौडेल बताउँछन् । शिक्षकहरुको बीचमा रहेको विवाद बागलुङ नगरपालिकासम्म आएको भएपनि नगरले समेत उपयुक्त निर्णय दिन नसक्दा विवाद थप जटिल बन्दै गईरहेको छ । नगरपालिकाका प्रमुखले अलगै हाजिर कपीमा हाजिर गरेर विवादको समाधान खोज्ने प्रयास गरेको भएपनि विद्यालय प्रशासन र नगरपालिकाको शिक्षा शाखाले त्यसलाई अस्वीकार गरेका कारण विवाद सुल्झिन नसकेको हो । शिक्षकहरुको बीचमा देखिएको जुँगाको लडाईंको असर विद्यार्थी तथा अभिभावकमा देखिन थालेको छ ।
कक्षा ११ को नयाँ भर्ना सञ्चालन भैरहेको अवस्थामा शिक्षककै विवादका कारण नियमित पठनपाठन हुनेमा शंका व्यक्त गर्दै अभिभावकहरुले आफ्ना बालबालिकालाई अन्य विद्यालयमा भर्ना गर्ने मनसाय बनाएका छन् । जसका कारण केही बर्ष पहिलादेखि नै सञ्चालनमा रहेको ब्यबस्थापन संकायमा विद्यार्थीको भर्ना निकै कम रहेको छ । शिक्षकको बीचमा रहेको विवाद मिलाउने जिम्मेबारी विद्यालय प्रशासनको हो । आफ्नै कारण सुरुवात भएको विवादको जड आँफुनै भएकाले त्यसको समाधान खोज्नका लागि विद्यालय प्रशासनले आफुलाई सुधार गरेर लानु आवश्यक छ । शिक्षा विभागको निर्देशनकै भरमा कायम गरिएको भएपनि मर्यादाक्रम कायम गर्ने बेला शिक्षकहरुसँग सल्लाह गरेर गरेको भए यो समस्या आउने थिएन् । त्यसैले विद्यालय प्रशासनबाट भएको कमी–कमजोरीको सुधार र शिक्षकहरुमा रहेको हठलाई एकआपसमा छलफल र सम्बादको माध्यामबाट समाधान खोज्दै विद्यालयलाई विद्यार्थी तथा अभिभावकको विश्वासको केन्द्र बनाउन जरुरी छ । जुँगाको लडाईका कारण कुनैपनि विद्यार्थीको भविश्य अन्यौलमा पर्नु हुँदैन् ।