स्थानिय उत्पादनलाई प्रोत्साहन गरौं

नेपाल सरकारले एकसुत्रीय नारा बनाएर अबको लक्ष्य आर्थिक समृद्धि भएको घोषणा गरेको छ । सरकारको घोषणा अनुसार देशलाई आर्थिक समृद्धिको यात्रामा गति दिनको लागि राज्यका उपल्लो तह केन्द्रिय सरकारदेखी तल्लो तह स्थानिय सरकार सम्मको उत्तिकै भूमिका रहेको हुन्छ । आर्थिक समृद्धिको लागि कुनै किताबी नारा बनाएर वा घोषणा गरेर मात्रै सम्भव छैन्, त्यसका लागि उत्पादन र रोजगारीलाई प्रबद्र्धन गर्नु अपरिहार्य छ । बागलुङमा केही समय अघिसम्म ब्यवसायिक रुपमा उत्पादन हुने हातेकागज विस्तारै कम हुन थालेको छ । वनमा पाईने कच्चा पदार्थको प्रयोग गरेर स्थानिय सर्वसाधारणले घरमै उत्पादन गर्दै आएको हाते कागजको उत्पादन घट्नु भनेको उनीहरुको व्यक्तिगत आम्दानी घट्नु मात्रै हैन समग्र जिल्लाको उत्पादन घट्नु हो । कृषि उत्पादनका अलवा जिल्लामा उत्पादन भएर निर्यात हुने मध्येको प्रमुख उत्पादनको रुपमा रहेको हतेकागजको उत्पादन घट्नु चिन्ताको बिषय हो ।
बजारमा आएका आधुनिक कागजका कारण विस्थापनको बाटोमा लागेको हाते कागजको लागि स्थानिय सरकारले ध्यान दिन जरुरी छ । एकातर्फ उत्पादकलाई प्रोत्साहन गर्ने, अनुदान उपलव्ध गराउने लगायतका काम गर्न आवश्यक छभने अर्कोतर्फ स्थानिय रुपमा उत्पादन हुने हातेगाजको प्रयोग र बजारीकरणमा समेत ध्यान दिनुपर्ने बेला आएको छ । आधुनिक प्रविधिसँगै भित्रिएका आधुनिक बस्तु तथा सेवाका कारण विस्थापनको बाटोमा लागेका हाम्रा स्थानिय उत्पादनलाई समयमा नै व्यवस्थापन गर्न नसक्ने होभने त्यसको परिणाम प्रतिउत्पादक हुन्छ । आर्थिक समृद्धिको यात्रामा अगाडि बढिरहेका नेपालका तीनै तहले स्थानिय उत्पादनमा बिषेश ध्यान दिन जरुरी छ । भईरहेका, धरापमा परेका स्थानिय उत्पादनलाई पुर्नजागरण गर्ने र थप स्थानिय उत्पादनको विकास गर्ने खालका कार्यक्रम ल्याउन जरुरी देखीन्छ ।
स्थानिय सरकारदेखी केन्द्र सरकार सम्मको नीति तथा कार्यक्रमलाई हेर्ने होभने उत्पादन बढाउनका लागि आवश्यक सबै खाले कामकार्वाही अगाडि बढाउने भनिएपनि बजेटको ब्यवस्थापनमा भने हरठाउँमा चुकेको पाईन्छ । उत्पादन बिना आर्थिक बृद्धिको सपना साकार हुँदैन भन्ने कुराको हेक्का हुँदा–हुँदै पनि राज्य सञ्चालनको तहमा रहेकाले भौतिक पुर्वाधारलाईनै प्रमुखता दिएर सानो मात्रामा उत्पादन हुने स्थानिय उत्पादनलाई व्यवस्ता गरेका कारणले नै आज देश हरेक कुरामा परनिर्भर भैरहेको छ । बागलुङमा उत्पादन हुने हातेकागज, घर छाउने ढुंगा, सेलेट ढुंगा लगायतका उत्पादन र आलु, कोदो, फापर, जस्ता कृषि उत्पादनको बजारीकरण गर्न आवश्यक छ । पशुजन्य र वनजन्य उत्पादनलाई पनि त्यत्तिकै प्राथमिकतामा राखेर आफ्ना कार्यक्रमहरु तय गर्न स्थानिय सरकार चुक्नु हुँदैन् । स्थानिय उत्पादन बढाउनका लागि नयाँ उद्योग स्थापनाको लहर चलाउनुपर्ने बेला भए गरेका साना उद्योगसमेत धराशायी भएकोतर्फ सबैको ध्यान जाओस् । विदेशी भुमिमा रगतको पसिना पारेर कमाएको सम्पत्तिभन्दा आफ्नो आँगन बनेका बस्तुबाट प्राप्त हुने सानो रकमले गुजारा चल्यो भने देशको उन्नति गर्न सकिन्छ भन्नेमा आम सर्वधारणको सोच परिवर्तन हुन जरुरी छ ।