छाता ओढ्न पनि खेताला !

संसारमा सबैभन्दा बढी भाग्यमानी को हुन भनेर कसैले प्रश्न सोधी हाल्यो भने त्यो हो नेपाली भन्ने जवाफ आउँछ । हो यतिबेला नेपालका मन्त्रीदेखि प्रधानमन्त्रीसम्म भाग्यमानी छन् । चाहे शहर वा दुरदराज गाउँमै किन हिड्न नपरोस् झोला बोक्नेदेखि छाता ओढाउनेसम्म सहजै पाउन सकिन्छ । हिजो एकजोर चप्पल समेत चन्दा उठाएर लाउने नेताहरू आज एकाएक सरकारमा पुगेपछि जीवन शैलीमा ठूलो परिवर्तन आएको छ । हाम्रो देशका मन्त्रीलाई भ्याईनभ्याई छ । गाउँदेखि शहरसम्म सयौं निम्तो छ सभा सम्मेलनदेखि गाउँघरका क्लबको बार्षिक उत्सवको उद्घाटन गर्न पुग्नुपर्ने भएपछि सधैं हतार छ । अनि घाम लागेपनि छाता चाहियो, पानी परेपछि त छाता नभई भएन । मन्त्री, प्रधानमन्त्री भएपछि आफै छाता ओढ्न पनि सुहाउँदो भएन, छाता ओढाईदिने एक जना सेवक चाहियो, अहिले देखिएको कुरा यहीँ हो । इतिहासमै शक्तिशाली सरकार बनेको छ । नेपाली जनताले राहत पाउने कुरा धेरै टाढाको कुरा भयो । सरकार अल्पमतको हैन पुरै दुई तिहाईको छ । कसैले न त यसलाई छुन सक्छ न त हल्लाउन नै सक्छ । यस्तो शक्तिशाली सरकारका मन्त्रीले छाता आफै ओढेर हिड्न पनि कहाँ सुहाउने कुरा भयो र हैन ?
न त हाम्रो देश अमेरिका हो न त चीन नै हो । त्यहाँ राष्ट्रपति सिजी फिङ जसले आफ्नो छाता बोक्ने सहयोगी पाएको देखिदैन । हुनतः धेरैले चीनको आलोचना गर्छन्, चीन विश्वकै शक्तिशाली राष्ट्रमा पर्छ । त्यहाँका राष्ट्रपति सिजी पिङले भन्छन्– ‘जसले ब्यक्तिगत सम्पत्ति राख्छ त्यो कम्युनिस्ट हुन सक्दैनन् । तर नेपालमा आफुलाई कम्युनिस्ट पार्टीको सिपाही हुँ भनेर दाबी गर्ने मन्त्री तथा नेताहरूको सम्पत्तिको न त हिसाब छ । बैंक ब्यालेन्स मात्रै करोडौं भेटिन्छ । कुरा मात्र कम्युनिस्टको व्यवहार भने कमाउनिष्ट भएको दिनको घामझै छर्लङ्ग छ । कुरा समाजवादी व्यवहार भने पुँजीवादी भएपछि कहाँ बाहिर घुम्दा र कार्यक्रममा जाँदा कहाँ छाता ओढेर हिड्न सुहाउँछ त ? सहयोगी त चाहियो नै । हिजो अस्तीसम्म जनताको घर आँगनमा पुगेर जनताको लागि काम गर्ने, जिल्लाको विकास गर्ने कसम खाएका नेताहरू चुनाव जितेपछि रातारात परिवर्तन भएका छन् । अहिले सिंहदरबारको अधिकार गाउँ–गाउँमा आएको भनेर जतिसुकै प्रचारप्रसार गरेपनि नेपाली जनतालाई कागलाइ बेल पाक्यो हर्ष न बिस्मात भन्दा अर्कोथोक केही हुन सकेको छैन ।
सबैभन्दा बढी गणतन्त्र यदि कसैलाई आएको छभने यतिबेला मन्त्रीलाई आएको छ । अहिलेसम्मकै शक्तिशाली सरकारलाई छुने हिम्मत कसको छ यहाँ । यस्तो बेला सुरक्षागार्डलाई झोला र सहयोगीलाई छाता समाउन लगाउनु के ठुलो कुरा भयो र हैन त । साँच्चै समाजवादमा जाने हो भनेर नेपालकै संबिधानमा स्पष्टसंग लेखिएको छ । हाम्रो आचरण र व्यवहार भने ठिक बिपरित छ । गफकै भरमा समाजवादी बन्न सकिन्छ भने किन काम गरेर देखाउनु प¥यो हैन त । हिजोसम्म एक छाक कसले खुवाउँला भनेर भन्नुपर्ने अबस्थामा रहेका हाम्रा नेताहरू अहिले प्रदेशमा मन्त्री, केन्द्रमा मन्त्री भएपछि यहीँ बेला हो अकुत सम्पत्ति कमाउने बेला भनेर त्यसैको पछाडि दौडीरहेका छन् । शक्तिशाली सरकारले आफ्नो कार्यकालको ६ महिनाको अबधिमा न हाँसको चाल न त बकुल्लाको गतिमा हिडिरहेको देखिन्छ ।
जतिसुकै अराजकता छ, हत्या, आतंक र बलात्कार झन्भन्दा झन् बढेर गइरहेको छ । अहिलेसम्म यसलाई हटाउने कुरा सात समुन्द्र पारीको कुरा भयो । सामान्य रूपमा न्युनिकरण गर्न पनि सकेको छैन । अहिले कञ्चनपुर की १३ बर्षिय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको झन्डै दुई महिना हुन लाग्दा समेत प्रहरी प्रशासनले घटनाको अपराधीलाई समातेर कार्वाही गर्ने त कहाँ हो कहाँ झन् अपराधीलाई जोगाउने अभियानमा लाग्छ । घटनाको ढाकछोप गर्छ । बिना सरोकारको मान्छेलाई ल्याएर हत्याकाण्डको दोषी हो भनेर भन्छ । साँच्चै सरकार कसको इसारामा चल्छ भन्ने कुरा यहाँ भनी राख्न पर्दैन होला । अहिले पनि देशमा सरकार अपराधी, डन, गुन्डागर्दी र ठेकेदारले नै चलाउँछ भन्ने कुरा स्पष्ट छ । हो अहिले जसरी हाम्रो मन्त्रीलाई छाता ओढाएर जुन किसिमको भुमिका निभाउने काम गरिरहेका छन् । यिनैले अहिले सरकारलाई गुमराहमा पारेर ठिक ढंगले काम गर्न दिएको छैनन् ।
अहिले निर्मला पन्तका बाबाआमा आफ्नो छोरीको हत्यारालाई पक्राउ गरेर कार्वाही गर्न माग गर्दै यतिबेला राजधानीमा धाइरहेका छन् । अझैसम्म पनि सरकारले निर्मला हत्याकाण्डको नजिक पुग्न सकेको छैन । अहिलेसम्मको घटनाक्रमलाई हेर्ने होभने अहिले मन्त्रीलाई छाता ओढाउनेहरूले न्याय माथि छाता ओढाएर दोषीलाई उन्मुक्ति दिने कसरतमा लागि रहेको देखिन्छ । यतिबेला निर्मला पन्तका परिवारले न्याय पाउदैन भने देशमा सरकार छ भनेर घमण्ड नगरे हुन्छ । नेपालको संबिधान संशोधन गरेर लेखिदिए हुन्छ । यहाँ बलात्कार गर्न छुट छ, हत्या आतंक गर्न छुट छ । कसैलाई कानुनी कार्वाही हुदैन भनेर लेखिदिए हुन्छ । जबसम्म आफ्नो छाता आफै बोकेर ओढ्ने हैसियत हामीसंग हुँदैन तबसम्म हजारौं निर्मला पन्तहरू यसरी नै बलात्कारको शिकार भइरहन्छन् र यसरी नै हत्या भइरहने छ ।