श्रृंखलालाई मिस वर्ल्डमा हौसला दिने अभिप्रायले परिवार सहित ३१ जनाको टोली चीन प्रस्थान

मकवानपुर, २० मंसिर– मिस वर्ल्ड नेपाल २०१८ श्रृंखला खतिवडालाई हौसला दिन उनका परिवार सहित, आफन्त, शुभचिन्तक, छरछिमेकको टोली आज चीनतर्फ गएको छ ।
श्रृंखला खतिवडालाइ नेपालको एक टोलीले चीनमै भेट्ने र मिस वर्ल्डमा हौसला दिने अभिप्रायले ३१ जनाको टोली बिहीबार दिउँसो १ बजे चीनतर्फ गएको हो । टोलीमा श्रृंखलाका बावु विरोध खतिवडाको नेतृत्वमा आमा मुनु सिग्देलसहित परिवार, हेटौंडा उप महानगरपालिकाका उपमेयर मिना लामा, मदनकुमार दाहाल, अनिल पाण्डे, नबिन केसीलगायत छन् ।
‘हामी आज चीन जाँदैछौँ परिवारसहित,’ विरोधले काठमाडौंबाट टेलिफोनमा भने ‘श्रृंखलाका मामा–माइजु, दाजुभाई, साथी लगायत ३१ जना जाँदैछौँ ।’
उनका अनुसार श्रृंखलालाई मिस वर्ल्ड आयोजित चीनको पर्यटकीय सहर सान्यामै भेट्ने तयारी छ । मिस वल्र्डको अन्तिम प्रतिष्पर्धा मंसीर २२ गते सहभागी भएर नेपाल फर्किने योजना सुनाउँदै खतिवडाले भन्नुभयोे, ‘छेन्दुमा ८ घण्टा ट्रान्जिट रहेकाले मंसीर २१ गते मात्र सान्या पुग्छौँ होला ।’
छोरी श्रृंखलालाई चीनमै भेटेर हौसला दिन आमा मुनु सिग्देल पनि चीन गएको उनले बताए । उहाँले उत्साही हुँदै मिस वल्र्ड हेर्न टिकट बुकिङ्ग भइसकेको बताए ।
मिस वर्ल्डको अन्तिम तयारीका लागि श्रृंखला रिहर्सलमा व्यस्त रहेको भन्दै उनले मंसिर १८ गतेदेखि क्लोज क्याम्पमा रहेको बताए । फेसबुकमा मिस वर्ल्ड नेपाल फेसबुक पेजका पोष्ट र श्रृंखलालाई भोटका लागि आग्रह गरिएका पोष्टलाई शेयर र फरवार्डसँगै अन्तरवार्ता दिन उहाँ व्यस्त थिए। ‘विभिन्न मिडियामा एक दर्जन बढी अन्तरवार्ता दिईयो होला,’ उनले भनिन्, ‘यसपटकको मिस वल्र्ड नेपालले जित्नेमा ढुक्क छौं ।’
श्रृंखलाले ‘मिस वर्ल्ड मल्टिमिडिया अवार्ड’ र ‘ब्यूटी विद् अ पर्पस’ अवार्ड हात पार्दै मिस वर्ल्ड २०१८ को उत्कृष्ट ३० मा आफूलाई उभ्याएकी छिन् । मल्टिमिडिया अवार्डसहित दुई अवार्ड जित्ने पहिलो र ब्यूटी विद अ पर्पस जित्ने दोश्रो मिस नेपाल हुन उनी सफल भएकी छिन् ।श्रृंखलाको जितले उनको परिवार, गृहजिल्ला मकवानपुरसहित देश–विदेशमा रहेका नेपालीमा उल्लास छाएको छ ।
‘नेपालीले जसरी हेरेका छन्, मैले त्यसरी नै हेरेको छु,’ खुशी साट्दै श्रृंखलाका बाबु खतिवडाले भने, ‘श्रृंखलाले जित्न चाहेकै मिस वर्ल्डपछिको दोश्रो ठूलो मानिने ब्युटी विद अ पर्पस अवार्ड जितिन्, मल्टिमिडिया त पछि महसुस गरेर जितेकी हुन् ।’‘सबै नेपालीले चाहेकै नतिजा (मिस वल्र्डको विजेता) हामीले पनि चाहेको छौं,’ उनले घुमाउरो शैलीमा बताए । मिस वर्ल्ड मा दुई अवार्ड जितेपछि श्रृंखलामा धेरै उत्साह र आत्मविश्वास जागेकोे उनले बताए ।