गलेश्वरधाममा सतविज छर्नेको भीड

म्याग्दी, २० मंसिर– जिल्लाको मुख्य धार्मिक पर्यटकीय स्थल नौ रोपनीको चक्रशिलामा रहेको गलेश्वरधाममा दिवंगत भएका आफन्तको चिरशान्तिको कामना गर्दै सतबीज छर्नेहरुको घुईचो लागेको छ । कृष्ण चर्तुदर्शी अर्थात बालाचतुदर्शी पर्वको अवसरमा म्याग्दी, पर्वत, बाग्लुङ्ग, कास्की, वुटवल, काठमाण्डौ, रुपन्देही लगायतका ठाउँबाट सतबीज छर्नका लागि हजारौ भक्तजनहरुले घुईचो लागेको हो । प्राचिनकालदेखी नै बालाचतुर्दशीको दिनमा सतबीज छर्ने परम्परा अनुसार दिवंगत भएकाहरुको चिरशान्ती र संसारमा रहेका जिव तथा पंक्षीहरुको रक्षा हुने धार्मिक महत्वका साथ विभिन्न अन्न तथा फलफुलहरुको विउ छर्ने गरिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका उपाध्यक्ष तथा पण्डित भिमनाथ पराजुलीले बताए ।
धान, गहुँ, जौ, तिल, चना, मकै, तथा केरा, सुन्तला, मुला, सखरखण्ड, पिँडाली जस्ता सय थरि अन्न र फलफुलहरुलाई सतबीजको रुपमा छर्नाले मृतकले जीवित अवस्थामा गरेका सम्पूर्ण पाप नाश हुने जनविश्वास छ । बिहिबार बिहानैदेखी कालीगण्डकी नदीमा स्नान गर्ने र गलेश्वर शिवालय मन्दिरमा रहेको १ सय ८ शिबलिंगमा पुजापाठ गर्नेहरुको समेत घुईचो लागेको छ । त्यस्तै पुन्य प्राप्तीका लागी बिहिबारै कालिगण्डकी नदीमा विभिन्न रंगीचंगी फुलहरुबाट बनाईएको तोरनहरु समेत टांगीएको छभने गलेश्वर मन्दीर वरपर बालाचतुर्दशी मेला भर्न आएका तिर्थालुहरुको चापका कारण गलेश्वरमा अन्य समयको तुलनामा व्यापार व्यवसायमा कारोवार बढेको छ । गाउँबाट आएका सर्वसाधारणहरुले कपडा, नाङ्लो, डालो, मुर्ति, जिरा, मसला लगायतका सामान किनेर लैजानेहरुको भिड लागेको छ । मन्दिरमा पुजा गर्नका लागि नरिवल, केरा, स्याउ, जस्ता फुलप्रसादहरुको समेत व्यापार बढेको व्यवसायीहरुले बताएका छन् ।
भगवान शिवजीका ८८ अवतारमध्ये बालाचतुदर्शीका दिनमा बाल अवतार भएको धार्मीक विश्वासको साथमा बालाचतुर्दशीको दिनमा विषेश पुजापाठ गरिने पण्डित भिमनाथ पराजुलीले जानकारी दिए । बालाचतुदर्शीका दिनमा हिन्दु सनातन धर्मावलम्बीहरुले देशभरका विभिन्न शिव मन्दिरहरुमा पुजापाठ गरि बालाचतुर्दशी पर्व मनाउँदै छन् । यसैबीच, बालाचतुर्दशीमा पर्वत जिल्लाका विभिन्न स्थानमा रहेका धार्मिकस्थलमा सतबिज छर्ने भक्तालुहरुको घुईचो लागेको छ ।
सदरमुकाम कुश्माबजारस्थित गुप्तेश्वर गुफा र कटुवाचौपारी गाविसका रहेको अलपेश्वर गुफामा विशेष मेला लागेको छ । बालाचतुर्दशीकै अवसरमा दक्षिण पर्वतमा रहेको विश्वकै ठुलो शालिग्राम शिला, पर्वत, कास्की र स्याङजाको सिमानामा रहेको पञ्चासे, डहरे देउराली लगायतका स्थानमा पनि बिहानैदेखि सतबिज छर्नेको घुँइचो लागेको छ । पञ्चासेमा यस बर्ष सतबिज छर्नेको भीड नै लागेको छ । पर्वत, कास्की, स्याङ्गजा, बागलुङ्ग लगायतका क्षेत्रबाट हजारौ श्रद्धालुहरु पञ्चासे आएको पञ्चासे क्षेत्र बिकास समितिका अध्यक्ष गोपाल गुरुङले बताए । मुलुकमै सबैभन्दा लामो क्षेत्रमा सतबिज छर्ने स्थान पञ्चासे हो । यहाँ निरन्तर डेढ घण्टाको पैदल दुरीमा पञ्चकोशी तालदेखि सिद्धबाब मन्दिरसम्म सतबिज छरिदै आएको छ । त्यस्तै, अलपेश्वर गुफामा गुफा संरक्षण समितिको आयोजनामा मेला लागेको छ । मेलामा भजनकृतन तथा नाचगान भैरहेको छ । शिव मन्दिरहरुमा हरेक वर्षको बालाचतुर्दशी, शिवरात्री, रामनवमीमा पुजा हुने गर्छ ।