करोडौ खर्चेपनि सडक साँघुरै

मध्यपहाडी लोकमार्गको दुर्दशा

बागलुङ, २१ मंसिर– मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ सडक खण्डमा अहिले सडक चाक्लो बनाउने काम भैरहेको छ । तर अधिकांस स्थानमा चाक्लोको नाउँमा पुरानै नाली भत्काएर सोही ठाउँमा बनाउने काम भैरहेको हो । यो सडक राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गमा पनि सूचिकृत छ । करोडौं खर्चेको सडक फराकिलो बनाउने नाउँमा पुरानै सडकमै सिमित भएकोमा उपभोक्ता, यातायात व्यवसायी र सरोकारवालाले टिप्पणी गर्न थालेका छन् । हरेक बर्ष जस्तो भत्काउने र बनाउने काम गरिरहनका लागि मापदण्ड नपु¥याई काम गरिएको कतिपयको आरोप छ । बिशेषगरी पहरा फोड्न नसक्ने स्थानमा मात्र साबिकको सडक कायम गर्ने कार्यक्रम रहेको मध्यपहाडी लोकमार्ग आयोजनाका डिभिजन इन्जिनियर रमेश दृष्टीले बताए । सामान्यतया राजमार्गहरुको मध्यभागदेखि २५ मीटरको दरले दायाँबायाँको खण्डमा घरटहरा बनाउन नपाउने प्रावधान पनि छ । बागलुङ दसरमुकामदेखि गलकोटहुँदै बुर्तिवाङ जाने खण्डमा १० मीटरभन्दा कम दुरीमा समेत घर बनिरहेका छन् ।
भूकम्प पिडितको पुनःनिर्माण र व्यवसायिक प्रयोजनका लागि सबैभन्दा धेरै यस्ता घरटहरा बनेका हुन् । मापदण्ड नपुगेको स्थानमा बनेका घरलाई अनुदान दिन नमिल्ने भएपछि स्थानीय तहले समेत धमाधम अनुमति दिएका हुन् । पोखरादेखि बागलुङको निसी सम्मको झण्डै २ सय किमी सडक चक्लाउने, कालोपत्रे गर्ने र मर्मतको काम भैरहेको दृष्टीले बताए । ‘हामीले पुरानो ७ मीटरको बाटोलाई १० मीटर बनाउँदैछौं, केही स्थानमा पहरा परेकोले बढाउन सकिएको छैनं’ दृष्टीले भने, ‘डिजाईनमा भए अनुसारकै काम गरिरहेका हौं, दायाँबायाँ चक्ल्याउन नमिलेको स्थानमा वाल उठाएर बनाउँछौं ।’ चालु बर्षभित्रै बागलुङ खण्डको अधिकांस भाग कालोपत्रे हुने उनले दाबी समेत गरे । पर्वत सदरमुकाम कुश्मादेखि बागलुङ तर्फको घुम्ती, अर्मादी, नयाँपुल र सहश्रधारामा पुरानै नालीको जगमा निर्माण भैरहेको हो । साँघुरो सडक भएकोले निर्माण सम्पन्न नहुँदै दैनिक घण्टौ सबारी जाम हुने गरेको छ । मध्यपहाडी लोकमार्गको अधिकांस ट्रयाक खुलेकोले सुर्खेतदेखि पोखरा सम्मका सबारीले यो बाटो प्रयोग गर्दा सडक झन् अस्तव्यस्त हुने यातायात व्यवसायी बताउँछन् ।
‘बिकल्प नदिई काम भएकोले जाममा परिरहेका छौं’ व्यवसायी खेमबहादुर जिसीले भने, ‘आधा घण्टाको बाटो दुई घण्टासम्म लागेको छ ।’ सडक निर्माणको क्रममा केही अप्ठ्यारो भएको दृष्टीले स्विकार गरे । उनले १० मीटर फराकिलो सडक बनाएर ७ मीटर कालोपत्रे गर्ने दाबी गरेका छन् । राजमार्गकै छेउमा निर्माणाधिन घरटहरा भने नीतिगत अस्पष्टताले रोक्न नसकेको दृष्टीले बताए । ‘राजमार्गको मापदण्ड २५ मीटर भन्ने त छ, तर नयाँ घोषित राजमार्गको लागि कानून बनेको छैन’ उनले भने, ‘बरु स्थानीय तहले समन्वय गरेर नजिकमा संरचना बनाउन नदिंदा हुन्थयो ।’ कानूनी बाध्यताले सल्लाह मात्र दिन सकेको उनले बताए ।
पुन निर्माणको काम भने निकै तीब्र गतीमा भैरहेको छ । तर सडकमै जोडेर घरटहरा बनाउने क्रम बढीरहेको हो । गलकोट, बिहुँ, बडिगाड र बागलुङ नगरपालिकाभित्रै समेत अव्यवस्थित घर निर्माण भैरहेको हो । ‘मुख्य सडकमै जोडेर पेट्रोलपम्प, व्यवसायिक घर र पसल समेत निर्माण भएका छन् । सडक छेउमै व्यपारिक सामाग्री थुपारेर पैदल यात्रीलेपनि मुलबाटोमै हिड्नुपर्ने बाध्यता समेत छ । यसरी निर्माण भएका घरटहराले नक्सापास भने गरेका छैनन् । कतिपय घरको नक्सा पास नभएपछि मापदण्ड मिचेर बनेको टिप्पणी शुरु भएको छ । ‘हामीले मापदण्ड नपुगेर फिर्ता पठाएका कतिपय घर बनेको सुनेका छौं, त्यस्तो होभने अनुगमन गरेर रोक्नेछौं’ बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले भने, ‘अनुगमन समितिलाई चुस्त बनाएर मापदण्ड लागू गराउन तयार छौं ।’ गलकोट नगरले भने सडकको मापदण्ड बनाएर लागू गरिसकेको प्रमुख भरत शर्मा गैह्रेले बताए । ‘राजमार्गको मापदण्ड हामीले बनाएका छैनौं, भित्रि सडकमा भने तोकिएको मापदण्ड पुरा नभई नक्सा पास हुँदैन’ उनले भने, ‘नगरपालिकाको सहमति बिना बनेका घरटहरा भत्काउँदा आूफै जिम्मेवार हुने भनेका छौं ।’