कृषिलाई उत्पादनमुखी बनाउनुपर्छः पुर्वअध्यक्ष ढकाल

द्योग वाणिज्य संघको १७ औं अधिवेशन

बागलुङ, २१ मंसिर– नेपाल उद्योग बाणिज्य महासंघका पुर्वअध्यक्ष चण्डीराज ढकालले कृषिलाई उत्पादनमुखी नबनाउँदासम्म आर्थिक विकास असम्भव रहेको बताएका छन् । लाखौं युवालाई विदेश पठाएर बिदेशमै उत्पादन भैरहेका सामाग्रीहरुको प्रयोग गर्नुपर्ने बाध्यता रहँदासम्म नेपालको आर्थिक विकास हुन नसक्ने उनको तर्क थियो ।

बागलुङ उद्योग बाणिज्य संघको ५५ औं साधारणसभा तथा १७ औं अधिबेशनको शुक्रबार बागलुङ बजारमा उद्घाटन गर्दै ढकालले सरकारले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा सुधार ल्याउन आवश्यक रहेको बताए । कृषिको उत्पादनलाई व्यवसायीक बनाउने र निर्यातमुखी उत्पादन गर्नुपर्नेमा ढकालको जोड थियो । देशमा निजी क्षेत्रले उत्पादनमा बृद्धि गर्नेगरी लगानी गर्न तयार रहेको भएपनि सरकारले तिनै तहमा कानुन निर्माण गरेर प्रष्ट बाटो दिन नसकेको ढकालको आरोप थियो ।

पछिल्लो समय बैंक तथा बित्तिय क्षेत्रमा बढेको व्याजदरले नेपाली व्यवसायीलाई मर्का पर्ने भन्दै ढकालले महंगो व्याज तिरेर लगानी गर्ने र त्यसबाट उत्पादित बस्तुले विश्व बजारसँग प्रतिस्पर्धा गर्न नसक्ने धारणा राखे । सरकारले लागु गरेको सामाजिक सुरक्षा योजना मजदुरहरुका लागि बहुउपयोगी हुँदा–हुँदै साना तथा मझौला उद्योगलाई समस्या पार्न सक्ने भन्दै ढकालले सरकारले ल्याएको कार्यक्रमका कारण उत्पादन गरिरहेका उद्योगहरु बन्द हुने अवस्था आउन नहुने बताए ।

सामाजिक सुरक्षा कार्यक्रमको मुख्य चुनौती उद्योगी व्यवसायीलाई दिगो बनाउनु र तत्काल कार्यक्रम सुरुवात गर्दा आवश्यक पर्ने बजेटको व्यवस्थापन गर्नुपर्ने भएकाले सरकारले त्यसतर्फ ध्यान दिनुपर्नेमा उनले जोड दिए । नेपालमा कठिन परिस्थिती आउँदा समेत उद्योगी व्यवसायीले आफ्नो कर्मलाई निरन्तरता दिएको स्मरण गर्दै ढकालले राज्य र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताए । देशको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि निजी क्षेत्रको भुमिका महत्वपुर्ण हुने उनको भनाई थियो ।

उद्योग बाण्ज्यि संघ बागलुङको अधिबेशनलाई लक्षित गर्दै ढकालले उद्योगी व्यवसायीहरु कुनै दल तथा संगठन निकटभन्दा माथि उठेर सबैको साझा हुनुपर्नेमा जोड दिए । उद्योग बाणिज्य संघको निर्वाचनका बेला उद्योगी व्यवसायीहरु पनि पार्टिका भातृ संगठनको जस्तै व्यवसायीक संगठन बनाएर आउन नहुनेमा उनको जोड थियो । निजी क्षेत्र फाईदाका लागि लगानी गर्ने क्षेत्र भएकाले जिल्लामा भएका सम्भावनाहरुको पहिचान गरी समयको मागअनुसार व्यवसायीले लगानी गर्नुपर्नेमा ढकालले जोड दिए ।

कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य ज्ञानकुमारी छन्त्यालले बागलुङ उद्योग बाणिज्य संघको आगामी नेतृत्वले व्यवसायीहरुको हितमा काम गर्नुपर्नेमा जोड दिईन् । गण्डकी प्रदेशका सदस्य इन्द्रलाल सापकोटाले देशका तिनै तहका सरकार र निजी क्षेत्रको सहकार्यमा आर्थिक तथा भौतिक विकासका क्रियाकलाप सञ्चालन हुनुपर्ने बताए ।

उद्योग बाणिज्य महासंघका उपध्यक्ष चन्द्र ढकालले लगानी वातावरण भए जिल्लाका हरेक क्षेत्रमा लगानी गर्न व्यवसायीहरु उत्साहित रहेको बताए । कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख जनकारज पौडेल, उद्योग बाणिज्य संघ गण्डकी प्रदेशका अध्यक्ष संजिव कोईराला, उद्योग बाणिज्य संघ बागलुङका पुर्वअध्यक्ष बसन्तकुमार श्रेष्ठ र स्याङ्जा उद्योग बाणिज्य संघका अध्यक्ष बिक्रान्त श्रेष्ठ लागायतले बोलेका थिए ।

कार्यक्रममा बागलुङमा रहेर सफल व्यवसाय गरिरहेका व्यवसायी, उद्योग बाणिज्य संघको वर्तमान कार्यसमितिका सदस्य लगायतका पदाधिकारीलाई सममान गरिएको थियो । वर्तमान कार्यसमितिका अध्यक्ष जयराम भारीले प्रस्तुत गरेको प्रतिवेदन अनुसार महोत्सवको आयोजना, अक्षयकोषको बृद्धि, बागलुङ कारागारका कैदीबन्दीलाई च्याङ्ग्रा वितरण, स्थानीय तहसँग करको बिषयमा भएका छलफल लगायतका बिषयलाई वर्तमान कार्यसमितिको प्रगतीको रुपमा प्रस्तुत गरिएको थियो ।

बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष जयराम भारीको अध्यक्षता तथा स्वागत, महासचिव दयाराम पौडेलको सञ्चालन र बरिष्ठ उपाध्यक्ष युवराजराज भण्डारीको धन्यवाद मन्तव्यसहित कार्यक्रम सम्पन्न भएको थियो । संघको १७ औं महाधिबेशन अन्र्तगत नयाँ कार्यसमिति चयनको लागि शनिबार निर्वाचन हुँदैछ । आगामी कार्यकालका लागि लोकतान्त्रिक प्यानलबाट वर्तमान बरिष्ठ उपाध्यक्ष युवराज राजभण्डारी र बाम साझा प्यानलबाट वर्तमान महासचिव दयाराम पौडेलको प्यानल चुनावी मैदानमा रहेको छ ।