केवलकार निर्माणमा कांग्रेसको आपत्ति

बागलुङ, २१ मंसिर– बागलुङ बजारको उपल्लाचौरदेखी पञ्चकोट सम्मको केवलकार निर्माणको बिषयलाई लिएर नेपाली कांग्रेस बागलुङ नगर कार्यसमितिले आपत्ति जनाएको छ । उपल्लाचौरदेखी पञ्चकोटसम्म केवलकार निर्माण हुँदा बानपा ५,६ र ७ का सर्वसाधारण मर्कामा पर्ने भन्दै कांग्रेसले आपत्ति जनाएको हो । शुक्रबार एक प्रेस बिज्ञप्ती जारी गर्दै कांग्रेसले कुनैपनि हालतमा उपल्लाचौरदेखी पञ्चकोट सम्मको केवलकार निर्माण गर्न नहुनेमा जोड दिएको छ । नगरबासीको निरन्तरको मेहेनतले पञ्चकोटधामको बिकास भएको र यस क्षेत्रका सर्वसाधारणको लगानी रहेको भन्दै कांग्रेसले उनीहरुकै रोजीरोटी गुम्ने गरी केवलकार निर्माण हुन नहुने बताएको छ । प्रभावित क्षेत्रका नागरिकको राय सल्लाहनै नलिईकन एक्कासी केवलकार निर्माण गर्ने समाचार आएको भन्दै त्यस्तो कार्य रोक्नका लागि संघर्ष समिति निर्माण गर्ने बिज्ञप्तीमा उल्लेख छ । गत बिहिबार बागलुङका केही व्यवसायीहरुको अगुवाईमा सर्वसिद्धिधाम पञ्चकोट केवलकार प्रा.लि. स्थापना गरी केवलकार निर्माणको प्रक्रिया अगाडि बढाइएको भन्ने समाचार बाहिर आएको थियो ।