बहानाबाजीमा शुल्क असुलेको नेविसंघको आरोप

बागलुङ, २१ मंसिर– धौलागिरी बहुमुखी क्याम्पस बागलुङले बिभिन्न बहानामा बिद्यार्थीहरुबाट अनावश्यक शुल्क उठाएको भन्दै नेपाल विद्यार्थी संघले आपत्ति जनाएको छ । शुक्रबार एक प्रेस बिज्ञप्ती प्रकाशित गर्दै नेविसंघले क्याम्पस प्रसासनले अनावश्यक शुल्क उठाएको आरोप लगाएको हो । क्याम्पसले एउटै बिषयमा पटक–पटक शुल्क असुलेको र लामो समयसम्म विद्यार्थीबाट उठ्ने शुल्क कुन प्रयोजनका लागि कहाँ खर्च हुन्छ भन्ने बिषयमा समेत सार्वजनिक नगरको नेविसंघको आरोप छ । ‘अनावश्यक रुपमा संकलन गर्दै आएको शुल्कलाई क्याम्पस प्रसासनले तुरुन्त सच्चाउन अनुरोध गर्दछौं’ बिज्ञप्तीमा भनिएको छ– ‘यदि यस बिषयमा क्याम्पसले बेवास्ता गरेमा वा अनावश्यक रुपमा लिईको शुल्क सम्बन्धित विद्यार्थीलाई फिर्ता नगरेमा हाम्रो धैरेता टुट्ने छ ।’ स्वतन्त्र विद्यार्थी युनियन धौलागिरी बहुमुखी क्याम्पसलाई बोधार्थ दिएर जारी गरिएको बिज्ञप्तीमा अनावश्यक रुपमा उठाईएको शुल्कका कारण उत्पन्न हुने परिस्थितीको जिम्मेबार क्याम्पस प्रशासन हुनुपर्ने भनिएको छ ।