दुईतिहाईको सरकार सोचे जस्तो बनेन्–चित्रबहादुर केसी

राजमोको जिल्ला सम्मेलन गल्कोटमा सुरु

बागलुङ, २१ मंसिर– राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले दुई तिहाईको सरकार माफियाको इसारामा चलेको आरोप लगाएका छन् । राष्ट्रिय जनामोर्चा बागलुङको छैठौं जिल्ला सम्मेलनको शुक्रबार गलकोटमा उद्घाटन गर्दै केसीले सरकारले सोचे अनुसारको काम गर्न नसकेको बताए । सरकारलाई दुइ तिहाई दिलाउन सघाउनेकै पछि लाग्दा उनिहरुको परपञ्जमा सरकार फसेको केसीको आरोप थियो ।
केसीले राष्ट्रियताको रक्षाका लागि फेरी अर्को राजनीतिक आन्दोलन गर्नुपर्ने अवस्था आएको धारणा राखे । वर्तमान दुइ तिहाईको सरकारले भारतीय विस्तारवाद, अमेरीकी साम्राज्यवाद तथा युरोपियन युनियनको दलाली र गुलामी गरेर शत्ता टिकाई राखेको आरोप लगाउँदै केसीले त्यसकै इसारामा देशको महत्वपूर्ण उर्जा स्रोत अरुण तेस्रो भारतलाई सुम्पेको आरोप लगाए । अध्यक्ष केसीले नेपाली जनताको आन्दोलनले राणा , पञ्च्यायत, राजतन्त्र लगायतका व्यवस्था फ्याँकेको स्मरण गर्दै व्यवस्था फेरीए पनि देशको आर्थिक, सास्कृतिक र प्रशासनिक परिवर्तन नभएको बताए । व्यवस्था फेरीएपनि व्यवहार नफेरीका कारण जनतामा निरासा बढ्दै गएको उनको भनाई थियो ।
देशमा जनताको अपेक्षा र चाहना विपरित राज्य शत्ताको दाउमा लागेका कारण देशलाई संघीयतामा फसाएर धुजा धुजा पार्ने षडयन्त्र सुरु भएको उनको तर्क थियो । केसीले देशमा सञ्चालन गरिएको संघीय राज्य व्यवस्थाले जनताको टाउकोमा कर थुपार्ने काम भएको बताए । ‘संघियताको बिषयमा हामि पटक पटक करायौं’ केसीले भने–‘बिदेशीको ईशारामा जवरजस्ती यो व्यवस्था लागु गरीएको हो ।’ केसीले देशको बिकासको बाधक अंगिकृत नागरिकता भएको बताउँदै, हिमाल, पहाड र तराई टुक्राउने योजना र उद्योग धन्दा धरासायी बनाएर युवा बिदेश पलायन गराउने लाई दुःख दिने षडयन्त्रमा ठूला भनिने दल फसेको बताए । सिण्डीकेट कायम राख्ने र भ्रष्ट्राचारी बोकेर चुनाव जितेकाबाट बिकास र शुशासन कायम हुन्छ भन्ने बिश्वास नगर्न केसीको स्ुझाव थियो । राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष अमरथापाको अध्यक्षता, उपाध्यक्ष बेदीलाल सापकोटाको स्वागत मन्तव्य तथा भिमसेन वनको सञ्चालनमा उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । राजमोको सम्मेलनमा जिल्लाभरका सयौं कार्यकर्ता गलकोटमा भेला भएका थिए । सम्मेलन शनिवार सम्म चल्ने बताइएको छ । सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने छ ।