मिस वर्ल्ड २०१८: उपाधि घोषणाकाे कार्यक्रम चल्दै

काठमाडौँ, २२ मंसिर-मिस वर्ल्डको नतिजा आज सार्वजनिक हुँदैछ ।अहिले चीनको सान्यामा विशेष कार्यक्रम भैरहेको छ ।  मिस वर्ल्डमा २३ वर्षीया मिस नेपाल शृङ्खला  खतिवडा दावेदार प्रतिस्पर्धी बनेकी छिन् ।
मिस वर्ल्डको फाइनल जुम टेलिभिजन र मिस वर्ल्डको आधिकारिक युट्यूब च्यानलबाट प्रसारण भैरहेको छ । फाइनलमा मिस नेपाल श्रृँखला खतिवडा नेपाली झण्डा सहित सहभागी भएकी छिन् । फाइनल हेर्न शृङ्खलाका बुवा, आमासहित अरु नेपालीहरु पनि नेपाली झण्डा सहित सहभागी भएका छन् ।
विश्वकै प्रतिष्ठित ब्यूटी प्याजेन्ट हो ‘मिस वर्ल्ड’ प्रतियोगिता । ६८ औँ संस्करणसम्म आइपुग्दा  ३६ वटा देशबाट मिस वर्ल्ड भैसकेका छन् । यस पटकको प्रतियोगितामा नेपाली प्रतिस्पर्धी तथा मिस नेपाल वर्ल्ड शृङ्खला खतिवडामा सबैको ध्यान पुगेको छ ।
मल्टिमिडिया विधामा विजेता बन्दै फाइनल पुगेकी शृङ्खलाले मिस वर्ल्डको उपाधि जितिन् भने उनी भारतपछि मिस वर्ल्ड बन्ने पहिलो दक्षिण एसियाली प्रतिस्पर्धी बन्नेछिन् । मिस वर्ल्ड २०१८ मा १ सय २१ देशले सहभागिता जनाएका छन् । त्यसो त पूरै एसियाकै कुरा गर्ने हो भने पनि अहिलेसम्म भारत, चीन, इजरायल र फिलिपिन्सबाहेकका देशबाट मिस वर्ल्ड बन्न सकेका छैनन् ।