पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण

महोत्सव भनेको व्यपार र व्यवसायको लागि मात्रै हो भन्ने कुराको भ्रम प्रथम जैमिनी महोत्सवले चिर्ने छ । यहाँका उत्पादन र पर्यटन सम्मको पहिचानमा महत्वपूर्ण भूमिका महोत्सवको रहने छ भन्ने हाम्रो अपेक्षा हो । महोत्सवमा राखिएका स्टलहरुलेनै हाम्रो महोत्सबमा के प्राप्त गर्न सकिन्छ भन्ने कुराको स्पष्ट पारेको छ । यहाँ राखिएका शैक्षिक प्रदर्शनीका कारण हाम्रा विद्यार्थी, विद्यालय र शिक्षक हरुको क्षमता उजागर गरेको छ । सिक्न चाहनेहरुका लागि नयाँ कुरा सिक्ने व्यवस्था मिलेको छ । सिमित स्रोत साधनको प्रयोग गरेर मात्रै पनि हामीले शिक्षा क्षेत्रमा हाँसिल गरेको उपलव्धी महोत्सवले उजागर गर्ने प्रयास गरेको छ ।

कृषि प्रदर्शनीले हाम्रा गाउँघरका किसानले फलाएका फसलहरु चिनाएको छ । जैमिनी नगरभित्रकै कयौं गाउँको उत्पादन एक गाउँले अर्को गाउँलाई देखाउन सकेका थिएनन । महोत्सवको प्रदर्शनीले किसानहरुमा सीपको आदानप्रदान गर्ने वातावरण सिर्जना गरेको छ । हाम्रा उत्पादनको बजारीकरणमा यसले महत्व राख्छ । कृषकहरुले आफ्नो क्षेत्रमा कस्तो फलफूल लगाउने भन्ने बिचारको मन्थन गर्ने अवसर समेत मिलेको छ । स्थानीय कला संकृतिको पुनःउथ्थान भएको छ भन्ने मलाई लाग्छ । हामी कला र संस्कृतिमा धनी छौं । परम्परागत कला संस्कृति देखाउने ठाउँको हामीलाई अभाव जस्तै छ । महोत्सवमा महत्वका साथ प्रदर्शन गरीरहेको स्थानीय कला संस्कृतिका कारण हाम्रा लुकेका कला खुलेका छन भने संरक्षण र प्रचार प्रसारको वातावरण बनेको छ । स्थानीय कला र गलाले ठाउँ पाएको मैले महशुस गरेको छु । भजन, दोहोरी, डान्स आईडल जस्ता प्रतियोगिताका कारण नयाँ पुस्ताको प्रतिभा खोजी भएको मैले महशुस गरेको छु । खेलकुदका गतिविधि सञ्चालन भैरहँदा युवा खेलाडी साथीहरुमा प्रतिष्पर्धाको वातावरण सिर्जना यहाँ भैरहेको छ । जसका कारण उत्कृष्ठ कामका लागि स्वच्छ प्रतिष्पर्धा आवश्यक छ भन्ने कुरा युवा साथीहरुमा जानकारी हुन्छ । महोत्सवको बहानमा यहाँ भित्रिनुहुने पाहुनाहरुले हाम्रो जैमिनीको सुन्दरता देख्ने अवसर मिलाईएको छ । जसका कारण महोत्सवमा मात्रै होईन अव पटक पटक हाम्रा धार्मिक तथा प्रकाृतिक सम्पदाहरुको वातावरणमा रमउन उहाँहरु लालाहित हुनुहुने छ ।

जैमिनीको पर्यटन बिकासको लागि महोत्सवको महत्वपूर्ण भूमीका रहने छ भन्ने मलाई लागेको छ । तत्कालै हेर्दा हामीले लगानी गरेको जस्तो प्रतिफल नदेखीए पनि दिर्घकालीन रुपमा सयको प्रभाव राम्रो पर्ने छ । महोत्सवको प्रभावका कारण हाम्रा किसान उत्पादनमा उत्साहित हुनेछन् । हाम्रा विद्यार्थी तथा खेलाडी प्रतिष्पर्धामा मेहनत गर्ने छन् र राम्रो नतिजाको लागि प्रयास थाल्ने छन् । जैमिनीको पहिचानका रुपमा रहेका हाम्रा कला संस्कृति अन्य मेला महोत्सलवमा पनि प्रस्तुत गर्ने महत्वपुर्ण कडीको रुपमा बिकास हुने छन् । जसका कारण जैमिनीको थप प्रचार प्रसार हुने छ भन्ने हाम्रो कामना हो । कला प्रतिको रुची हराई रहेका बेला युवा पुस्ताको संलग्नता र सहभागीताको खोजी सुरु भएको महसुस गरेका छौं । हाम्रो जैमिनीको आर्थिक, सामाजिक र सांस्कृतिक विकास सँग जोडेर मेलालाई अगाडि बढाउनु हाम्रो दायित्व हो ।