खाजा खाने खर्च कटाएर आश्रमलाई सहयोग

बागलुङ, २९ माघ – बिद्यालयमा खाने खाजा खर्च कटाएर बागलुङको एक विद्यालयका विद्यार्थीहरुले मानव सेवा आश्रममा खाद्यान्न सहयोग गरेका छन् । युवा रेडक्रस सर्कलमा आबद्ध बागलुङ नगरपालिका–४ कुँुलेमा रहेको कोरोना एकेमीका विद्यार्थीहरुले मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग गरेका हुन् । युवा विद्यार्थीहरुमा मानविय भावनाको बिकास गर्ने भन्दै खाजा खर्च कटाएर बचेको रकमले मानव सेवा आश्रमलाई सहयोग गरेको युवा रेडक्रस सर्कलका सचिव सिम्रन शर्माले बताईन् ।

‘हामिले ठुलो सहयोग तगर्न सकेका छैनौं, मानविय भावना देखाउनुपर्छ भन्ने हो’ शर्माले भनिन् ‘एक दिन हामिले खाजा नखाँदा केही फरक पर्दैन त्यही जम्मा भएको रकमले ल्याएको खाद्यान्नले आश्रमलाई सहयोग पुग्छ भन्ने लागेको छ ।’ विद्यार्थीहरुले जम्मा गरेको पाँच हजार रुपैयाँले चामल, दाल, नुन, तेल, चिनी, भुजा, सावुन लगायतका खाद्यान्न खरिद गरेर आश्रमलाई हस्तान्त्रण गरिएको थियो । खाद्यान्न हस्तान्त्रण गर्दै विद्यालयका प्रिन्सिपल चित्रबहादुर घर्तीले विद्यार्थीमा आएको सकरात्मक भावनाको कदर गर्नुपर्ने बताए ।

यसअघिपनि युवा विद्यार्थीहरु बिभिन्न सहयोग अभियान सहभागि भएको भन्दै घर्तीले विद्यार्थीको सकरात्मक सोच विकास गर्न आँफुले सधैं सहयोग गर्ने बताए । खाद्यान्न ग्रहण गर्दै मानव सेवा आश्रम बागलुङकी संयोजक सुमिरा लामाले विद्यार्थीहरुलाई धन्यवाद ज्ञापन गरीन् । आश्रममै पुगेर विद्यार्थी शिक्षक र प्रिन्सिपल सहितको टोलिले खाद्यान्न हस्तान्त्रण गरेको थियो । सरस्वती पुजाको अवसरमा प्रदान गर्ने भनिएको खाद्यान्न बिषेश कारणले सोमबार मात्रै आश्रमलाई प्रदान गरिएको हो । हस्तान्त्रण कार्यक्रमको सञ्चालन शिक्षक अनुप सुवेदीले गरेका थिए ।