जापान छाडेर बाख्रापालन व्यवसायमा रमाउँदै “थापा ”

बागलुङ, २९ माघ – गलकोट क्षेत्र जापान जानेहरुको क्षेत्रको रुपमा परिचित छ । एकै घरका धेरै जना जापानमा बसेर व्यवसाय गरेका छन् । तर केही युवा बिदेश नजाने भन्दै गाउलाईनै केही गरेर देखाउने अभियानमा जुटेका छन् । बिदेश नजाने योजना बनाएर बसेका युवाहरुमा गलकोट नगरपालिका–७ मल्मका ४० बर्षिय बिष्णु थापा पनि हुन् । स्नातक सम्मको पढाई भएका थापा गाउूमै बसेर बाख्रा पालन गरेर रमाएका छन् । उनका दाजुभाई पनि जापानमा छन् ।

ससुराली तर्फका समेत सबै जापन गएकोले उनलाई पनि जापान जान चर्को दवाव छ । तर उनले गाउँ नछाड्ने निधो गरेर बाख्रा पाल्न थालेको बताए । ‘गाउँ नछाड्ने योजनाका साथ बाख्रा पालेर बसेको छु’ थापाले भने, ‘गाउँमै युवा फर्काउन सकिने गरी केही बिकास गरौं भन्ने चाहना पनि छ ।’ युवालाई गाउँमै अड्याउन कमाई गर्ने वातावरण बनाउनुपर्ने उनले बताए । गाउँमा रहेका अन्य युवालाई पनि थापाले व्यवसायिक कृषि पेशा थाल्न सुझाव समेत दिने गरेका छन् । युवाले गाउँमै कमाउने वातावरण कृषिको व्यवसायीकरणबाट संभव भएको उनको बुझाई छ । केही बर्षदेखि उनले स्थानीय खरी र जमुनापारी जातका बाख्रा पालेर कमाई समेत थालेका छन् । अहिले उनको खोरमा ५० वटा बाख्रा छन् बाख्राका लागि माउ र पाठापाठी राख्ने छुट्टछुट्टै खोर पनि बनाएका छन् । दुई लाख खर्चेर उनले बनाएको खोरमा बाख्रा पाल्दा उत्पादन राम्रो दिएको बताए ।

व्यवसाय सम्बन्धी तालिम, बाख्राको उपचार र रोग बारे समेत उनी जानकार छन् । उनको यो अभियानलाई श्रीमतीले साथ दिएकी छिन् । उनकै देखासिकी गरेर छिमेकी एकदुइ युवाले दुइचारवटा बाख्राबाट काम थालिसकेका छन् । नजिकै चरन क्षेत्र भएकोले बाख्रा पालन अझै सहज भएको उनीहरुले बताए । व्यवसाय गरेर बसेकाहरुबाटै गुफाचौर र राम्चेढुंगामा पर्यटकीय गन्तव्य बनाउने अभियान पनि थालेका छन् । यो अभियानका कारण दैनिक आउने पर्यटकलाई राख्न आफ्नो टोललाई होमस्टेको रुपमा बिकास गर्ने योजनापनि उनीहरुले बुनेका छन् । ‘गाउँघरमै बस्ने भएपछि बाख्रापालन गरेरै कमाई गर्ने योजना बनाएका हौं’ अर्की किसान लक्ष्मी थापाले भनिन्, ‘पाहुना बढ्न थालेपछि हाम्रा खसीबोका गाउँमै बिक्री हुन्छन्, बजार खोज्न पनि पर्दैन ।’ हिउँदका समयमा नगरक्षेत्रका दर्जनौं समूहले बनभोजका लागि पनि गुफाचौरलाई रोजेका थिए । वनभेज खानेले समेत खसीबोकाको अर्डर गर्न थालेको उनीहरुले बताए । गलकोट स्थित पशुसेवा केन्द्रबाट उनीहरुले बेलाबेला तालिम र औषधि समेत पाएका छन् ।

साथै आवस्यक पर्दा शिविर संचालन गरिदिने व्यवस्था गरेपछि किसान खुसी भएको सेवाकेन्द्रका प्रमुख चिन्तामणी शर्माले बताए । बाख्रा पाल्दा बर्षको ४ देखि ५ लाख रुपैयाँसम्म कमाई गर्न सकिने समेत उनले बताए । ‘बिदेशमा गएका युवा फर्काउन हामीले केही गरेर देखाउनु परेको छ’ थापाले भने, ‘गाउँमा पनि कमाई गर्न सकिन्छ भन्ने सन्देशपछि युवा फर्केलान की ?’ हटियादेखि राम्चेढुंगाहुँदै पाण्डवखानी सम्मको सडक कालोपत्रे गर्दा किसानले अन्य फसल पनि उत्पादन गरी सहजै बजार पठाउन सकिने उनले बताए । जिल्लास्थित पशु अस्पताल तथा बिज्ञ केन्द्रलेपनि ५० बढी बाख्रा पालन गर्ने युवालाई २ देखि ४ लाख रुपैयाँसम्म अनुदान दिने व्यवस्था गरेको प्रमुख नारायण शर्माले बताए । ‘जिल्लाका अगुवा किसानकोे लगानी र मेहेनतको मूल्यांकन गरेपछि उक्त अनुदान बितरण गर्ने कार्यक्रम बनाइएको छ’ शर्माले भने, ‘त्यसका लागि धेरै किसानले निवेदन दिएका छन्, मूल्यांकनको आधारमा बितरण गरिनेछ ।’ अनुदान पाउँदा किसानलाई प्रोत्साहन बढ्ने उनले बताए ।