समयमै स्ववियु निर्वाचन

त्रिभुवन विश्व बिद्यालयले आगामी फागुन १४ गतेका लागि तय गरेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका बिषयमा पछिल्लो समय निकै चर्चा हुने गरेको छ । दुई–दुई बर्षमा हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन त्रिभुवन बिश्वविद्यालयको पात्रोआनुसार आगामी फागुनको १४ मा हुने उल्लेख गरिएको छ । तर विश्वविद्यालयले निर्वाचनका लागि कुनैपनि कार्यक्रम सार्वजनिक गरेको छैन् । पात्रो अनुसार निर्वाचन हुने होभने अब विद्यार्थीहरुका लागि तयारीको समय दुई साता मात्रै बाँकी रहेको छ । नेकपा निकट दुई विद्यार्थी संगठनले केही दिन पहिला प्रेस बिज्ञप्तीनै जारी गरेर निर्वाचनको तालिका सार्वजनिक गर्न माग गरिरहेका छन् । सत्तामा रहेको दल नेकपा निकट विद्यार्थी संगठनहरुले निर्वाचनको जोडदार माग गरिरहेका भएपनि प्रतिपक्षमा रहेको कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले भने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको बिषयमा केही बोलिभस्रहेको छैन् ।
सरकारविरुद्व बिरोधका कार्यक्रम गर्दै आईरहेको नेविसंघले निर्वाचन नगराउनका लागि आफ्ना नेता कार्यकर्ता पक्राउ गरिरहेको भन्दै आरोप लगाउने गरेको छ । त्रिविको तालिकाका आधारमा तयार भएका कतिपय विद्यार्थी संगठनहरुले तयारी थालेका छन्भने आफ्नो पोल्टामा मतदाता विद्यार्थी आकर्षित गर्नका लागि आरोपप्रत्यारोपको श्रृंखला सुरु गरिसकेका छन् ।

केही दिन पहिला त्रिभुवन विश्व विद्यालयकै आंगिक क्याम्पस धौलागिरी बहुमुखी क्याम्पसको ५६ औं बार्षिकोत्सवमा विद्यार्थीहरुले निर्वाचनको तयारी थाले भन्ने कुराको प्रमाण प्रस्तुत भएको छ । बार्षिकोत्सवको मुल समारोहमा बिद्यार्थी संगठनको तर्फबाट बोल्ने विद्यार्थी नेताहरुको आक्रामक भाषण र त्यसको प्रतिवाद एक अर्काले गरेको दृष्यले विद्यार्थीको मानसिकता प्रष्ट रुपमा बिम्बीत गरेको थियो । त्रिभुभवन विश्वबिद्यालयले बिबिध कारण देखाउँदै लामो समय स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नगरेका कयौं उदाहरणहरु छन् । अहिले पनि तोकिएको निर्वाचनको मिति नजिकिँदै गर्दा निर्वाचन तालिका सार्वजनिक नभएका कारण निर्वाचनको मिति सार्ने कुरामा संका रहँदैन् ।

समयमा निर्वाचन नभएका कारण विद्यार्थीहरुमा नेतृत्व हस्तान्तरण र विकासमा प्रभाव पर्छ जसका कारण लामो समय निर्वाचनको मिति धकेलियो भने एक पुस्ता नेतृत्व तहमा पुग्नबाट बञ्चित हुने कुरामा शंका छैन् । त्यसैले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मितिका बिषयमा सबै विद्यार्थी संगठनहरु एकै ठाउँमा हुने र समयमा निर्वाचन गराउनेतर्फ दबावमुलक कार्यक्रम बनाउन आवश्यक छ । त्रिविलाई दबाव दिने समयमा देशका ठुलादेखी साना क्याम्पसहरुमा विद्यार्थीकै बिचमा देखीएको आरोपप्रत्यारोप र आपसी कलहको वातारण अन्त्य हुन जरुरी छ । निर्वाचनको समयमा बैचारिक वा सांगठनिक प्रतिष्पर्धा होला तर विद्यार्थीको बिचमा रहेको सधैंको अस्वच्छ प्रतिष्पर्धाले आँफैलाई बेफाईदा गर्छ । विद्यार्थी संगठनहरुको समयमा निर्वाचन भएमा क्याम्पसमा सुशासन कायम गर्न र विद्यार्थी हक अधिकार स्थापित गराउनका लागि सहयोग गर्ने भएकाले त्रिविले आफ्नो तालिकामा फेरबदल नगर्ने र विद्यार्थी संगठन मिलेर निर्वाचनका लागि तयार हुनुको विकल्प छैन् । समयमा भएको निर्वाचनलेनै क्याम्पस र विद्यार्थी सबैलाई हित गर्ने छ ।