युवाहरु अब बिनाज्याला बस्नुपर्दैन-प्रधानमन्त्री ओली

‘सार्वजनिक, निजी र सहकारीको सझेदारीमा गाउँगाउँसम्म रोजगारी सिर्जना हुनेछ ।’

बागलुङ, १ फागुन – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री रोजगार कार्यक्रम नयाँ अभियानको थालनी भएको बताएका छन् । गरिबीसँग बेरोजगारी समस्या जोडिएको भन्दै कोही पनि भोकै र काम नपाएर मर्नुपर्ने अवस्था नआउने बताए । प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले मुलुकको बेरोजगारी र गरिबी अन्त्य हुन धेरै समय नलाग्ने बताए । ‘रोजगारीले आयआर्जन बढ्ने, उत्पादन तथा उत्पादकत्व बढ्ने, आयात प्रतिष्ठान हुने, निर्यात बढ्ने भएकाले सरकारले यस कार्यक्रमलाई उच्च प्राथमिकतासाथ हेरको छ’ उनले भने । देशलाई रुपान्तरण गर्न चाहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले संमृद्व देश निर्माण गर्न सरकारले एक पछि अर्को कार्यक्रम ल्याएको बताए । ‘यस कार्यक्रम मार्फत प्रतिष्पर्धात्मक सिप विकास हुने छ’ उनले भने ।
यस वर्ष आधार वर्षको रुपमा रहेको भन्दै प्रधानमन्त्री ओलीले आउँदो चार वर्षमा व्यपकरुपमा रोजगारी सिर्जना हुने बताए । ‘आजबाट सुशासन र विकासको बाटोमा जाने बाटो खुलेको छ’ उनले भने, ‘क्रियाशील ६० प्रतिशत जनशक्ति अब काम नपाएर बस्नुपर्ने छैन ।’ सरकार हरेक दिन एक कदम अघि बढ्दै बिनाज्यालाको टाउको बोक्ने नभई श्रम गर्ने मानसिकता बन्नुपर्ने उनको भनाइ थियो । ‘हरेक नागरिकले रोजगारी पाउनुपर्छ, गरिबीबाट माथि उठ्नुपर्छ’ उनले भने । सबैले काम पाए कोही पनि गरिब हुनु नपर्ने उनको भनाइ थियो ।
बिनाकाम सबै बेरोजगारले निर्वाह भत्ता नपाउने भन्दै प्रधानमन्त्री ओलीले काम नै पहिलो प्राथिमकता भएको बताए । श्रममन्त्री गोकर्ण विष्टले तीनै तहको समन्वयबाट प्रभावकारी ढंगले प्रधानमन्त्री रोजगार कार्यक्रम अघि बढ्ने बताएका छन् । काम नपाएर वैदेशिक रोजगारमा पलायन भएका युवालाई उत्साह जगाउन यस कार्यक्रमले सघाउने उनले बताए । ‘श्रमशक्तिको अभावमा आयोजना अलपत्र छन्, खेत बाँझै छ’ मन्त्री विष्टले भने,‘अब त्यो परिस्थिति अन्त्य भएको छ’, उनले भने, ‘सार्वजनिक, निजी र सहकारीको सझेदारीमा गाउँगाउँसम्म रोजगारी सिर्जना हुनेछ ।’ अर्र्थमन्त्री डा युवराज खतिवडाले युवा शक्ति बजारमा आबद्व नभएसम्म देशले प्रगति गर्न नसक्नेबताए । ‘यस कार्यक्रमले श्रमको अवसर दिनेछ’ उनले भने,उत्पादन र उत्पदकत्व बढाउन सहयोग पुग्ने छ ।’  अर्थमन्त्री खतिवडाले प्रधानमन्त्री रोजगार कार्यक्रम सहज कार्यान्वयन गर्न सार्वजनिक खरिद ऐन संशोधन गर्न आवश्यक भएको बताए । तीनतहको कानुन रोजगारीमैत्री बनाएर सबै नागरिकलाई रोजगारी दिन सरकारले भूमिका खेल्ने बताए ।
प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रधानमन्त्री रोजगार कार्यक्रम ऐतिहासिक र युगान्तकारी भएको बताए । ‘देशभित्रै समुचित सीपको उपयोग हुनेछ’ उनले भने । प्रदेश सरकारले रोजगारी सिर्जना गर्न भूमिका खेल्ने बताए । ‘अब कोही बाध्यात्मकरुपमा विदेश जानुपर्ने छैन,’उनले भने,‘नेपालमै श्रम गरेर बाँच्न सकिन्छ ।’  काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले प्रधानमन्त्री रोजगार कार्यक्रम सबै तहले उत्तिकै महत्वका साथ लिुनपर्ने बताए । ‘काठमाडौंमा कोही निर्वाह भत्ताका लागि आउने छैन’ उनले भने । सबैले काम पाउनेगरी महानगरले सहजिकरण गर्ने छ।’  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहालले नेपालको ५० प्रतिशत भन्दा बढी जनसंख्या श्रम गर्न  योग्य रहेको भन्दै सबैलाई काम गर्ने अवसरका रुपमा यस कार्यक्रम ल्याइएको बताए । ‘श्रमको विभेद अन्त्य हुनेछ ’ उनले भने,‘सबैले स्वदेशमै पसिना बगाउने छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक फागुन १ गते रोजगारी दिवस मनाइने प्रतिवद्वता व्यक्त गरेका छन् । रोजगारी सिर्जनाको सम्झना गर्दै हरेक वर्ष फागुन १ गते रोजगारी दिवस बनाइने उनले बताए ।