पबित्र कामप्रति नमन

हिउँदका महिना पछिल्लो समय मेला र महोत्सव महिनाको रुपमा विकास भैरहेका छन् । धौलागिरीका बागलुङ, पर्वत र म्याग्दीमा मंसिर महिना यता कयौं मेला र महोत्सवहरु आयोजना भए । कुनै पर्व विशेष बनाएर मेला महोत्सव आयोजना भैरहेका छन्भने कुनै मेला महोत्सवहरु खाने, पिउने र रमाउनकै लागि मात्रै पनि आयोजना भैरहेका छन् । माघ महिना अन्त्यदेखी फागुन महिनामा मात्रै बागलुङको दक्षिण क्षेत्र र पर्वतको सदरमुकाम आसपासमा झण्डै आधा दर्जन महोत्सवहरु आयोजना भएका छन् । पछिल्लो समय पर्यटनको विकासको नारा निकै बेचिने मेला र महोत्सवहरु निश्चित उद्देश्य प्राप्तीका लागि समेत हुन थालेका छन् । जसको ज्वलन्त उदाहरण हो पर्वत सदरमुकाममा भैरहेको दिदीबहिनी महोत्सव र बलेवामा आजदेखि सुरु हुने प्रथम बेलवा महोत्सव ।

रेडियो दिदीबहिनीले आयोजना गरेको महिला महोत्सव हरेक बर्ष आयोजना हुने गरेको छ । रेडियो दिदीबहिनीको सञ्चालन खर्च जुटाउनका लागि रेडियोले प्रत्येक बर्ष महोत्सव आयोजना हुने गरेको छ । आजदेखि बलेवामा आयोजना भएको प्रथम बलेवा महोत्सवले पनि शैक्षिक उन्नयन जस्तो पवित्र उद्देश्य राखेको छ । दश बर्ष पहिलेदेखि सञ्चालनमा रहेको कृष्ण गण्डकी क्याम्पसको शैक्षिक उन्नयनको लागि अक्षयकोष स्थापना गर्न स्वच्छिक चन्दा संकलन गर्ने थलोको रुपमा महोत्सवलाई विकास गर्न लागिएको छ । व्यवसायीक रुपमा सञ्चालन हुने महोत्सवले शिक्षा क्षेत्रलाई सहयोग पु¥याउने सम्भवत यो नै पहिलो महोत्सव हो । महोत्सवमा प्रदर्शन हुने सांस्कृतिक, धार्मिक, कृषिजन्य र अन्य उत्पादनहरुले राख्ने अर्थ एकातर्फ होला । महोत्सवका अवसरमा हुने व्यापार व्यबसाय र महोत्सवकै बहानामा बलेवामा पुग्ने आन्तरिक पर्यटकको मनस्पटलमा त्यहाँ रहेका संरचना पर्लान वा नपर्लान तर यो महोत्सवको अफलता वा असफलताको कडी भनेको कृष्ण गण्डकी क्याम्पसको अक्षय कोष नै हो ।

एक करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने लक्ष्य सानो मेहेनत र परिश्रमले मात्रै सम्भव छैन् । यसका लागि महोत्सवसँग जोडिएका वा नजोडिएका सबै क्षेत्र वर्ग समुदायका नागरिकहरुको उदार भाव रहन आवश्यक छ । शिक्षा क्षेत्र सबल नबनेसम्म हाम्रो समुदायको कुनै पनि आर्थिक क्षेत्रको समृद्धि सम्भव छैन् । महोत्सवको माध्यामबाट शिक्षा क्षेत्रको विकासमा चालिएको यो कदम अनुकरणीय छ । महोत्सवलाई पारदर्शि बनाउनका लागि यसको मुल आयोजक, प्रबद्र्धक, सहआयोजक र सहयोगी संस्थाहरु जिम्मेबार बन्नु पर्छ । खर्चको कटौती गरेर सुरुवाती सन्देश सकरात्मकनै बनाएको मुल आयोजक समितिले सबैबाट पाउने साथ सहयोगलाई आत्मसाथ गरेर महोत्सव सकिएपछि तत्काल हिसाबकिताब सार्वजनिक गर्ने र आम्दानी खर्चका बिबरण प्रस्तुत गरेर सबैको चित्त बुझाउन आवश्यक छ । प्रथम बलेवा महोत्सव मात्रै होईन कृष्णगण्डकी क्याम्पसको भविश्य जोडिएकाले बलेवा महोत्सवमा कुनै राजनीतिक सोच, व्यक्तिगत तथा संस्थागत पुर्वाग्रह, लेनदेनको कारोवार सबै छोडेर सफलताका लागि मेहेनत गर्न आवश्यक छ । प्रथम बलेवा महोत्सव सफलताको शुभकामना ।