जनयुद्व दिवसमा विविध कार्यक्रम

बागलुङ, २ फागुन – तत्कालिन नेकपा माओवादीले जनयुद्व शुरु गरेको दिनको सम्झनामा बागलुङमा बिभिन्न समूहले जनयुद्व दिवश मनाएका छन् । वर्तमान सत्ता घटक नेकपा र बिप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले छुट्टाछुट्टै कार्यक्रम गरेर दिवश मनाएको हो । बुधबार बागलुङ बजारमा सयौं युवाको मार्चपास गराएर बिप्लव नेतृत्वले दिवश मनाएको हो । बुधवार बिप्लब नेतृत्वको नेकपाका केन्द्रीय सदस्य हेमराज भुषालले प्रचण्डले पार्टी र जनयुद्ध माथी बेइमान गरेकोले एकीकृत जनक्रान्तिको बाटोमा हिड्न बाध्य भएको दाबी गरे । पार्टीको भातृ संगठन युवक संगठनको चौथो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै भुषालले जनयुद्धका लागि गरेको प्रतिवद्धता र जनतालाई दिएको आश्वासन तुहाएको आरोप लगाए ।

प्रचण्डहरुले पाँचतारे होटलमा पुगेर जनयुद्व दिवश मनाएको उनले आरोप पनि लगाए । पूँजिबादीहरुको पछि लागेर माओवादीले एमालेमा बिलय गराएको पनि उनले टिप्पणी गरेका थिए । वर्तमान सरकारले हत्या, हिंसा र बलात्कार जस्ता घटनाका दोषी पक्राउ गर्नुको साटो संस्थागत गर्न लागेको आरोप पनि लगाए । उनले अर्बौ रुपैयाँ भ्रष्ट्राचार गरेकालाई छुटाएर कमिसनको खेलमा लागेको पनि आरोप लगाएका थिए । कार्यक्रममा जिल्ला ईन्चार्ज बिकिरण क्षेत्रीले बैज्ञानिक समाजवाद निर्माणका लागि सबै एकपटक युद्व मोर्चामा होमिनुपर्ने बताए । ‘जनयुद्व र जनआन्दोलनले मात्र नपुगेकोले एकीकृत जनक्रान्ति आवस्यक भयो’ जिल्ला इन्चार्ज बिकिरण क्षेत्रीले भने, ‘हामीले दबाव मूलक अभियानबाटै जनक्रान्तिको बाटो रोजेका छौं, आबस्यक पर्दा युद्ध के हो देखाईदिन सक्छौं ।’ अब गाउँ–गाउँमा हुने भ्रष्ट्राचार र बेथितीबिरुद्ध लड्न युवालाई उनले निर्देशन समेत दिए । बुधबारै सत्ताधारी नेकपाले भने शिलत होटलमा जनयुद्व दिवश मनाएको थियो । सत्ताधारी नेकपाले चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम गरेर दिवश मनाएको हो । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य गोबिन्द नेपालीले पूँजिवादले कम्युनिष्ट एक हुन नदिएको भन्दै अब कुनैपनि हालतमा एकता नतोडिने बताए ।

केही दिनअघि दुइ अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल बीचको खटपट बाहिर आएपनि त्यो एकताको बाधक नहुने दाबी गरे । कार्यक्रममा गण्डकी प्रदेश सांसद ईन्द्रलाल सापकोटाले पूँजिवादी बिरुद्ध नेकपा लड्ने र एकतामा बाहिर बसेकाहरुलाई भित्राउने चुनौती भउको बताए । उनले प्रधान शत्रु कांग्रेस भएको बताए । उनले हिजोको राजा फालेपनि अझै राजाजस्तै सामन्ती कांग्रेसलाई ढाल्न नसकेसम्म देशको बिकास नहुने र गणतन्त्रको संस्थागत बिकास नहुने दाबी गरे । कार्यक्रममा जिल्ला स्तरीय नेता तथा कार्यकर्ता, घाईते, सहिदका परिवार लगायतले पार्टी एकता अलपत्र पार्न नेताहरु अगाडि तम्सेको आरोप लगाएका थिए । जिल्ला संयन्त्र सदस्य ज्ञामनाथ गैह्रे अनिलको अध्यक्षता, लालबहादुर थापाको संचालनमा सम्पन्न कार्यक्रममा जिल्ला स्तरीय कार्यकर्ता र पेशागत संगठनका प्रमुखहरु कार्यक्रममा सहभागि थिए ।