काठेपुलको भरमा विद्यार्थीहरु दैनिक आउजाउ गर्दा जोखिम बढ्दो

बागलुङ, २ फागुन – काठेपुलको भरमा दैनिक बिद्यार्थी आउजाउ गर्दा जोखिम बढेको छ । गलकोट नगरपालिका–७ मल्मको सप्ताहघाटमा रहेको प्रगती प्राविको तीन कोठे भवन खोला तरेर जानुपर्ने भएपछि काठेपुलको भर पर्नु परेको हो । खोला वारी जमिन नपाएपछि त्यसैमा तीन कोठे भवन भनाइएको थियो । त्यसपछि बिद्यालयले काठेपुल हालेको हो । बर्षातमा उक्त पुल कुहिएपछि दुर्घटनाको खतरा बढ्ने गरेको छ । गत बर्षातमा बनाइएको काठेपुल पनि फेरी कुहिएर मक्किएको छ ।

उक्त पुलबाट दैनिक बिद्यार्थी आउजाउ गर्नुपर्दा दुर्घटनाको खतरा भएको प्रधानाध्यापक नगेन्द्र मल्लले बताए । काठको पुलमा जतिबेला पनि दुर्घटनाको खतरा भएकोले मागीरहेपनि सहयोग नपाएको उनले बताए । पटक–पटक स्थानीय बिकास अधिकारी, जिल्ला शिक्षा अधिकारीहरुले आश्वासन दिएर गएपनि काम भने नभएको उनले गुनासो गरे । खोलाले बर्षेनी कटान गर्दा दुवै तर्फको पर्खाल समेत भत्काउने गरेको छ । अभिभावकको चन्दा संकलन गरेर दोहोरा पर्खाल लगाएर खोला व्यवस्थापन गर्ने काममा लाखौं खर्च भैरहेको अध्यक्ष रामबहादुर थापाले बताए । सप्ताहघाटदेखि बिद्यालय सम्मको ५ सय मिटर खण्ड जहिले पनि जोखिममा परेको थापाले बताए । खोलाकै जोखिममा प्रगती बाल बिकास केन्द्र पनि परेको छ । बाल बिकास केन्द्रमा २० जना बालबालिका छन् । बिद्यालयमा १ सय ३० बालबालिका पढ्छन् । बिद्यालयले यो खण्डमा तटबन्धन गर्न र पक्की पुल बनाईदिन नगरपालिकामा समेत माग गरेको छ । तर अहिलेसम्म चासो नभएको हो ।

‘चालु बर्षका लागि यहाँ पुल बनाउने कार्यक्रम छैन’ वडा अध्यक्ष लोकबहादुर थापाले भने, ‘वडा तहबाट माग गरिएको थियो, नगरपालिकाले योजनामा समावेश गरेन ।’ आगामी बर्षका लागि भएपनि बजेट बिनियोजन गरेर बिद्यालयको सुरक्षा गर्न प्राथमिकताको योजनामा राखेको उनले बताए । बिद्यालयको भवन समेत पुरानो छ । आधुनिक भवन नभएको, खेल मैदान सानो भएकोले खोला पारीका दाताले दिएको जग्गा प्रयोग गरेर भवन बनाउनु परेको थापाले गुनासो गरे । ‘समितिले व्यवस्थापकीय काम हेर्ने हो, भवन बनाउने, तटबन्धन गर्ने र बाढी आयो भने कुरेर बस्न पनि भ्याईन्न’ थापाले भने, ‘कम्पाउण्ड सुरक्षा गरेर पक्की पुल बनाउन सकियो भने ढुक्क भइन्थ्यो ।’ बिद्यालयमा ११ जना निजी श्रोतका शिक्षक राखेर अंग्रेजीमा पढाइएको छ ।