जिल्लाको ८५ वटै वार्डमा हात्तिपाईलेको औषधि खुवाईने

बागलुङ, ८ फागुन – जिल्लाका ८५ वटै वार्डमा हात्तिपाइले रोग बिरुद्धको औषधि स्वास्थ्यकर्मीकै प्रत्यक्ष सहभागितामा खुवाइने भएको छ । यसअघिको अभियानमा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा खुवाइने गरे पनि अभियानको अझ प्रभावकारिताका लागि यही फागुन १५ गतेदेखी जिल्लाका सबै स्थानमा स्वास्थ्यकर्मीकै हातबाट हात्तिपाइले रोग बिरुद्धको औषधि खुवाइने गण्डकी प्रदेश स्वास्थ्य कार्यालय बागलुङले जानकारी दिएको छ । हात्तिपाइले रोग निवारण अभियान जिल्ला समन्वय समितिका अध्यक्ष राजेन्द्र ढुंगानाको अध्यक्षतामा सोमवार बसेको बैठकले पनि अभियानमा सरिक हुन जिल्लाबासी सबैलाई आग्रह गर्ने निर्णय गरेको छ ।

बैठकले यही फागुन १५ गतेदेखी सञ्चालन हुने हात्तिपाइले रोग बिरुद्धको अभियानमा अनिवार्य रुपमा सहभागी हुन आग्रह गर्ने निर्णय गरेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी घनाश्याम सापकोटाले बताए । बैठकले औपचारिक रुपमा फागुन १५ बाट अभियान शुरु हुने भए पनि एकै साथ अभियान शुरु गर्दा जनशक्तिको अभाव हुन सक्ने सम्भावनालाई ध्यानमा राखेर त्यसअघि नै बिद्यालयहरुमा सामुहिक रुपमा हात्तिपाइले रोग बिरुद्धको औषधि खुवाउने अभियान अघि बढाउन पनि आग्रह गर्ने निर्णय गरेको कार्यालय प्रमुख दिपकप्रसाद तिवारीले बताए ।