अक्षयकोषलाई दश लाख

बागलुङ, १२ फागुन – जिल्लाको बलेवामा रहेको कृष्ण गण्डकी क्याम्पसका लागि सञ्चालन गरिएको रु एक करोडको अक्षयकोष स्थापना अभियानमा राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडलले आफ्ना बुबाको स्मृतिमा रु १० लाख सहयोग गरेका छन् । बागलुङ नगरपालिका–१२ का पौडेलले बलेवा महोत्सवको एक समारोहमा क्याम्पसमा अक्षयकोष स्थापनाका लागि उक्त रकम प्रदान गरेको क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष कमलकुमार जिसीले बताए ।

पौडेलले पिता भीमनाथ शर्माको सम्झनामा रु १० लाख एक हजार १५० सहयोग गरेकाहुन् । पौडेलको सहयोगलाई सम्मान गर्दै क्याम्पसले स्व भीमनाथको अर्धकदको सालिक क्याम्पस प्राङ्गणमा राखिने निर्णय गरेको छ । उनले यसअघि पनि पृथ्वी उच्च मावि अमलाचौरमा करीब रु १० लाख लागतमा भीम पुस्तकालय स्थापना गर्न सघाएका छन् । शैक्षिक क्षेत्रको प्रगतिका लागि आफूले आर्जेको धनराशि खर्चन पाउँदा निकै खुशी लागेको उनले बताए ।