१७ वर्षदेखि अलपत्र जग्गामा आधुनिक वसपार्क निर्माण सुरु

टर्मिनल भवनमा घण्टा घर सहितको टावर समेत निर्माण हुनेछ छ ।

बागलुङ, १४ फागुन – शहरी विकास मन्त्री मोहम्मत इस्तियाकले बसपार्क निर्माण बढ्दो शहरीकरण र आधुनिकीकरणका लागि महत्वपूर्ण भएको वताएका छन । नागरिक स्तरको सहयोग र सहकार्यमा निर्माण हुने सवै योजनाले भौतिक पूर्वाधार निर्माणमा सहयोग पुग्ने वताए । मंगलबार बागलुङ बजारको उपल्लाचौरमा आधुनिक बागलुङ बसपार्क शिलान्यास गर्दै मन्त्रीले बागलुङको शहरीकरण विकासका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता जारी गर्दै चालु आवमा नै २५ करोड लागतको सिटी हल निर्माणका लागि बजेट विनियोजन गरेको बताए । शहरी विकास मन्त्रालयले चालु आर्थिक वर्षको ७ महिनासम्म २० प्रतिशतभन्दा बढी कार्य प्रगति गरेको बताए ।
कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले १७ वर्षदेखि अलपत्र जग्गामा वसपार्क निर्माणको कार्य भइरहेको बताए । व्यवस्थित आधुनिक बसपार्कमा ६० ओटा ठूला बस, १० ओटा माइक्रो बस एकैसाथ अटाउन सक्नेछन् भने टर्मिनल भवनको भुईतलामा कार तथा मोटरसाइकल पार्कीङ गर्न मिल्ने नगरपालिकाका इन्जिनियर मनोज शर्माले बताए । टर्मिनल भवनमा घण्टा घर सहितको टावर समेत निर्माण हुनेछ उनको भनाई छ ।
व्यवस्थित बसपार्क नहुँदा बागलुङ बजार हुँदै जाने मध्यपहाडी लोकमार्ग र बागलुङ बजारको मध्यबिन्दुका रुपमा विकसित बजारमा बढ्दो सवारी चाप नियन्त्रण गर्न नयाँ बसपार्क निर्माण गर्न आफूहरुले निःशुल्क जग्गा हस्तान्तरण गरेको जग्गादाता सुवास राजभण्डारीले बताए । खेतीयोग्य जमिन आफुहरुले बसपार्क निमार्णको उद्देश्यले दिएता पनि लामो समयसम्म बसपार्क निर्माणको काम शुरु नहुँनु दुखद भएको बताए । बागलुङमा व्यवस्थित बसपार्क निर्माण नहुँदा ट्राफिक समस्या झेलिरहेका बागलुङबासीहरुलाई सहजहुने अपेक्षा गरिएको छ । साविक धौलागिरी अञ्चलको सदरमुकाम भएको बागलुङ जिल्लामा अन्य जिल्लाहरुमाभन्दा सवारी साधनहरुको चाँप बढि रहेको छ ।
बागलुङमा व्यवस्थित बसपार्क बनाउँन २०५९ सालमै स्थानीयले करोडौं मूल्य पर्ने जग्गा निःशुल्क दिएपनि बसपार्क निर्माण शुरु हुन सकेको थिएन । बागलुङ नगरपालिका वडा नम्बर ४ दावगरामा व्यवस्थित बसपार्क निर्माण गर्नका लागि स्थानीय ५२ जनाले निशुल्क रुपमा जग्गा उपलब्ध गराएका थिए । सोही जग्गामा हाल बसपार्क निर्माणको काम भइरहेको छ । स्थानीयले उपलब्ध गराएको ५९ रोपनी जग्गाबाट साढे १७ रोपनी जग्गामा बसपार्क निर्माण गर्ने गरी आशिष फेवा जेभी पोखराले ६ करोड ७४ लाख ६ सय ४५ रुपैयाँमा ठेक्का सम्झौता गरि काम अगाडि बढाएको निर्माण कम्पनीका प्रतिनिधि राजु पौडेलले बताए । अन्य जग्गामा व्यवस्थित बसोबासका लागि १ सय २७ वटा घडेरी निर्माण गरेर स्थानीयलाई फिर्ता गर्ने नगरपालिकाले जनाएको छ ।