दोबाटो

तारेभिरमा तिर्तिरेको पानी
तिमी पल्लो गाउँबाट आएर भथ्र्याै
म वल्लो गाउँबाट गएर भर्थें
त्यहीँ मिलन हुन्थ्यो
त्यहीँ बिछोड हुन्थ्यो ।

तिम्रो तिर्खा
कलिलो पातमा पारी चिच्याउँदा
मेरो कानमा तिम्रो श्वास छिथ्र्याे
अनि गाग्री हल्लाउँदै दौडन्थें
मेरो तिर्खा मेटाउन ।

तिर्तिरे हाम्रो दोबाटो
तिर्तिरे हाम्रो दोभान
भेटिएको हामी दोबाटोमा
जोडिएको हामी दोबाटोमा
छुटिएको हामी दोबाटोमा

दोबाटोमा
बाटो मिले मिलन
उद्देश्य मिले मिलन
दुबै फर्के मिलन
बसिरहे मिलन
जस्तो तिर्तिरेमा
हाम्रो तिर्खा मिल्थ्यो
मिलन हुन्थ्यो ।

तिमी कालीगंगा किनारामा
म म्याग्दी खोला किनारामा
तिमी र म मुखतर्फ हिंडे
बेनीमा हाम्रो मिलन छेकिन्न
तिमी र म मुहानतर्फ हिंडे
बेनीमा हाम्रो बिछोड ढाकिन्न

दोबाटो– मर्मको भण्डार
दोबाटो– निर्ममताको हुटिट्याउँ
दोबाटो– कठोरताको प्रतिक ।
दोबाटोले चिर्छ मिलेका मुटुहरु
दोबाटोले फुटाउँछ मिलेका मनहरु
दोबाटोले मिलाउँछ हराएका यात्राहरु
दोबाटोले जुटाउँछ भुट्भुटिएका आत्माहरु

दोबाटोले जोड्दो रहेछ
दोबाटोले तोड्दो रहेछ ।