भत्ता होल्ड गर्दा लाभग्राही मर्कामा

म्याग्दी, २ चैत – राज्यले बृद्धबृद्धा,दलित,एकल महिला र अशक्तलाई प्रदान गर्ने सामाजिक सुरक्षा भत्ताको रकम कृषि विकास बैंकले होल्ड गरेर राखेपछि म्याग्दीका सेवाग्राहीहरु मर्कामा परेका छन् । सामाजिक सुरक्षा भत्ता वितरणको जिम्मेवारी पाएको कृषि विकास बैंकले सरकारी बैंकमा खाता नखोलेले भन्दै सामाजिक सुरक्षा भत्ताको रकम होल्ड गरेर राखेको छ । झण्डै डेढ महिनासम्म बैंकले सेवाग्राहीको खातामा रकम ‘टा«न्सफर’ नगरी आफ्नो खातामा राख्दा सामाजिक सुरक्षा भत्ता लिने सेवाग्राहीहरुले मर्कामा परेको गुनासो गरेका छन् ।

बेनी नगरपालिकाले सामाजिक सुरक्षा भत्ता वापतको दोस्रो चौमासिक रकम गएको माघ १६ गते चेकमार्फत कृषि विकास बैंकमा निकासी पठाएपनि भुक्तानीको जिम्मा पाएको कृषि विकास बैंकले सो रकमलाई वितरण नगरी ‘होल्डिङ’ मा राखेको बेनी नगरपालिकाका कार्यकारी अधिकृत छविलाल सुवेदीले बताए । बेनी नगरपालिकाका १० ओटा वडाहरुमध्ये ८ ओटा वडाको जेष्ठनागरिक (अन्य) जेष्ठ नागरिक(दलित) एकल महिलालाई कृषि विकास बैंक मार्फत सामाजिक सुरक्षा भत्ता उपलव्ध गराइदै आएको कार्यकारी अधिकृत सुवेदीले जानकारी दिए ।

सामाजिक सुरक्षा भत्ता लिनका लागि विहान ९ बजेदेखि नै लाइनमा बस्नुभएकी बेनी नगरपालिका वडा नं ४ सिंगा तातोपानीकी दिलमति श्रीषले दिउँसो २ बजेसम्म पनि रकम नपाएको गुनासो गरिन् । ‘बरु पहिला गाउँमा नै गएर सचिवले दिन्थे हाइसन्चो हुन्थ्यो, अहिले त केके हो केके झण्झट मात्रै’ श्रीषले भने । बेनी नगरपालिकाको सामाजिक सुरक्षा शाखाका अनुसार बेनी नगरपालिका क्षेत्रमा जेष्ठनागरिक (अन्य) १ हजार ५ सय ७४,जेष्ठ नागरिक (दलित) ४ सय ४४,एकल महिला २ सय ६५ र ५ सय ८९ जना विधवाले सामाजिक सुरक्षा भत्ता पाउँछन् ।