युवती

हिमपात पछि खुलेको, हिमाल जस्तै
जीवन खुल्दै भरिएर, फूल्ने समयमा
युवतीलाई संक्रमणकाल आउँछ
शरिर प्रतिक्षण नशामय वन्दै जाँदा
मन खुल्दुलिएर बहकिन थाल्छ
आँखामा आशामय अत्यासले घेर्छ
सल्वलाउँदो मकैबोट पोके निस्के झैं
जीवन निष्फल वन्ने चुनौती आउँछ
उदाउँदो सूर्यलाई बादलले छेके झैं
भाग्य फेरिने संभावनाले सताउँछ
अन्धकारवाट भाग्ने बेलामा
अँध्यारोमै जाकिएला कि ?
उज्ज्वल भविष्य मुठ्ठीमा आउँदा
नसमातिएर फुत्किएला कि ?
आँखा अगाडि अवसर आउँदा
मनको आँखाले नदेख्ला कि?
तनावमय तनमा
खसखसाएको शरिर लिएर
यौवनको उन्मादमा
अत्तालिएको मन लिएर
अन्यौलताको भुँमरिमा
ढुकढुकिएको मुटु लिएर
संसारको वीचमा उभिएकी
एउटी युवतीलाई
पुस्तक, परिवेश, र अनुहारहरु – नभेटिने डर
पढ्न, बुझ्न र सम्झन – नसकिने डर
नेप्टो, चेप्टो, कुप्रो – होच्चिने डर
होचो, अग्लो, डल्लो – हेपिने डर
वस्न, डुल्न, दगुर्न – ताल र चालको डर
हेर्न, चहार्न, ढुँड्न – गति र मतिको डर
दिनचर्या वित्छ फगत
लिनु कि नलिनुको दोसाँधमा
लक्ष्यहरुको त्रीवेणीमा
अन्यौलताको अँध्यारोमा
अवसर छन् अनेक
लिनु छ निर्णय छान्नु छ एक
जसवाट रानीसरी भाग्य चम्कन सक्छ
जसवाट नभएको भाग्य लेखिन सक्छ
जसवाट भएको भाग्य पुछिन सक्छ
जसबाट भाग्यरेखा थपिन सक्छ
२०७५÷१२÷०७ कुश्मिसेरा, बागलुङ ।