कालिका भगवती र चैत्राष्टमी मेला

नगरपालिका आँतेको पु‍¥याइदेउ बागलुङ कालिका, चैते दश‌ै मेलामा झर्छ आसु छुट्ने बेलामा लगायतका दर्जनौं लोकगीत बनिसकेका छन् तर अहिले बजारमा नयाँ–नयाँ गीत आएपनि बागलुङमा धेरै बर्ष अगाडि गाइने चर्चित गीत थियो– ‘एक पैसा कहिलेलाई बागलुङको चैतेदशैलाई’ भन्ने सायद यो गीत धेरैलाई थाहा पनि छैन होला । सायद अझै पनि यो गीतबारे जानकारी भएका पुराना बुढापाका महानुभावहरू अझै यो समाजमा हुनुहुन्छ । बागलुङको प्रसिद्ध ऐतिहासिक कालिका भगवती मन्दिर र चैत्राष्टमी मेलाको सम्बन्ध एक आपसमा जोडिएको छ भन्ने कुराको यहाँ ब्याख्या गर्न जरुरी छ जस्तो लाग्दैन । किनभने हामीले जबजब हाम्रो नजिक चैत्राष्टमी मेला आउँछ तबतब नेपालीको प्रसिद्ध शक्तिपिठ कालिका भगवती मन्दिरको कुरा यहाँ जोडिएर आउँछ ।

बागलुङ जिल्लाको परिचय साँच्चै भन्ने होभने बागलुङमा लाग्ने धार्मिक एंवम सांस्कृतिक पर्वको रूपमा परिचित चैत्राष्टमी पर्वसंग सम्बन्धि नै छ भनेर भनिरहन आवश्यक छैन । बि.सं. १५९१ सालमा पर्वतका राजा प्रतापी नारायण मल्लको पाल्पाको राजा मुकुन्द सेनकी राजकुमारीसंग विवाह हुँदा कालिका भगवती देवीको मुर्ति राजकुमारीले दाइजो स्वरूप ल्याइकी थिइन् । विवाह पश्चात जन्ती पर्वत फिर्ता हुन लाग्दा कालिका भगवतीको खड्ग र डोली कसैले पनि उठाउन नसकेपछि कालिका भगवती माताको मुर्तिलाई अहिले भइरहेको ठाउँमा मन्दिर बनाएर प्रतिस्थापन गरिएको कुरा इतिहासबाट थाहा हुन आएको छ । बागलुङ बजारमा लाग्ने चैत्राष्टमी मेला अहिले केही बर्षदेखि यसको स्वरूप परिवर्तन भएको छ ।
आजभन्दा ३० बर्ष अगाडिसम्म बागलुङ बजारमा ऐतिहासिक रूपमै चैत्राष्टमी मेला लाग्ने गरेको कुरा धेरैलाई थाहा भएको बिषय नै हो डम्फु मादल बाँसुरी मुरली बजाएर पुरानो सालैजो गीत गाएर १५ दिनसम्म मेलाको रमाइलोसंग मनाउने चलन थियो । बर्षको एकपटक लाग्ने नेपालकै ऐतिहासिक धार्मिक साँस्कृतिक पर्व चैत्राष्टमीको मेला बागलुङ बजारको किनारा टोलमा बाँस भकारीले बारिएको टहरामा काठमाडौ पोखरा, भैरहवा, गुल्मी, हुम्ला, जुम्ला, नौतुना, गोरखपुरदेखी मेलामा ब्यापार गर्न ब्यापारीहरू आउने गरेको कुरा आजकल एकादेशको कथा जस्तो हुन थालेको छ । सयौं बर्षसम्म बागलुङ बजारभित्र संचालन हुदै आएको चैत्राष्टमी मेला अहिले यातायातको बिकास र आधुनिकतासंगै मेला बिस्तारै कमहुँदै जान थालेपछि बागलुङ उद्योग बाणिज्य संघ लगायतका संघसंस्थाले यसलाई नयाँ ढंगले अगाडि बढाउने थालेपछि फेरि बागलुङ बजारमा चैत्राष्टमीको रौनक बढ्दै जान थालेको कुरा धेरैलाई थाहा भएको बिषय हो ।

बर्षको दुई पटक दुर्गा लाग्ने गर्छ, एउटा बिजयदशमीको बेला र अर्को चैत्राष्टमीको बेला नेपालकै प्रसिद्ध शक्तिपिठको रूपमा स्थापित कालिका भगवती माताको दर्शन मात्रै गरेपनि मनले चिताएको कुरा पूरा हुने बिश्वासको कारणले पनि चैतमा दुर्गा लागेपछि यहाँ दैनिक हजारौं भक्तजनहरू कालिका भगवती माताको दर्शन गर्न पुजापाठ गर्न आउने चलन अहिले झन् बढेर गएको छ । जुन रूपमा बागलुङ सदरमुकाममा चैत्राष्टमी पर्वको अवसरमा मेला लाग्ने लगाउने चलन थियोे । अहिले भने बागलुङ उद्योग बाणिज्य संघले यहीँ मेलाको अवसर पारेर बागलुङ महोत्सव गर्दै आइरहेको छभने कालिका भगवती गुठी ब्यबस्थापन समिति बागलुङले पनि केही बर्षदेखि मन्दिर परिसरमा विभिन्न कार्यक्रमको आयोजना गरेर चैत्राष्टमी मेलालाई निरन्तरता दिने काम गरेको छ जुन आफैमा सकारात्मक मान्नुपर्छ । स्थानीयदेखि राष्ट्रिय कलाकार ल्याएर चैत्राष्टमी पर्वलाई भब्य र सभ्य रूपमा मनाउन थालिएको छ । साँच्चै भन्ने होभने केही बर्षदेखि बागलुङ बजारमा चैत्राष्टमी मेला सुनसान नै भएको छ । बजारमा लाग्ने मेला खाली नाम मात्रको भएको छ बागलुङ बजारमा ब्यापार ब्यबसाय पनि अहिले पहिलाको तुलनामा धेरै कम भएको छ । चैत्राष्टमी मेला कालिका भगवती मन्दिर परिसरमा हुन थालेपछि बागलुङ बजारभित्र चैत्राष्टमी आएको हो कि हैन भन्ने महसुुस समेत हुन छाडेको छ ।

एक त देश संघियतामा प्रवेश गरेपछि बागलुङ १० स्थानीय तहमा परिणत भएको छ । त्यसको प्रभावको कारणले पनि बागलुङ सदरमुकाममा संचालित होटल तथा पसलहरू गाउँ–गाउँमा गएपछि बजारमा ब्यापारको चहलपहल घटिरहेको समयमा बागलुङ उद्योग बाणिज्य संघ कालिका भगवती गुठी ब्यबस्थापन समिति मेलालाई ब्यबस्थापन गर्न लागि परिरहेका छन् जसको कारण बागलुङ बजारमा केही रौनक देखिएको छ । तर बागलुङ बजारभित्र चैत्राष्टमी मेलाको पुरानो रौनक ल्याउन भने अहिलेसम्म कसैले पनि सकेको देखिदैन । अहिले मेला बजारमा नभएर तल मन्दिर परिसरमा हुने कारणले पनि बजार सुनसान भएको हो यसलाई फेरि बजारभित्र र मन्दिर परिसरमा चहलपहल गर्ने वातावरण बनाउने भुमिका खेल्न जरुरी देखिन्छ ।

मेलामा घरायसी रूपमा चाहिने ठेकी, डालो, डोको, हसिया कोदालो सबै सामान पाइने कारणले पनि मेलाको लागि बागलुङ बजारमा आउने चलन चलेको देखिन्छ । यसपटक कालिका भगवती गुठीले १० दिनसम्म मेलाको आयोजना गरेर हजारौं दर्शकलाई बागलुङमा तान्ने कार्यक्रम बनाएको छ, जुन सकारात्मक मान्नुपर्छ । पर्यटन बर्ष २०१९ लाई पनि सम्बोधन गरेर प्रदेश सरकारले ल्याएको कार्यक्रम सफल पार्ने लक्ष समेत यतिबेला कालिका भगवती गुठी ब्यबस्थापन समिति लागि परेको छ जुन प्रशंसा योग्य छ । अहिले हाम्रो देशमा धार्मिक पर्यटक नै सबैभन्दा बढी देखिन्छ यसलाई राम्रोसँग आकर्षण गर्न सक्ने होभने दैनिक रूपमा हजारौं धार्मिक पर्यटकलाई बागलुङ भित्राउन सकिन्छ । यसको लागि पर्यटन संग सरोकार राख्ने निकायले भुमिका खेल्न जरुरी देखिन्छ । बागलुङको कालिका भगवती मन्दिर बागलुङकै सर्वसिद्वीधाम पन्चकोट लगायतका धार्मिक गन्तव्यलाई ब्यबस्थित गर्न सकेको खण्डमा धार्मिक पर्यटकबाट नै जिल्लाको आर्थिक समृद्धि हुने कुरामा ढुक्क देखिन्छ ।