प्लाष्टिक सामानले हराउँदै मौलिक कला

बागलुङ, ३ वैशाख – दशक अघिसम्म गाउँघरमा प्लाष्टिकका सामान खासै देख्न पाइदैनथ्यो । खानाका लागि त प्लाष्टिकका सामान प्रयोग गर्न बुढापाकाले दिदैनथे । तर समय चक्रले धेरै परिवर्तन ल्याएको छ । अहिले खाना खाने, राख्ने सहित अधिकांस सामाग्री प्लाष्टिकका बन्न थालेका छन् । यसरी प्लाष्टिकका सामान बजारमा छ्यासछ्यासती आउन थालेपछि परंपरागत शिप प्रयोग गरेर बनाईने सामानहरु ओझेलमा परेका छन् । शिप बेचेर कमाई गर्दै जीवन धानेका धेरै कर्मीहरुले व्यवसाय परिवर्तन गर्न बाध्य भएका छन् । उनीहरुको कमाई घटेपछि बैदेशिक रोजगारीमा लाग्न समेत बाध्य छन् ।

यो समस्या सबैभन्दा बढी डोको, डालो र दारका ठेकी बनाउनेहरुमा परेको छ । बलेवास्थित अमलाचौरका ५८ बर्षिय मनबहादुर चुदाराले आफ्नो पेशा संकटमा परेको गुनासो गरे । उनले जान्ने सुन्ने समयदेखि गरेको कामबाट अहिले हात धुनुपर्ने बाध्यता भैसकेको बताए । टाढाटाढा पुगेर उनले दारको काठ खोजेर ल्याउने, ठूलो काठ भेटियो भने उतै बसेर चिर्ने उनको काम अहिले संकट जस्तै भैसक्यो । उनकै गाउँले भाई प्रेमबहादुर चुदाराले पनि अहिले काम नपाएर कमाई घटेको बताए ।
चुदाराहरुको परंपरागत शिप भनेकै दारको ठेकी बनाउने थियो । पशुपालन गर्नेै किसानका घरघरमा दुइचारवटा ठेकी हुने चलनले उनीहरुको पेशाले राम्रो कमाई समेत हुन्थ्यो । यहाँका २५ घर चुँदाराका छोराछोरीलेपनि यही पेशाबाटै रोजगारी पाएका थिए । दारको ठेकीमा जमाएको दही र मही मिठो हुने, घिउ लाग्ने, बास्ना मिठो आउने बुढापाका बताउँछन् । ‘ठगठाग गर्नेले खिर्रोको पनि ठेकी बनाउने गर्छन्, तर दारको ठेकीमा दही मही खाएकाले चिनिहाल्छन्’ चुदाराले बताए । चैतेदशैको मेला पारेर चुदाराहरुले सयौं ठेकी बेचेको अनुवभ छ । उनीहरुले दर्जनौं खेपहालेर कालीका मन्दिरमा लाग्ने मेलामा ठेकी बेच्न ल्याउने गर्थे । आजकल प्लाष्टिकका भाँडा आएका छन् । गाई भैसी पाल्नेहरु पनि घट्दै गए । बजारमा बस्नेले डेरीको दुध र दही खान्छन् । फ्रिजमा जमाएको दही र प्लाष्टिकका भाँडामा राखेर खाँदा स्वाद र मौलिकता सबै हराएको छ । ‘हाम्रा सामान महंगा पर्छन्, सस्तो प्लाष्टिकको भाँडामा दुध दही खाने चलन आयो’ चुँदाराले भने, ‘हाम्रो पेशा संकटमा परेको छ ।’ २५ घरका सबै सन्ताले यही पेशा अंगालेकोमा अहिले घटेर ६ घर भएका छन् । अरु सबैले बैदेशिक रोजगारी ताकेको उनले बताए ।

बागलुङमा चैतेदशैको अवसरमा लाग्ने मेलामा उनीहरुले हरेक बर्ष ठेकी ल्याएर बेच्थे । माग नआएकोले यसपटक थोरै ठेकी ल्याएको उनीहरुले गुनासो गरे । चारजनाले एक दिनभर काम गर्दा २ वटा ठेकी तयार हुन्छन् । ती ठेकीको मूल्य फरक फरक छ । २ सय ५० देखि ७ हजार रुपैयाँ पर्ने ठेकीको व्यपार घटेको छ । उनीहरुले २ पाथीको ठेकी देखि आरी, पुचाई, चौंठी नाम गरेका फरक फरक डिजाईन र ठूलोसानो ठेकी बनाउने गर्छन् । केही मानिसले आर्कषणका लागि सजाउन साना साना सामान लैजान्छन् । ठूलो लैजानेहरु नगन्य भएको उनले बताए । ‘बाबुबाजेले दिएको सिप र पेशा छाडेर अन्यत्र जाँदा जातीय मौलिकता लोप हुन लागेको प्रेमबहादुरले गुनासो गरे । ‘अहिले सम्म हामीले हाते मेसिन प्रयोग गरेका छौं, बिजुलीबाट चल्ने मेसिन पाए थोरै लगानीमा धेरै उत्पादन गर्न सकिन्थ्यो’ उनले भने, ‘सस्तो पनि बेच्न सकियो भने किन्नेहरु बढ्ने थिए ।’ नगरपालिका र वडा तहमा यो समस्या बताएपनि वास्ता नगरेको उनले गुनासो गरे ।

गाईभैसी पाल्ने चलन हटेकोले उनीहरुको पेशा संकटमा परेको उनीहरुको गुनासो छ । केही फर्ममा पालिएका गाईभैसीको दुध र दही भने सिलवरका क्यानमा राख्ने चलन छ । ठेकीमा दही जमाउने चलन घटेको छ । घरघरमा फ्रिज राख्ने चलनले दारका ठेकी खोज्नेहरु हराएका हुन् । बागलुङमा संचालन भएको चैतेदशै मेलामा हस्तकलाका सामानको प्रवद्र्धन गर्नका लागि मौलिक संस्कृतिमा आधारित सामाग्रीलाई निशुल्क स्टल दिएको कालीका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले बताए । चैतेदशैकै अवसर पारेर ग्रामीण क्षेत्रका किसान र उद्यमीले उत्पादन गरेका घरेलु बस्तुको बिक्रीको समय पनि हो । विशेषगरी मौलिक कलामा आधारित सामाग्री किन्नकै लागि धेरै मानिस मेलामा आइपुग्छन् । जलजलाका मगरहरुले बनाएका डोको डाला, बुर्तिवाङका विश्वकर्माले बनाएका खुकुरी, सबै ग्रामीण क्षेत्रमा बासिन्दामा चलनमा रहेका लोकगीत संगीत र नृत्यले धेरैको ध्यान खिच्ने गर्छ ।