गल्कोट क्षेत्रमा राहत र क्षतिपूर्तिको ब्यवस्था हुन्छ ः मुख्यमन्त्री गुरुङ

पोखरा, ३ बैशाख – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बागलुङको गल्कोट क्षेत्रमा बाढीबर्षाका कारण भएको क्षतिको ब्यवस्थापन र राहतका लागि राज्यका सवै संयन्त्र लगाउने वताएका छन ।बागलुङको गल्कोट, काँठेलाखोला र जैमिनीमा भएको प्राकृतिक विपतीका वारेमा ध्यानाकर्षण गराउन पुगेका जिल्लाबाट निर्वाचित सांसदहरुको टोलीलाई भेट गर्दै मुख्यमन्त्री गुरुङले प्राकृतिक विपती पिडितको समस्यामा मलम लगाउने काम तत्कालै हुने आश्वासन दिए । ‘क्षति, नोक्सान र तत्कालै गर्नुपर्ने कामको सवै विवरण ल्याउनुहोस’ मुख्यमन्त्री गुरुङले भने–‘हाम्रो तर्फबाट हुने काम तत्कालै गर्छौ, बाँकी कामका लागि केन्द्र सरकारलाई भन्छौ ।’

आईतवार दिउसो परेको भीषण बाढी र असिनाले त्यसक्षेत्रमा पुराएको क्षतिका वारेमा मुख्यमन्त्री गुरुङलाई जानकारी गराउदै सांसदहरुले उचित क्षतिपूर्ति र तत्कालिन राहतको ब्यवस्था गर्न मुख्यमन्त्री गुरुङ समक्ष माग गरेका छन । मुख्यमन्त्री गुरुङ, प्रमुख राजनीतिक सल्लाहकार गोविन्द नेपाल र भौतिक पूर्वाधार मन्त्री रामशरण वस्नेतलाई मंगलवार विहान मुख्यमन्त्री निवासमा भेट गरी सांसद इन्द्रलाल सापकोटा र चन्द्रवहादुर वुढाले आईतवार परेको बाढी र असिनाले गल्कोट नगरपालिकाका विभिन्न क्षेत्रमा ५ करोड भन्दा बढिको क्षति भएकोले तत्कालै राहत, क्षतिपूर्ति र आवश्यक कार्य गर्न माग गरे ।

बर्षा र बाढीको कारणले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको, विधुत र खानेपानी आपुर्ति वन्द भएको, टेलिफोन र स्वास्थ्य सेवाको आवश्यक ब्यवस्था मिलाउन उनीहरुको माग थियो । बाढीबाट विस्थापितलाई बसोवासको ब्यवस्था मिलाउन र क्षतिग्रस्त कृषि उपजको उचित क्षतिपूर्ति दिन र कृषकहरुलाई निशुल्क रुपमा विउविजनको ब्यवस्था तत्कालै गर्न सांसद सापकोटा र वुढाले माग गरे । जैमिनीको क्षतिको विवरण आउन बाँकी रहेको भन्दै सांसदहरुले त्यहाँ पनि राहतका लागि माग गरे ।

त्यसैगरी केहिदिन पहिले काँठेखोला गाँउपालिकाका परेको असिनापानीले त्यसक्षेत्रमा ठूलोमात्रमा कृषी उपज क्षति भएकाले त्यहाँपनि तुरुन्तै राहतको ब्यवस्था मिलाउन माग गरे । त्यहाँ परेको असिनापानीले डेढ करोड भन्दा बढिको क्षति भएकाले कृषकहरुलाई उचित क्षतिपूर्ति राहतको ब्यवस्था हुनुपर्ने उनीहरुको माग थियो । मुख्यमन्त्रीलाई भेट्न बागलुङबाट निर्वाचित सांसद इन्द्रलाल सापकोटा र चन्द्रवहादुर वुढा, बागलुङ समाजका पोखराका अध्यक्ष कुलचन्द्र शर्मा, पत्रकार हरिनारायण गौतम सहितको टोली पुगेको मुख्यमन्त्रीका राजनैतिक सल्लाहकार गोविन्द नेपालीले वताए ।