बागलुङ नगरमा बेथितीका चाङ 

बागलुङ नगरपालिका साविक धौलागिरी अञ्चलकै पुरानो नगरपालिका हो । २०५४ सालमा नगरपालिका घोषण हुनुपूर्व साविक कालिका, मुलपानी र लहरेपिपल गाविसलाई एकीकृत गरि तत्कालिन अवस्थामा बागलुङ नगरपालिका घोषणा भएको थियो । मुलुकमा संघिय शासन प्रणाली लागु भएपश्चात पुनः आसपासका साविक मालिका, पालाको केही भाग, सिगाना, तित्याङ, भकुण्डे, रायडाँडा, अमलाचौर, पैयूंपाटा र नारायणस्थान गाविसलाई समेत एकीकृत गरि हाल बागलुङ नपाको व्यापक रुप कायम हुन पुगेको छ ।

पुरानो ११ नं. वडा सम्मको नपालाई विस्तार र समायोजन गरि हाल १४ वडामा विभाजित बागलुङ नगरपालिका २०५४ सालमा स्थापित पुरानो नगरपालिका भएपनि विकासको गति भने कछुवा तालमा नै अगाडि बढेको पाइन्छ । अत्यन्तै अव्यवस्थित बजार क्षेत्र, ढलनालीको समेत पर्याप्त र उचित व्यवस्थापन नहुँदा के हिउँदे अनि वर्षा, पानी पर्ने बित्तिकै बजार क्षेत्र हिलाम्यै भैहाल्छ । पुरानो र अव्यवस्थित मापदण्डका बीच निर्माण गरिएका भौतिक सामाग्रीका कारण बजार क्षेत्र अत्यन्तै साँघुरो छ । मालवाहक हेभी सवारी साधन बजार क्षेत्रमा प्रवेश गर्नासाथ अहिले सवारी जाम परिहाल्छ । त्यसैमा पनि अव्यवस्थित पार्किङको समस्याले व्यवसायी, पैदलयात्री र सवारी चालकहरुलाई निकै नै सकस भैरहेको छ । पुरानो नगरपालिकाको साथै धौलागिरी अंञ्चलको सदरमुकाम समेत रहेको बागलुङ नपाको सडक सञ्जालको कुरा गर्दा साह्रै नै दुःखदायी अवस्था छ । बागलुङ नपाको बजार क्षेत्रभित्र मात्रै सडक कालोपत्रे भएको छभने वर्षामा सहज यात्रा गर्न सक्ने सडक झण्डै १÷२ मात्र रहेको छ ।

पछिल्लो समय मध्यपाहाडी लोकमार्ग समेत बजार क्षेत्रलाई फन्को मारेर पार भएपनि बागलुङ बजार आसपासका क्षेत्रमा पुग्ने उक्त सडकको अवस्था पनि उस्तै छ । वर्षा याममा उक्त सडक पार गरेर बागलुङको पश्चिम भेग र आसपासका वडामा चल्ने सवारी साधनले अति नै सास्ती भोग्नु पर्दछ । अरु त के कुरा नगरपालिकाको रात्माटा डाँडामा रहेको आफ्नै भवनमा पुग्न समेत वर्षा याममा हम्मेहम्मे पर्दछ । मुलुकमा संघियता कार्यान्वयनसंगै स्थानीय निकायमा निर्वाचित जनप्रतिनिधि आई काम आरम्भ गरेको समेत झण्डै २ वर्ष पुग्न थाल्यो । बागलुङ नगरपालिकामा जनकराज पौडेल मेयर भएपश्चात विगत २० वर्षमा हुन नसकेका विकासका काम तीव्र गतिमा हुने जनअपेक्षा थियो । तर नगर प्रमुख जनक पौडेलको गतिविधिका कारण विकासले जनअपेक्षाअनुरुप गति लिन सकिरहेको छैन । पछिल्लो समय नगरपालिका अनियमितताको दलदलमा फसेको छ । कहिले फोहोरमैला निजी सहकारीलाई जिम्मा दिने विषय होस् त कहिले कोरियाको निजी भ्रमणको बिल नगरपालिकामा भुक्तानीको लागि पेश गरेर, कहिले बलेवा विमानस्थल सञ्चालनमा नगरपालिकाको लाखौं रुपैयाँ निजी विमान कम्पनीलाई भुक्तान गरेर त कहिले नेत्रज्योती संघको भवन निर्माणमा दोहोरो भुक्तानी गरेर होस् वा नगरपालिकाभित्र सञ्चालन भएका विकास निर्माणमा कैयन किर्ते बिल तयार गरेर त कहिले निर्माणधिन उपल्लाचौर बसपार्कमा डोजरले काम गरि कुटो–कोदालोद्धारा निर्माण भनी बिल पेश गरेर होस्, हरेक गतिविधिले निकै नै चर्चाको शिखरमा छ– ‘बागलुङ नगरपालिका ।’

नेपाल अधिराज्यका सम्पूर्ण नगरपालिकाको अग्रपंक्तिमा नाम आउँछ बागलुङ नगरपालिका । हरेक नगर कार्यपालिकाको नियभित्र बैठक होस् वा नगर परिषदको । हरेक बैठकमा जब एजेण्डमा प्रवेश गर्देछ तब विवाद शुरु भैहाल्छ । हरेक बैठकमा या त रित नपुगेका किर्ते बिलको फछर्याैट होस वा उपभोक्ता समितिले निर्माण सम्पन्न गरेर महिनौं बित्ता समेत भुक्तानी नपाएका विषयमा घण्टौं विवाद हुन्छ र स्थगन हुन्छ । अझै गज्जबको कुरा त के छभने अहिले बागलुङ नगरपालिकामा कर्मचारीले काम नै गर्न छाडेका छन् । आफ्नो नियमित बिल भरपाई फछर्यौटको लागि उपभोक्ता समितिका सदस्यहरु दिनभर भौतारीरहन्छन् । तर इन्जिनियर, प्रशासकीय अधिकृतहरु कार्यलयमा भेटिदैनन् । पछिल्लो समय बागलुङ नगरपालिकामा रातारात काम गर्न थालिएको छ । दिनभर सेवाग्राहीले भेट्न नसक्ने प्रशासकीय अधिकृत भिम बहादुर कुँवर राती अबेरसम्म कार्यलयमा काम गरेको देखीन्छन् । आफ्ना नजिकका मान्छेहरुको अहिले रातारात काम हुन्छ । बागलुङ नगरपालिकामा अनियमितताले निकै नै चर्चामा छ ।

लामो समयसम्म जनप्रतिनिध, सर्वसाधारण, नागरिक समाजको आवाजलाई कुल्चदै अगाडी बढेको बागलुङ नगरपालिका महालेखा परिक्षकको प्रतिवेदनले छायाँबाट खसे जस्तै भएको छ । केही महिना अगाडी महालेखाले आफ्नो लामो प्रतिवेदन सार्वजनिक गर्दै नगरपालिकाले झण्डै १८ करोडको बेरुजु फछ्र्यौट गर्नुपर्ने राय पेश गरेपश्चात अप्ठ्यारोमा फसेको छ । महालेखाले के कति बिल, केही अनियमितता र केही पेश्की फछ्र्यौट, त्यसैगरी बलेवा बसपार्क सञ्चालनमा खर्च गर्न नमिल्ने कोषबाट भुक्तान गरि नगरपालिकामा व्ययभार थोपरेको, स्करपियो गाडी खरिदमा समेत खर्च गर्न नमिल्ने कोषबाट रकम भुक्तान गरेको लगायत दर्जनैं अनियमिता सम्बन्धि बुँदागत टिप्पणी उठाएपश्चात नगर प्रमुख, प्रशासकिय अधिकृत, योजना अधिकृत, इन्जिनियर र केही वडा अध्यक्ष समेत महालेखाको फन्दामा परेका छन् । महालेखाको प्रतिवेद पश्चात केही उपभोक्ता समिति र स्वयं वडा अध्यक्ष समेतले रकम फिर्ता गरेका पनि छन्भने केहीले कसरी र कुन शिर्षकमा नगरपालिकामा विल पेश गरेर उक्त रकम भुक्तान लिई पूनःफिर्ता गर्ने भन्ने तानाबुना र जाल बुन्दैछन् । यसरी हरेक शिर्षक र हेरक क्रियाकलापमा अनियमितताका खबर दिनहुँ बाहिर आउँदा र केहीले रकम फिर्ता समेत गर्दा लाग्दछ, बागलुङ नगरपालिकाका केही पदाधिकारी लगायत कर्मचारी चुर्लुम्मै अनियमिततामा डुबेका छन् ।

यसरी दिनहुँ बागलुङ नगरपालिकामा अनियमिततका खबर बाहिरीरहँदा बागलुङबासीहरुको शिर निहुँरीएको छ । आम नगरबासीहरुको एउटै आवाज छ की भ्रष्टचार र अनियमिततामा संलग्न चाहे पदाधिकारी हुन् वा कर्मचारी वा जनप्रतिनिधि । उनीहरुलाई हदै सम्मको कारवाही हुनु पर्दछ । एकातिर जनप्रतिनिधि भएर सरकारी कर्मचारी सरह तलबभत्ता लिने त अर्कोतर्फ करोडौं रुपैयाँ किर्ते बिल भरपाई गरि रकम बुझ्ने जनप्रतिनिधिहरुको अहिले सक्कली अनुहार देखिएको छ । अझै भन्नु पर्दा केन्द्रदेखी गाउँ, नगरसम्म नेकपाको शानदार बहुमत प्राप्त जनप्रतिनिधिहरुको विकास योजनाहरुमा गिद्धेदृष्टि देख्दा आम नागरिकहरु चिन्तित बनेका छन् । छानविन गर्ने निकायले भेटेमा रकम फिर्ता गर्ने र नभेटेमा बिल भरपाई मिलाई करोडौँ रुपैयाँ अनियमितता गर्ने छुट बागलुङ नगरपालिकाका जनप्रतिनिधिहरुलाई कहाँबाट प्राप्त भयो ? के रकम फिर्ता गर्दैमा अपराध क्षम्य हुन्छ ? के उनीहरुमाथि कानूनी कारवाही गर्नु पर्दैन ? एकातिर नगरबासीहरुसंग अव्यवहारिक कर दर थप्दै जाने, नागरिकहरु नगरपालिकाले थोपरेको कर नखाई–नखाई तिर्नुपर्ने र उनीहरुले यसरी अनियमितता गर्दा समेत कुनै कारवाही नहुनले आम नगरबासी हरुमा संघिय शासन प्रणालीका जनप्रतिनिधिप्रति र शासन व्यवस्थाप्रति नै वितृष्णा पैदा गरिदिएको छ ।