परम्परागत सीप संरक्षणको आवश्यकता

हाम्रा पुर्खाहरु आफ्नो दैनन्दिन जीवनमा प्रयोग हुने सामानहरु आफै बनाउँथे । आफूसँग भएका सीपबाट सृजित सामानहरु साँटफेर वा बिक्री गर्थे र आवश्यक अन्य सामानहरु खरिद गर्थे । आफूलाई चाहिने सीपको पुस्ता हस्तान्तरण हुन्थ्यो । बाबुको बिँडो धान्ने यो परम्पराले मानिसहरुलाई सृजनशील बनाउँथ्यो । मौलिक सीपको जगेर्ना पनि हुन्थ्यो । सायद, यो परम्परा विश्वभर नै ब्याप्त थियो । मौलिकता संरक्षण, सामाजिक भावना र अपनत्व जोगाउन यस्ता सीपहरुको विशेष महत्व थियो । उदाहरणको लागि बागलुङ, अमलाचौरका मनबहादुर चुदारहरुलाई नै हेरौँ । उनीहरु हातले ठेकी बनाउँछन् । त्यो ठेकी बेचेर जीवन गुजारा गर्छन् । परम्परागत रुपले बनाइने ठेकीहरु बलिया हुन्छन् । गाउँमै उत्पादित ठेकीहरु वातावरणीय र स्वास्थ्यको दृष्टिकोणले पनि राम्रो मानिन्छ । पुर्खाबाट नासोको रुपमा पाएको सीपमा आश्रित केही व्यक्तिहरु भने अहिले पनि मौलिकता धान्दै बसेका छन् ।तर, दुर्भाग्य, उनीहरुको पेशा यतिबेला संकटमा पर्न थालेको छ । सस्तोमा पाइने प्लाष्टिकका भाँडाहरुको उपयोग बढ्दै जाँदा उनीहरुको ग्राहक घटेका छन् । ग्राहक घट्दा पेशा मात्रै संकटमा परेको छैन, मौलिकता नासिने चिन्तासँगै बेरोजगारीले गाँज्ने संकेत पनि देखाएको छ ।

बूढापाकाहरु भन्थे,‘अर्काको रिस नगर, गर्ने नै भए आफ्नो पाखुराको गर ।’ हो, आफ्नो पाखुरामा रिस गर्नेहरुले भोकै बस्नु पर्दैन । दुःख पर्दा कसैसँग हात फैलाउनु पर्दैन र काम पाइएन भनेर भौँतारिनु पनि पर्दैन । बूढापाकाहरुको यही अर्तिलाई शीरोपर गर्दै सीप र इलम सिकेकाहरुले आफ्नो स्वाभिमानलाई पहाडजस्तै उचो राखे । आफ्नै पाखुराको भरमा जीवनयापन गरे । नेपाली समाजको मौलिक सँस्कृति बनाए । तर, समाज आधुनिक बन्यो । आधुनिकताले जीवनमा सहजता भित्र्यायो । सहजताको नाममा हामीले आफूसँग भएको सीपलाई आफैभित्र सिमित पार्न थाल्यौँ । आफ्नै वरपरका सामान प्रयोग गरी बनाइने सामानहरुमा पनि अर्काको भर पर्न थालियो । परिणामतः परम्परागत डोको, नाम्लो, डालोहरु पनि प्लाष्टिकका आउन थाले । हामी त्यसलाई उपयोग गर्दै गयौँ । यसले गर्दा हातले चोया काट्ने, डोको, नाम्लो, दाम्लो, ढकिया बुन्ने, ठेकी बनाउने सीप मात्रै मारेन, गोजीको पैसा बाहिर जान थाल्यो । आधुनिकताको नाममा आएका यस्ता सामानहरुले वातावरणीय प्रदुषणमा पनि योगदान दिए ।हामीले गाउँगाउँमा प्लाष्टिक पु¥यायौँ, मौलिकता नास्यौँ र परनिर्भरताको यात्रा तय गर्न थाल्यौँ । यो दुर्भाग्यपूर्ण रहेको छ ।

परम्परागत सामाग्री उत्पादनको लागत बढी छ । लागत बढी हुँदा मूल्य बढी पर्छ । बढी मूल्यका सामानहरुलाई उही रुपमा उपयोग हुने सस्तो सामानले बिस्तापित गर्नु अस्वभाविक हैन । तर, मौलिकताको संरक्षण र मानिसको पेशा संरक्षणको पाटोबाट हेर्दा यो वैश्विककरणको मार हो । हामीले मौलिकता जोगाउनुपर्छ । हाम्रा देशमा उत्पादन हुने परम्परागत र स्वास्थ्यका लागि हितकारी सामानहरुको संरक्षणतर्फ ध्यान दिनु राज्यको दायित्व हो । परम्परागत पेशा धानेकाहरुलाई, मौलिकताको संरक्षणमा खटिएकाहरुलाई राज्यले उचित संरक्षण गर्नुपर्छ । उनीहरुलाई अनुदानको व्यवस्था, कच्चा पदार्थको उपलब्धता र बजारको व्यवस्था गरिदिनुपर्छ । त्यति मात्र नभएर, त्यही सामान उत्पादनको लागि आवश्यक पर्ने आधुनिक उपकरणको व्यवस्था गर्न पनि राज्य पछि पर्नु हुँदैन । परम्परामा प्रविधि मिसाउँदा सामानहरु आकर्षक हुन्छन्, लागत घट्छ । जसले गर्दा मौलिक परम्पराको संरक्षण, सीपको पुस्ता हस्तान्तरण र नेपाली सँस्कृतिको संरक्षणमा पनि टेवा पु¥याउँछ । प्लाष्टिकजन्य पदार्थको उपयोग गर्नु भनेको स्वास्थ्य र वातावणीय दुबै दृष्टिले राम्रो हैन । अर्कोतर्फ नेपाल आउने पर्यटकहरुलाई हाम्रा मौलिक र परम्परागत भाँडाकुँडा बिक्री बितरण गरी विदेशी मुद्रा कमाउने दिशामा जानु पनि आजको आवश्यकता हो । सामान्य कर्मीले बाह्य बजार खोज्न सक्दैन । आफ्नो जीवन धान्नै नसक्ने भए पेशा छाड्नुको विकल्प पनि हुँदैन । यो समस्या बागलुङका चुँदारहरुको मात्रै हैन, देशकै हो । अतः राज्यले पहिचान, मौलिकता झल्कने सीपहरुको संरक्षणमा ध्यान पु¥याउनु पर्छ ।