संघीयताको व्यवस्थापन गर्दा एक बर्ष बित्यो–मन्त्री बिष्ट

बागलुङ, ५ वैशाख – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले वर्तमान सरकारको एक बर्षे कार्यकाल संघिय संरचनाको व्यवस्थापनमा बितेको बताएका छन् । संघिय संरचनालाई तल्लो तहसम्म व्यवस्थापन गर्ने र संबिधानले परिकल्पना गरे अनुसारका कानुन बनाउने काममा एक बर्षको समय बेतित भएको उनको भनाई थियो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला संयन्त्र बागलुङले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई बुधबार बागलुङ बजारमा सम्बोधन गर्दै बिष्टले सरकारले बखिण्डनकारी शक्तिलाई मुलधारको राजनीतिमा ल्याउने देखि तीन सय बढि कानुन बनाउने सम्मका महत्वपूर्ण काम सम्पन्न गरेको दावी गरे ।

अहिलेको सरकारलाई जस्तो विगतका कुनैपनि सरकारलाई बिपक्षीले योजना बद्ध आलोचना नगरेको भन्दै बिष्टले हरेक काममा भैरहेको बिरोध र अबरोधका बाबजुध वर्तमान सरकारले केही लोकप्रिय कामको थालनि गरेको बताए । ‘वर्तमान सरकार चल्ते चलाते मात्रै नगरेर नियमीत प्रकृया भन्दा भिन्न तरीकाले काम गरिरहेको छ’ बिष्टले भने ‘यो सरकारले महत्वकांक्षि र जनउपयोगी कार्यक्रमहरु ल्याईरहेको छ ।’

उनले अहिले बिपक्षमा रहेका दलहरुले सरकारले पातलो चियाँ खाँदा होस वा बाक्लो चिया खाँदा होस दुबै अवस्थामा आलोचना गर्ने गरेको आरोप लगाए । वर्तमान सरकारले सामाजिक सुरक्षा योजना र प्रधानमन्त्री युवा रोजगार कार्यक्रम जस्ता लोकप्रिय कार्यक्रमको घोषणा गरेकाले ढुक्क भएर पार्टीको पक्षमा बहस गर्न कार्यकर्ताहरुलाई आग्रह समेत गरे ।
‘सामाजिक सुरक्षा कार्यक्रम हुनेखानेको लागि होईन, भोका नाङ्गाको लागि ल्याईएको कार्यक्रम हो’ उनले भने ‘अवको एक दुई बर्षमानै यो कार्यक्रम कार्यान्वयनको प्रभाव देखिन थाल्ने छ ।’ नेकपा एमाले र नेकपा माओवादि केन्द्रको बिचमा पार्टी एकता भएपछि लामो समय सम्म पनि आधारभुत तहमा एकता टुंगो लाग्न नसक्नु दुखद भएको भन्दै उनले अवको केही दिनमानै आधारभुत तहको एकता टुंगो लाग्ने बताए ।

आधरभुत तहनै पार्टीको मुटु भएको भन्दै चिनी पानीको जस्तो अन्तरघुलनका लागि समय लागेको उनको भनाई थियो । सरकारले बिगतमा कांग्रेस नेतृत्वको सरकार रहेका बेला बिग्रिएका कामहरुको सुधार गर्ने क्रममा बाहिर आएका बिषयहरुलाई लिएर अहिले कांग्रेसलेनै आँफुहरुलाई प्रहार गर्ने गरेको बिष्टको आरोप थियो ।

एक फरक प्रसंगमा बिष्टले नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपालाई नेपालको संबिधानको मर्ममा रहेर मुलधारको राजनीतिमा आउन आग्रह गरे । ‘संबिधानको मर्म र जनचाहना अनुसार राजनीतिक मुलधारमा आउनुस भनेका छौं, त्यसकालागि वार्ता गर्न हामी सदैव तयारनै छौं’ बिष्टले भने ‘जथाभावि हतियार चलाउँदै हिँडे जनताको सुरक्षा गर्नु हाम्रो कर्तव्य हो ।’ उनले राजनीतिको नाममा झुण्ड निर्माण गरेर अपराधिक क्रियाकलाप गरे सरकारले त्यस्ता शक्तिहरुलाई नछोड्ने बताए । सिकेराउन जस्ता बिखण्डनकारी शक्ति समेत राजनीतिक मुलधारमा आएकाले नेत्रबिक्रम चन्द नेतृत्वको (नेकपा) पनि मुलधारमा आउनुको विकल्प नरहेको जिकीर गरे । कार्यक्रम नेकपा जिल्ला संयन्त्र सदस्य ज्ञामनाथ गैरेको अध्यक्षता, बिष्णु भुसालको स्वागत र लाल थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।