प्रहरीमा अझै बहुबिबाहका घटना; प्रहरी उपरिक्षक शर्मा

बागलुङ, ५ वैशाख – प्रहरी उपरिक्षक कृष्णहरि शर्माले शान्ति सुरक्षा, अपराध नियन्त्रण र अनुसन्धानमा चौविसै घण्टा खटिएको दावी गरेका छन् । उनले जिल्लामा अपराध, बहुविवाह र आत्महत्याका घटना बढी रहेकोले अधिकांस समय प्रहरीले घटना केन्द्रीत हुनु परेको समेत बताए ।

धौलागिरी संचार क्लबले आयोजना गरेको साक्षातकार कार्यक्रममा भदौ १ गतेबाट लागू भएको मुलुकी देवानी संहिताकै बाबजुत बहुविवाहको घटना बढीरहेको बताए । ‘कानून भदौदेखि आएपनि त्यस अघिका र पछिका मुद्दा आइरहेका छन्’ शर्माले भने, ‘अपराध नियन्त्रणको काममा प्रहरी निरन्तर लागेपनि नागरिक तहको सहयोग बिना प्रहरी एक्लै सफल हुँदैन ।’ शर्माले बहुबिबाहका उजुरी प्रसस्त आएको बताएपनि संख्या भने बताएनन् ।

भौगोलिक कठिनाईका कारण घटनाको सूचना समेत समयमा आउन नसक्दा कारवाही प्रकृया ढीला हुने गरेको गुनासो पनि गरे । दरबन्दी अभाव, भूगोलका कारण अपराधको सूचना ढीला आउने र अधिकांस घटना मिलाउन खोज्ने समाजका कारण प्रहरीको काम समेत ढीला देखिएको उनले स्विकारे ।

‘बलात्कारका घटनाहरु मिल्न नदिने भएकोले जसरी पनि आउने गरेका छन्, तर अन्य घटनाहरु गाउँघरमा मिलाउने चलन पनि छ’ शर्माले भने, ‘अपराधलाई अनुसन्धान गर्नै नदिने गरी दवाव भने आउने गरेको छैन ।’ राजनीतिक दवाव र जातीय समस्या नभएकोले सुरक्षामा आँच आउने घटना भने नभएको उनले बताए । शर्माका अनुसार प्रहरीमा आएका उजुरीको आधारमा आर्थिक बर्ष २०७३÷७४ र गत आर्थिक बर्षको तुलनामा अपराधका घटनामा भने बढोत्तरी भएको छ । अघिल्लो बर्ष १२ जनाको बलात्कार भएकोमा गत बर्ष १० र चालु बर्षको चैत मसान्तमै ११ जनाको घटना दर्ता भैसकेको उनले बताए । जवरजस्ती करणी उद्योगमा पनि अघिल्ला बर्ष ३ र ७ वटा घटना भएकोमा चालु बर्ष ११ वटा दर्ता भएको बताए ।

जिल्लामा सबैभन्दा बढी डरलाग्दो घटनाको रुपमा आत्महत्या र भवितव्य ज्यान जाने संख्या देखिएको छ । प्रहरीकै अनुसार चालु बर्षको चैत सम्म १३ जनाले झुण्डीएर आत्महत्या गरेका छन् भने २१ जनाको भवितव्य ज्यान गएको देखिएको हो । ‘यो घटनाले हाम्रो समाजको चित्रण गरेको छ’ उनले भने, ‘गम्भिर अपराध नभएपछि असन्तुलित समाजको कारण त्यस्ता घटना भएका हुन् ।’ प्रहरीले १० बर्ष मुनीका बालबालिका पनि चोरीमा संलग्न भएको भेटाएको छ । त्यसले अभिभावक जागरण अभियान चलाउनुपर्ने समेत उनले बताए । प्रहरीले केही समयदेखि लागू औषध प्रयोग र बिक्री कर्ताको खोजी गरिरहेको छ । एक महिना भित्रै बागलुङ नगरभित्रबाटै ६५ जना दुव्र्यसनी र बेचविखन गर्ने भेटिएको शर्माले बताए । प्रयोगकर्ताको घरमा पुगेर अभिभावक सँगै प्रहरीले अन्तरक्रिया गर्न थालेको छ । अभिभावकलाई जागरुक बनाएपछि न्युनिकरणमा सहयोग पुग्ने उनले बताए ।
ट्राफिक व्यवस्थापनका लागि नगरपालिका सँगको सहकार्यमा कार्यक्रम संचालनको तयारी भएको छ । ट्राफिक प्रमुख सुकबहादुर बिकका अनुसार समय मिलाएर बैसाख भित्रै बजारको ट्राफिक व्यवस्थापन गर्ने, एकतर्फी मात्र पार्किङ गर्न सूचना बोर्डहरु बनाईसकिएको छ । ती बोर्ड हरेक साता फरक फरक साइटमा राखिनेछ । जसको कारण दोहोरो पार्किङ हुन पाउने छैन ।
सबै काम गर्नका लागि प्रहरीमा चाहे अनुसारको दरबन्दी भने अभाव भएको शर्माले टिप्पणी गरे । सिमित दरबन्दीमा बसेर काम गर्नुपर्दा सोचेजस्तो सफलता नमिलेको शर्माले बताए । उनका अनुसार अहिले जिल्लामा ५ सय २७ जनाको दरबन्दीमा १ सय ५६ प्रहरी दरबन्दी खाली छ । केन्द्रीय तहमा माग गरेर पठाएपनि सबै जिल्लाको समस्याले प¥र्याप्त दरबन्दी पुरा नभएको उनले बताए ।