स्मरण शक्ति ह्रास र समाधान मानव सैजु

जीवनमा स्मरण शक्तिको ठुलो महत्व छ । मानिसको सम्पूर्ण ज्ञान तथा सीपमात्र होइन कि मानिसको हरेक विचार, आचरण, हरेक कार्य, व्यक्तिगत पहिचान तथा व्यक्तित्व आदि सबै कुरा स्मरण शक्तिमा निर्भर रहन्छ । स्मरणशक्ति बिना मानिसको सम्पुर्ण अनुभव निरर्थक हुन्छ, जीवन खाली भाँडो जस्तै हुन्छ । दैनिक दिनचर्या सानातिना सरसफाईदेखी ठुला ब्यापार ब्यवसाय सम्मको लागी समेत स्मरण शक्तिको आवश्यक हुन्छ । तर, सबै मानिसको स्मरणशक्ति एकनाश हुंदैन र सधैंभरि उस्तै पनि रहंदैन । प्रायः सबै मानिसहरूले आफ्नो जीवन कालमा कुनै न कुनै रुपमा स्मरणशक्ति गडबड भएको महसुस गर्छन् भने कतिपय मानिसहरू त बिर्सने रोगका कारणले जिउंदो लासजस्तो जीवन जिउन बाध्य हुन्छन् ।

किन घट्छ स्मरण शक्ति ? स्मरण शक्ति गडबड (कमी) हुने तथा बिर्सिने रोगका विभिन्न कारणहरू हुन्छन् । उमेर ढल्कदै गएमा तथा स्मरण शक्तिका क्रियात्मक आधार (स्मरण शक्तिका तीन क्रियाहरू हुन्छन्ः अंकन (रजिस्ट्रेसन), धारणा (रिटेन्सन) तथा पुनःस्मरण (रिकल) मा कुनै त्रुटी भएमा पनि स्मरण शक्ति कमजोर हुन्छ । जस्तो कि याद राख्नु पर्ने विषयमा राम्रोसंग ध्यान दिइएन भने त्यो विषय मस्तिष्कमा राम्रोसंग अंकन तथा धारण हुन सक्दैन, फलस्वरुप स्मरण शक्ति कमजोर हुन्छ । त्यसैगरी ठीक तरिकाले पुनःस्मरण गर्न नसकेको खण्डमा पनि स्मरण शक्ति कमजोर हुन्छ । यी स्मरण शक्ति घट्ने सामान्य कारणहरू हुन् । तर स्मरण शक्ति शिरको चोटपटक तथा अन्य शारीरिक तथा मानसिक रोगहरूका कारण पनि घट्ने गर्छ । त्यसैले सजिलोका लागि स्मरण शक्तिको कमी तथा स्मृतिलोपलाई दुई भागमा वर्गीकरण गर्न सकिन्छ ।

(१.) सामान्य विस्मृति

(२.) बिर्सने रोग (एम्नेसिया)

सामान्य विस्मृतिः मानिस बुढ्यौलीपनमा प्रवेश गरिरहंदा मानिसको स्मरण शक्ति पनि केही न केही मात्रामा घट्दै जान्छ । यो प्रायः हरेक बृद्धबृद्धाले महसुस गरेको तथ्य हो । खासगरी ४० वर्षको उमेरपछि प्रायः मानिसहरूले आफ्नो स्मरण शक्ति घटेको गुनासो गर्छन् । यस किसिमको स्मरण शक्तिको कमीले मानिसको दैनिक जीवनमा खासै असर गर्दैन । तर, बूढेसकालमा, खासगरी ६०–६५ वर्षको उमेरपछि मानिसको दैनिक जीवनमा नै पूर्णतया असर गर्ने गरी स्मरण शक्तिमा कमी आयो भने त्यो स्नायुरोग, अल्जाइमरका कारणले हुन सक्दछ । तर, अल्जाइमरले जस्तो लक्षणहरू देखाउने ९० प्रतिशत कारणहरू अल्जाइमर नभएर अन्य रोगहरू हुने गर्छन् । बिर्सने रोग (एम्नेसिया)ः बिर्सने रोग (मेमोरी लस)–लाई मेडिकल भाषामा स्मृतिलोप (एम्नेसिया) भनिन्छ । यस्तो रोग लागेको व्यक्तिले आफ्नो नाम, ठेगाना, मिति–बार, गाउँ–टोल आदि जस्ता कुराहरू बिर्सन सक्दछ । वास्तवमा बिर्सिने रोग (एम्नेसिया) पुनःस्मरण गर्ने क्षमता वा पूर्व अनुभवहरूको पहिचान गर्ने आंशिक वा पुर्ण अयोग्यता हो । एम्नेस्टिक डिस्अर्डरमा पूराना कुराहरू मात्र होइन कि नयाँ कुराहरू पनि याद राख्न कठिन हुन्छ । स्मृति लोप विभिन्न कारणहरूले हुने गर्दछ । तर यसको प्रमुख कारण मस्तिष्कमा हुने क्षति तथा खराबी हो । कोर्सकोफको संलक्षण (सिन्ड्रोम) पनि यस्तो स्मृति लोप हो, जुन भिटामिन बी १ (थाइमिन) को कमीले हुने गर्छ । मस्तिष्कमा चोटपटक लागेर हुने स्मृति लोप प्रायः स्थायी प्रकृतिको हुन्छ, तर भिटामिन बी १ को कमीले हुने स्मृति लोप, सुरुमा नै उपचार गरेको खण्डमा निको हुन्छ । स्मृति लोप दुई किसिमका हुन्छन् । (१) एन्टरोग्रेड एम्नेसिया (२) रेट्रोग्रेड एम्नेसिया । एन्टरोग्रेड एम्नेसियामा नयाँ सूचना सम्झना राख्ने क्षमता ह्रास हुन्छ, यस प्रकारको एम्नेसिया प्रायः प्रोग्रेसिभ डिमेंसियामा देखा पर्छ भने रेट्रोग्रेड एम्नेसियामा पुरानो कुराहरू याद गर्न कठिन हुन्छ । सबै किसिमका मनोजन्य एम्नेसिया रेट्रोग्रेड प्रकृतिका हुन्छन् । यस्तो एम्नेसिया कुनै मनोवैज्ञानिक रूपमा गहिरो प्रभावका कारण पैदा हुन्छ । मनोजनित एम्नेसियालाई फङ्गसनल एम्नेसिया पनि भनिन्छ । यसलाई डीएसएम–फोर–टीआर तथा आईसीडी टेनले डिस्सोसियटिभ डिसअर्डर अन्तर्गत वर्गिकृत गरेको छ ।

यस्ता समस्यासंग समबन्धित बिभिन्न लेख तथा चलचित्रहरू बनाएका छन् । चर्चित अंग्रेजी फिल्म ‘मेमेन्टो’ मा नायक लियोनार्ड सेल्बी (गाइ पीअर्स) र सोही फिल्मको रिमेक चर्चित हिन्दी सिनेमा ‘गजिनी’ मा नायक सञ्जय सिंघानिया (आमिर खान) लाई टाउकाको चोटले गर्दा एन्टरोगे्रड एम्निेसिया (सर्टटर्म मेमोरी लसरअल्पकालिन मेमोरीको कमी) बाट पीडीत देखाइएको छ । यस्तो अवस्थामा अल्पकालीन मेमोरीबाहेक अन्य संज्ञानात्मक (कग्निटिभ) क्षमता भने प्रायः सामान्य हुन्छ । यसैगरी प्रकाश थापाद्वारा निर्देशित नेपाली चलचित्र जीवन रेखामा नायिका उमा (मिनाक्षी आनन्द) तथा शम्भु प्रधानद्वारा निर्देशित नेपाली चलचित्र ‘सपना’मा नायिका सपना (करिश्मा केसी) लाई टाउकाको चोटले स्मृति लोप भएको देखाइएको छ । यी दुवै चलचित्रहरूमा नायिकाहरूलाई टाउकाको चोटपछि पूरानो कुनै कुराहरू याद हुँदैन । यो रेट्रोग्रेड एम्निेसियाका उदाहरण हो । तर यी चलचित्रहरूमा देखाएझैं पुनः टाउकाको चोटले स्मृति फर्किदैने सम्भावना भने बिल्कुलै रहँदैन । स्नायु रोगः डिमेंसिया बृद्धावस्थामा (६० वर्षभन्दा बढी) हुने मानसिक क्षमताको ह्रास, जसले गर्दा व्यक्तिको स्मरण शक्ति, सुझबुझ, सोंचविचार, नयाँ कुरा सिक्ने क्षमता तथा नयाँ परिस्थितिमा ढल्ने योग्यता आदि यति धेरै नै बढेर जान्छ भने त्यो डिमेंसियाको लक्षण हो । सामान्यता उमेरसंगै व्यक्तिको मानसिक तथा शारीरिक क्षमताहरूमा कमी आउने भएता पनि यस्तो कमीले मानिसको आमजीवनमा कुनै ठूलो असर गर्दैन । तर डिमेंसियाले मानिसको दैनिक जीवनमा नै पुर्णतया असर गर्न थाल्दछ । हिन्दी चलचित्र ‘ब्ल्याक’ मा अमिताभ बच्चनलाई यही रोगबाट पीडित देखाइएको छ । डिमेंसिया विभिन्न किसिमका हुन्छन् । जस्तैः अल्जाइमर डिमेंसिया, हन्टिगंटन डिमेंसिया, भास्कुलर डिमेंसिया, एचआईभीको कारणबाट हुने डिमेंसिया, टाउकाको चोटपटकबाट हुने डिमेंसिया, पार्किन्सन डिमेंसिया, तथा पिक डिमेंसिया आदि । मेमोरीको कमी डिमेंसियाको एक प्रमुख लक्षण हो । तर सबै डिमेंसियामा मेमोरी कमी हुन्छ भन्ने छैन । स्मरण शक्ति घट्ने अन्य कारणहरूः स्मरण शक्ति घटाउने शारीरिक रोगहरू जस्तै ट्युमर, कलेजो तथा मिर्गौलाको रोग, थाइरायड ग्रन्थीको रोग, हाइपर–हाइपोकैल्केमिया, भिटामिन बी १ को कमी, भिटामिन बी १२ को कमी, आयोडिनको कमी, थायराइड ग्रन्थीको समस्या, रक्ताल्पता, नर्मल प्रेसर हाइड्रोसेफलस, औषधिको नकारात्मक प्रभाव, संक्रमण, मुटु र छातीको रोग, दृष्टि तथा श्रवण दोष, हाइपर–हाइपोएटेंमिया, मद्यपान तथा दुव्र्यसन, सिफलिस, मधुमेह आदि तथा मानसिक रोगहरू जस्तैः डिप्रेसन तथा आत्तिने रोग, मानसिक थकान (न्युरेस्थेनिया), आत्मविस्मृति (फ्युग), तीव्र दुविधा, मानसिक मंदता तथा मस्तिष्कीय चोटपटक, स्नायुमण्डलमा सङ्क्रमण र अन्य स्नायुरोगहरूका कारण पनि डिमेंसिया देखा पर्छ, मानिसको स्मरण शक्ति कमजोर हुने तथा घट्ने गर्छ ।

यतिमात्र होइन कि गलत जीवनशैलीका कारणले पनि स्मरण शक्ति घट्ने गर्छ । स्मरण शक्ति कमजोर हुनुको लगभग २० प्रतिशत कारण त मानिसको गलत जीवनशैलनै मनिन्छ । उपचार र रोकथामः कतिपय बिर्सने रोग स्थायी प्रकृतिका हुन्छन् भने अधिकांश बिर्सने रोग उपचारबाट ठीक हुन्छन् । जस्तो कि डिपे्रसिभ सिउडोडिमेंसिया, डिप्रेसनको उपचारपछि ठीक हुन्छ । त्यस्तैगरी मद्यपानका कारण भिटामिन बी १ को कमीले हुने एम्नेसिया पनि भिटामिन बी १ पूर्तिपछि निको हुन सक्दछ । यसैगरी डिसोसिएटिभ एम्निेसिया लगायत माथि उल्लेखित अधिकांश रोगहरू औषधोपचारपछि ठीक हुन्छन् । यस्ता रोगहरू निको भएपछि स्मरण शक्ति पनि सामान्य हुन्छ । यसका साथै स्मरण शक्ति पुर्नस्थापना कार्यक्रमले पनि बिर्सने रोगको उपचारमा ठुलो टेवा पुर्याउने गर्छ । त्यसैले आफू तथा आफ्ना परिवारका कुनै सदस्यमा यदि बिर्सिने रोगको लक्षण देखापरेको छभने तुरुन्त चिकित्सकसंग सम्पर्क गर्नु बुद्धिमानी हुन्छ । समयमै उपचार गरेको खण्डमा बिर्सने रोग ठीक हुन्छ, ठीक नभए पनि नियन्त्रण गर्न सकिन्छ । यसका साथै निम्नलिखित कुराहरूप्रति विशेष ध्यान दिने होभने बिर्सने रोग तथा डिमेंसियाको रोकथाम गर्न सकिन्छ ।

(१.) रक्तचाप सामान्य राख्ने (२.) कोलेष्ट्रोल नियन्त्रण गर्ने (३.) होमोसिस्टीन सामान्य राख्ने । यदि होमोसिस्टीनको मात्रा बढ्यो भने पनि हृदयघात, स्ट्रोक, स्मृतिलोप तथा अल्जाइमर हुने खतरा बढ्छ । (४.) शिरलाई चोटपटकबाट बचाउने (५.) आँखा तथा कानलाई ठीक राख्ने । आवश्यक परेको खण्डमा चस्मा आदिको प्रयोग गर्ने । (६.) व्यायाम गर्ने, सधैं सन्तुलित आहार लिने । (७.) मस्तिष्कको प्रयोग गर्ने । (८.) सामाजिक रूपमा सक्रिय रहने । (९.) तनाव तथा डिप्रेसन आदिबाट बच्ने । (१०.) स्वस्थ जीवनशैली अपनाउने । मानिसको जीवनमा जीवनशैलीको ठुलो महत्व छ । जीवनशैली ठीक राख्ने होभने अधिकांश रोगहरू हुन पाउदैनन्, कतिपय रोगहरू त उचित जीवनशैलीबाट नै ठीक हुन्छन् । यदि यस्ता रोगहरू ठीक भएभने स्मरण शक्तिले पनि ठीकसंग आफ्नो कार्य गर्न समर्थ हुन्छ । त्यसैले मस्तिष्कको सबैभन्दा महत्वपुर्ण कार्य स्मरण शक्तिलाई सधैं तरोताजा राख्न मानिसले आफ्नो जीवनशैली ठीक राख्नुपर्छ । सधैं सन्तुलित भोजन गर्ने, शारीरिक तथा मानसिक व्यायाम गर्ने, सधैं सकारात्मक सोच राख्ने तथा सकारात्मक कार्यहरू गर्ने हो भने डिप्रेसन लगायतका अनेकौं रोगहरूबाट समेत जोगिन सकिन्छ । बूढेसकालसम्म स्मरण शक्ति ठीक राख्न सकिन्छ । के गर्ने ?ः यस्तो समस्याबाट बच्नको लागि दैनिकको कार्यतालिका बनाउन सकिन्छ । आफ्नो समयअनुसार बिहान–बेलुकी घुम्ने बानी बसाल्नुपर्छ । कुनै पनि कुरा याद राख्नका लागि रुची लिनुपर्छ । कतिपयले कामलाई बढी महत्व दिएर निद्रालाई बेवास्ता गर्छन् । यसले स्मरणशक्तिलाई कमजोर बनाउनका लागि भूमिका खेल्छ । त्यसैले पुरा निद्रा सुत्नुका साथै विगतका कुराहरुलाई क्रमबद्ध तरिकाबाट याद गर्ने बानीको पनि विकास गर्नुपर्छ । यस्तो गतिविधि प्रत्येक हप्ता दोहोर्‍याउँदा राम्रो हुन्छ । योग अभ्यास, ध्यान, प्राणायाम जस्ता गतिविधिले स्मरणशक्ति कमजोर हुनबाट बच्न सकिन्छ । के नगर्ने त ?ः धेरैपटक एउटै कुरा याद गर्ने प्रयास गर्नु हुँदैन । सँधै आफ्नो स्मरण शक्तिको विषयलाई लिएर चिन्तित बनिरहनु हुँदैन । रेडियो, टेलिभिजन, पत्रपत्रिकामा आउने स्मरणशक्ति बढाउने विज्ञापन हेरेर औषधी खोज्न दौडिनु हुँदैन । राती अबेरसम्म पढ्नु हुँदैन । सकारात्मकभन्दा बढी नकारात्मक सोच्ने गर्नु हुँदैन । खानपानमा सतर्कताः हलुका पचाउन सजिलो, शन्तुलित र पौष्टिक खानेकुरा खानुपर्छ । खानाको समयतालिका दैनिक एउटै हुनुपर्छ ।

मौसमअनुसारको हरियो सागपात, सलाद, बन्दा, काउली, ब्रोकाउली, गान्टेमुला, गाजर, गोलभेंडा, चुकन्दर, पालुंगो लगायतको सेवनले स्मरणशक्ति बलियो बनाउन भूमिका खेल्छ । अन्डा, माछा, दुध, दही, मोही, चीज, मख्खन आदिको पनि नियमित उपभाग गर्दा फाइदा हुन्छ । दैनिक कम्तिमा तीन लिटर शुद्ध पानी पिउनुपर्छ । फलफुलमा आँप, स्याउ, सुन्तला, स्ट्रबेरी, जामुन, भुईकटहर, केरा आदि खानाले मानसिक स्वास्थ्यलाई निकै फाइदा पुग्छ । के खानु हुँदैन ?ः तारेको, भुटेको, पिरो, मसालेदार खानेकुराबाट सकभर टाढा रहने । चिया र कफीसितको संगत पनि छोड्ने । धुम्रपान त गर्नै हुँदैन । तमाखु, गुट्खा, गाँजा, भाँङ, मदिरा आदिको सेवनले विभिन्न रोग त निम्त्याउँछ नै स्मरणशक्तिलाई पनि कमजोर बनाउने काम गर्छ ।