संकटमा कालीगण्डकीः ठेकदार देखि प्रदुषदणको चपटेमा

म्याग्दी,६ बैशाख – दुर्लभ शिला शालीग्राम पाइने विश्वकै एकमात्र नदी कालीगण्डकीको मौलिक स्वरुप नासहुँदै गएको छ ।कालीगण्डकी नदीमा डोजर र स्काभेटरको रजाइँ छ । बेनी बजार संरक्षणका नाममा केही माफियाहरु नदीको दोहन गर्न व्यस्त छन् । हिन्दूधर्मावलम्वीहरुका लागि पूजापाठ गर्ने थलो तथा धार्मिक आस्था र विश्वास वोकेको नदीको साथै शालीग्राम पाइने विश्वकै एकमात्र नदीको रुपमा कालीगण्डकी नदीलाई लिने गरिन्छ । धार्मिक , सामाजिक र सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण एवम् वातावरणीय हिसावले संवेदनशील नदी कालीगण्डकी हेर्दाहर्दै कुरुप हुँदै गएको छ भने नदीको अवैध रुपमा दोहन बढ्दै गएपछि तटीय क्षेत्रहरु संरक्षित होइन झन जोखिम युक्त बन्दै गएका छन् ।

प्राकृतिक रुपमा नै नदीमा भएको जैविक , भौतिक तथा रासायनिका परिवर्तनका कारण आफ्नो मौलिक गुण नष्ट गरी अक्सिजन घुमाउने क्षमतामा आएको ह्रास तथा जलीय वनस्पतीको प्रकाश संश्लेषण प्रक्रियामा उत्पन्न विकराल समस्यावाट कालीगण्डकी नदी ग्रस्त छ । झन त्यसमाथि पनि जथाभावी कालीगण्डकीमा डोजर र स्काभेटरजस्ता साधनहरु प्रयोग गरी डुङ्गा र बालुवा निकाल्दा कालीगण्डकीको मौलिक स्वरुप त नष्ट भएको छ नै बेनी बजार लगाएत तटीय क्षेत्रहरुमा जोखिम बढ्दै गएको वातावरणविद्हरुले बताएका छन् ।

कालीगण्डकी नदीको बेनी खण्डमा दैनिक जसो स्काभेटर प्रयोग गरेर ढुङ्गा र गेगरहरु निकालिदै छ । कालीगण्डकीको बेनीतर्फको किनारमा बेनी बजार संरक्षणका लागि ग्यावियन पर्खाल लगाउने काम चलिरहेको छ । यसैको बहानामा कालीगण्डी नदीमा डोजर र स्काभेटर पसेका छन् । नदीको धार नै परिवर्तन गरेर ढुङ्गा र गेगर निकालिदै छ । नगरपालिका,जिल्ला समन्वय समिति र स्थानीय प्रशासन टुलुटुलु हेरेर वसिरहेको मात्र छ, नदी संरक्षणका लागि योजना बनाउनुको त कुरै छाडौं गैरकानुनी रुपमा नदीको विनास भैरहदा समेत स्थानीय सरोकारवाला निकायले केही गर्न सकेको छैन ।

जैविक प्रदुषणको चपेटामा कालीगण्डकी
हिन्दू धर्मावलम्वीहरुले भगवान विष्णुको अंशका रुपमा पूजा आराधना गर्ने र विश्वमै दुर्लभ शालिग्राम शिला पाइने विश्वको एकमात्र नदी काली गण्डकी जैविक प्रदूषणको चपेटामा परेको छ । हिमालयवाट हिउँ पग्लेर मुक्तिनाथको स्पर्श गर्दै विभिन्न खोला समेटेर वग्दै आएको कालिगण्डकी वढ्दो शहरीकरण र जलवायु परिवर्तनका कारण मानवीय र प्राकृतिक दुवैतर्फवाट प्रदूषित वन्दै गएको छ ।
प्रकृतिमा देखिएको असामयिक परिवर्तन र मानवजन्य प्रदूषणका कारण पानीमा अक्सिजनको मात्रा कमी हुन गई कालीगण्डकी नदीको जलचक्र प्रणाली प्रभावित वनेको सरोकारवालाहरुले वताएका छन् । यसले गर्दा नदीको अस्तित्व समेत खतरामा परेको वातावरविद्हरुको भनाइ रहेको छ ।