जग्गा अभावको कारण सभाहल बनाउने काम सपनामा सिमित


बागलुङ, ७ वैशाख – उपयुक्त जग्गा अभावका कारण बागलुङ बजारमा निर्माण गर्ने भनिएको बहुउद्देश्यीय सभाहल निर्माणको काम रोकिएको छ । गत असार २५ गते बहुउद्देश्यीय सभाहल निर्माणका लागि बोलपत्र आव्हान भएपनि उपयुक्त जग्गा प्राप्त नभएका कारण बोलपत्रनै खुल्न नसकेको हो । बागलुङ नगरपालिकाको पहलमा शहरी विकास मन्त्रालयले बजेटको व्यवस्थापन गरेर बहुउद्देश्यीय सभाहल निर्माणको कामका लागि बोलपत्र आव्हान गरेको थियो । बहुउद्देश्यीय सभाहल निर्माणका लागि आवश्यक साढेसात रोपनी जग्गा बागलुङ नगरपालिकाले उपलव्ध गराउनुपर्ने भएपनि जग्गा अभावका कारण बजेटनै फ्रिज हुने अवस्थामा पुगेको हो ।

७ सय ५० जना क्षमताको उक्त सभाहल निर्माणलाई बिभिन्न दलका नेताहरुले चुनावी एजेण्डाको रुपमा प्रस्तुत गरेका थिए । स्वर्गिय पर्यटन मन्त्री रविन्द्र अधिकारी संसदिय विकास समितिको अध्यक्ष हुँदा बागलुङमा बहुउद्देश्यीय सभाहल निर्माण गर्ने घोषणा गरेका थिए । विकास समितिकै सदस्य रहेका बेला तत्कालिन संबिधानसभा सदस्य प्रकाश शर्मा पौडेलले पनि यसको लागि पहल थालिने घोषणा गरेका थिएभने स्थानीय तहको निर्वाचन पूर्वको एक कार्यक्रममा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले समेत बहुउद्देश्यीय सभाहल निर्मााणका लागि सक्दो सहयोगको प्रतिबद्धता जनाएका थिए । जग्गा अभावकै कारण बिस्तृत परियोजना प्रस्ताव र प्राबिधिक स्टमेट समेत तयार रहेको यो योजना नबन्ने अबस्थामा पुगेको हो ।

सुरुमा घरेलु तथा साना उद्योग विकास समितिको जग्गा उपलव्ध गराउने गरी स्थानीय तहमा सबै प्रक्रिया पुरा गरेर उद्योग मन्त्रालयलाई जग्गा उपलव्ध गराउन आग्रह गरिएको भएपनि मन्त्रालयले सहमती नदिएको नगरप्रमुख जनकराज पौडेलले बताए । घरेलुको जग्गा नपाएपछि नगरपालिकाले अन्य विकल्पको खोजी गरेको भएपनि उपयुक्त जग्गा फेला परेको छैन । ‘तत्काल जग्गा खरिद गर्न सक्ने अवस्थामा नगरपालिका छैन्’ नगरप्रमुख पौडेलले भने ‘हाम्रो मातहतमा कुनैपनि सरकारी वा सार्वजनिक जग्गा नभएका कारण सभाहल निर्माणका लागि उपलव्ध गराउन नसकिएको हो ।’
घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय रहेको जग्गा नगरपालिकालाई उपलव्ध गराउनका लागि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको सरकारी जग्गा प्राप्ति समितिले २०७५ साल कार्तिक ७ गते निर्णय गरेर उद्योग मन्त्रालयलाई सिफारिस गरेको थियो । जिल्ला समन्वय समितिका प्रमुख संयोजक रहेको स्थानीय तहमा जग्गा हस्तान्तरण उप–समितिले २०७५ साल असार २८ गते गरेको निर्णयका आधारमा उक्त समितिले सिफारिस गरेको भएपनि उद्योग मन्त्रालयले हालसम्म निर्णय गर्न नसकेको हो ।

घरेलु तथा साना उद्योग विकास समितिलाई उपयुक्त जग्गाको व्यवस्थापन गरेर स्थानान्तरण गरेपछि मात्रै उक्त कार्यालय रहेको जग्गा प्रयोग गर्न सकिने सर्त मन्त्रालयले राखेको नगरप्रमुख पौडेलले बताए । जिल्ला तहमाा खारेजीमा परेका र खाली रहेका सरकारी जग्गा सबै केन्द्र र प्रदेश सरकारकै मातहतमा रहेकाले घरेलुलाई कुनै विकल्प दिन नसकिएको उनको भनाई थियो ।
बागलुङ नगरपालिका–४ उपल्लाचौरमाा आधुनिक बसपार्क निर्मााण हुने भएपछि अहिले सञ्चालनमा रहेको चिप्लेँटी बसपार्कको जग्गा नगरपालिकाले दोस्रो बिकल्पमा राखेको थियो । थिप्लँेटी बसपार्कको जग्गा शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङको प्राबिधिक समुहले भौगोलिक हिसाबमा उपयुक्त नरहेको भनेकाले प्रयोग गर्न नसकिएको बनपा–१४ का वडा अध्यक्ष चक्रबहादुर खत्रीले बताए ।