जिल्ला भरी बिजुली बाल्ने योजना

लघुजलविद्युतको भर पर्नुपर्ने बाध्यता हटाउने अभियान

बागलुङ, ७ वैशाख – नेपाल विद्युत प्राधिकरणको बागलुङ बितरण केन्द्र र बितरण प्रणाली सुदृढीकरण आयोजनाले दुई बर्षभित्र जिल्लाभरी बिजुली बाल्ने योजना ल्याएको छ । राष्ट्रिय प्रसारणको लाईन सदरमुकाम र नजिकका क्षेत्रमा मात्र केन्द्रीत भएको गुनासो बढेपछि यो बर्षदेखि बिस्तार योजना शुरु भएको हो । पश्चिम बागलुङमा लघुविद्युतको भर पर्नुपर्ने बाध्यता हटाउन यो अभियान उपयोगी बन्ने बताइएको छ । गलकोटदेखि पश्चिम तर्फका सबै नगर र गाउँपालिकामा स्थानीय लघु जलविद्युतको भरमा बिजुली बालिएको थियो । यसरी बालिएको बिजुलीबाट उद्योगको काम गर्न नसकिएपछि गुनासो बढेको थियो । प्राधिकरणका अनुसार चालु बर्ष भित्रै बागलुङको ढोरपाटन नगरपालिका र बडिगाड गाउँ पालिकाका केही स्थानमा बिजुली बाल्ने योजना बनाएर काम थालिएको हो ।

पहिलोपटक बुर्तिवाङ मात्र लगेपनि बिजुलीलाई बुर्तिवाङ हुँदै ढोरपाटन पु¥याउन सब स्टेशन निर्माणको काम समेत शुरु भएको नेपाल बिद्युत प्राधिकरण बागलुङ बितरण केन्द्रका प्रमुख कपिल पाण्डेले बताए । बुर्तिवाङ स्थित रिनाममा १३२ केभी प्रसारण लाईन र सब स्टेशन निर्माणका लागि नगरपालिकाले जग्गा उपलब्ध गराएकोले वितरण प्रणाली सुदृढीकरण आयोजनाले काम थालेको हो । चालु बर्षभित्रै हरिचौरमा निर्माणाधिन सबस्टेशन सम्पन्न भएपछि बुर्तिवाङसम्म लाइन बिस्तार संभव हुने उनले बताए । बुर्तिवाङको सबस्टेशन भने केही बर्षभित्र बन्नेछ । सदरमुकाम देखि बिजुलीको तार तान्दा ६० किमीभन्दा टाढा पर्ने भएकोले बिजुली नबलने भएपछि हरिचौरको सबस्टेशनबाट तान्ने व्यवस्था मिलाईएको पाण्डेले बताए । हरिचौरमा ११ केभीको सबस्टेशन सम्पन्न हुने क्रममा छ । यो स्टेशन निर्माण भैसकेपछि लघु विद्युतकै भरमा बसेका दुदिलाभाटी सहित मल्म र कांडेवासमा पनि बिद्युतीकरण गरिनेछ । केही समयअघि कान्तिपुर दैनिकले जिल्लाको अधिकांस स्थानीय तह लघु विद्युतकै भरमा भन्ने समाचार प्रकाशित गरेको थियो ।

ढोरपाटन नगरपालिकाले सबस्टेशनका लागि जग्गा र नगरभित्रको बिद्युतीकरणमा साझेदारी गर्ने भएपछि काम शुरु भएको हो । असार सम्म बुर्तिवाङ सम्म ४ सय पोल गाडेर तार टागिसकेपछि बजार भित्रको काममा नगरपालिकाले काम गर्ने नगरप्रमुख देवकुमार नेपालीले बताए । ‘पुरै काम भ्याउने बजेट त हामी सक्दैनौं, तर प्रारम्भिक प्रकारको काममा सहयोग गर्ने भनेका छौं’ नेपालीले भने, ‘नेपाल बिद्युत प्राधिकरणसँग कुरा भएकोले छिटै काम हुने आसा गरिएको छ ।’ व्यवसायीहरु पलायन हुन थालेपछि बिद्युतीकरणको प्रयास थालिएकोमा प्राधिकरणले साथ दिएको उनले बताए । बुर्तिवाङमा पनि बढीमा दुइ बर्षभित्र सबस्टेशन बनाईसक्ने लक्ष बनाइएको नेपालीले बताए । केन्द्रकै अगुवाईमा सदरमुकाममा नाङगो तार हटाउने काम शुरु भएको छ । ‘चालु बर्षभित्र साँढे १७ किमी नाङगो तार हटाएर केबुलीकरण गरिसक्न काम भएको छ’ पाण्डेले भने, ‘त्यसका लागि १ करोड २० लाख रुपैयाँ केन्द्र मार्फत काम भएको छ ।’ त्यतिनै रकम खर्चेर आयोजनाले पनि केबुलीकरणको काम थालेको उनले बताए ।