राजभण्डारीको योगदानमा आधारित व्यक्तित्व र योगदान नामक ग्रन्थ प्रकाशन हुने

बागलुङ, ७ वैशाख – समाजसेवी लालचन्द्र राजभण्डारीको योगदानमा आधारित व्यक्तित्व र योगदान नामक ग्रन्थ प्रकाशन गरिने भएको छ । धवलागिरि साहित्य प्रतिष्ठानले गन्थ प्रकाशन गर्ने तयारी पछि राजभण्डारीको योगदानबारे जानकार सबैलाई लेख रचना लेखिदिन समेत आग्रह गरेको अध्यक्ष काजी रोशनले बताए । १९९९ सालमा बागलुङमा जन्मेका राजभण्डारीले जिल्लाकै पहिलो बिद्यालय बिद्यामन्दिरबाट २०१६ सालको एसएलसी उत्तीर्ण गरेका थिए ।

सोही बिद्यालयमा २०१८ मा अध्यापन पनि गरेका राजभण्डारीले प्रगतीशिल पत्रपत्रिका, पुस्तक र धार्मिक पुस्तकहरुको बिक्री गर्ने पसल संचालन समेत गर्दै आएका छन् । पिता तेजबहादुर र माता रत्नदेवीका पुत्र राजभण्डारीका २ छोरा र २ छोरी छन् । दुइ छोरा राजेश र मुकेश नेपाल पत्रकार महासंघ बागलुङका पूर्व अध्यक्षहरु हुन् । अध्ययन र अध्यापनमा रुची भएका राजभण्डारीका छोराहरुले पनि पत्रकारिताको पेशा रोजेका थिए । दर्जनौं संघसंस्थामा आवद्ध भएका राजभण्डारी नेवा मुक्तिमोर्चा बागलुङका र नेपाल भाषा मंकाखलका संस्थापक अध्यक्ष हुन् ।

त्यस्तै उनी बिद्यामन्दिर मावि महायज्ञ आयोजक समितिका अध्यक्ष, भवन निर्माण समितिको अध्यष, धौलागिरी बाङमय प्रतिष्ठानको अध्यक्ष र बागलुङ उद्योग बाणिज्य संघका समेत अध्यक्ष भैसकेका छन् । उनले मेरो छक्कु कविता संग्रह पनि प्रकाशित गरेका छन् । दर्जनौ पुरस्कार र सम्मान पाएका राजभण्डारी ७६ बर्षको उमेरमा पनि सक्रिय छन् । अहिले उनले सामाजिक सेवा लगायतका काममा लागिरहेका छन् ।