रुपा हत्याकाण्ड र मनका कुरा !

केहि दिन अघि बागलुङमा यौटा साक्षात्कार कार्यक्रमको आयोजना भयो । त्यो कार्यक्रममा बागलुङका प्रहरी प्रमुखलाई बोलाईएको थियो । उनले जिल्लाको शान्ति सुरक्षाको बारेमा जिज्ञासा राख्ने सबैलाई सबै बस्तुस्थितिका बारेमा प्रकाश पारे । एउटा तथ्याङ्कको पोको पनि फुकाए । ६५ जना दुर्व्यसनि रहेछन बागलुङमा । प्रहरीको जनशक्तिमा १५६ जनाको कमि रहेछ । १० जनाको प्रहरी युनिटलाई २५ जनाको बनाउने योजना रहेछ । बहुविवाहमा बढोत्तरी नै रहेछ । बलात्कारका घटनामा पनि कमि आउन सकेको रहेनछ । सबै बताए प्रहरी प्रमुखले । त्यसो हुँदाहुँदै पनि समग्रमा जिल्लाको शान्तिसुरक्षाको अबस्था बलियो नै भएको उनले बताए । उपस्थित भएकाले यी सबैकुरा सुने । तर चुरो कुरोमा कोही पसेन । न भन्ने पसे न त सोध्ने नै पसे ।
०७१ भदौ १२ गते महिलाहरुको पर्व हरितालिका तीजको दिन थियो । त्यहिदिन एउटी चेली माईति मानेर फर्कँदै गर्दा दिनदहाडै राजमार्गको बीच सडकमा उनको हत्या भएको थियो । ती दिनका फेसबुक पेजमा त्यो विभत्स हत्याको फोटो भाईरल बनेर देखापरेका थिए । बागलुङबजार यो घटना सुनेर स्तब्ध बनेको थियो । दिउसै सन्नाटा छाएको थियो । अबको चार महिनामा चारवर्ष पुग्दैछ यो घटना घटेको । अस्तिको साक्षात्कार कार्यक्रममा स्वयं प्रहरी उपरीक्षक (प्रहरी प्रमुख) लाई औपचारिक पोशाकमा बोल्न लगाउँदा यो घटनाको बारेमा त्यतिबेला कतैबाट एकशब्द पनि नउठ्नु दुखद हो । आवाज विहिनहरुको आवाज बनेकाहरु नै ठाउँमा बोल्न डराए । प्रश्न गर्न मन लाग्छ, डराउनु पथ्र्यो किन ? जेहोस, त्याहाँ नभएपनि यहाँ आवाज निकाल्ने सुअबसर मिलाई दिएकोमा धौलागिरी सञ्चार क्लबको समुह धन्यवादको पात्र बनेको छ ।
त्यस्तो दर्दान्त घटनाको बारेमा आवाज उठ्न कञ्चनपुरको निर्मला हत्या प्रकरण हुनुपर्ने बागलुङ बनेको छ । अन्य जिल्लामा मसिना कुराहरुले पनि भीमकाय रुप लिन्छन । बागलुङमा भीमकाय घटना पनि कमिलाको जुनीमा पर्छन । अपराधका घटनालाई राजनीतिको जामाले बेर्छन । पिडितका आफन्त पशुपति शर्माको गीतले भनेका कार्यकर्ता बनेर टाङमुनी पुच्छर लुकाउँछन । बोल्नु पर्नेले ठाउँमा बोल्दैनन् ।
यस्तै परिवेषमा धेरै फेरिए बागलुङका प्रहरी प्रमुख तर कसैले यसको अपराधि पत्ता लगाउन सकेको छैन । यस अघिका प्रहरी प्रमुखले उनान्सय प्रतिशत हत्याराको नजिक पुगेका छौं भन्थे, सरुवा भएर गैहाले । उनी सरुवा भएर गएसंगै रुपा गौतमको हत्याकाण्ड पनि संगसंगै गएको भान सबैलाई परेको हो । तर कुनैपनि संगठन नेतृत्व भन्न हुन्नन, अवच्छिन्न हुन्छन् । तत्काल अर्को नेतृत्व बागलुङले पाएकै छ । यो नेतृत्व घटनाका बारेमा निरन्तर लागि परिनै रहनेछ । कठोर ढंगले लागोस शुभकामना छ ।
त्यो साक्षात्कार कार्यक्रममा कहिंकतैबाट एक शब्दपनि उच्चारण भएन । जिज्ञासु नै नभएपछि जिज्ञासा मेटाउन पनि परेन । उक्त हत्यामा संलग्न अपराधि आजसम्म पत्तालाग्न सकेको छैन । अपराध अनुसन्धानमा समय लाग्छ तर पिडितका आवाज बोल्नेहरुले धर्म छोड्नु हुँदैन । साथै सरोकारवालासंग न्यायका लागि ढोका घच्घचाउन छोड्नु हुँदैन । त्यो कार्यक्रममा हत्याकाण्डको अनुसन्धान र खोजविनका बारेमा प्रहरीको के कति सकृयता बढाएको छ भन्ने प्रश्न उठाई दिएको भए प्रहरी अझ अग्रसर हुन बल पुग्थ्यो । प्रश्नै लुकेपछि प्रहरीले उत्तर दिन पनि जरुरी भएन । प्रश्नकर्ताहरुले नै प्रश्न नउठाईदिए पछि प्रहरी प्रमुखलाई पनि जवाफदेही हुनै परेन, हाईसञ्चै भयो । त्यहाँ त्यसो भएपनि हत्याको अनुसन्धान प्रकृयामा प्रहरी लागेकै छैन भन्नू गलत हुन्छ । तताउने काम यस्ता अन्तरकृयात्मक कार्यक्रमले नै गर्ने हो । यो क्षणको त्यो माहौल हेर्दा लाग्छ, ’रुपा गौतम हत्याकाण्ड’ मा सबै तात्नु पर्नेमा झनै सेलाउँदै गएको देख्दा थप रहस्यमय त बन्दै छैन ? भन्ने प्रश्न भने खडा गरेको छ ।
बागलुङ आएका नयाँ प्रहरी प्रमुख (प्रहरी उपरीक्षक) कृष्णहरि शर्मा पोखरेल दाङबाट सरुवा भएर आएका हुन । दाङमा रहँदा पोखरेलले प्रहरीको चेन अफ कमाण्डको वास्तै नराखि प्रजिअले प्रहरी परिचालन गरेको देखेर आजित भैसकेका थिए । उनै प्रजिअसंग बेमेल भएकै कारण प्रजिअ आँफैले शक्तिकेन्द्र धाएर सरुवामा परेका पोखरेल आजका बागलुङका प्रहरी ईन्चार्ज हुन् । यिनै कर्तव्यनिष्ठ प्रहरी प्रमुखबाट त्यस्ता घोर अपराधिलाई पत्ता लगाएर न्यायको कठघरामा उभ्याउन सक्छन भन्ने आशा बागलुङले राख्न सक्छ । यस्तो पृष्ठभुमीको प्रहरी नेतृत्व पाएको बागलुङले साक्षात्कारमा उपस्थित कसैले पनि रुपा गौतम हत्याकाण्डका बारेमा प्रश्न उठाउन त्यति ठूलो ’आँट’ राख्न पर्ने थियो र ? सहजै राख्न सकिन्थ्यो । समाजका विकृति विसंगति मौलाउन नपाउन भनेर संधै सूचना बाहिर आउनु पर्छ । राज्यका संयन्त्रहरु नै दिग्भ्रमित बने भनेपनि समाजको जागरुक र चेतनशील पक्षले बारम्बार औंल्याई दिनु पर्छ । तबमात्र संबन्धित निकायलाई कामगर्न सजिलो पर्छ । यो ध्येयका साथ उठेका आवाजलाई प्रहरीले पनि गम्भीर ढङ्गले लिनु पर्दछ । र यस्ता उठेका विषयलाई राज्य संयन्त्रले आदेश संझनु पनि हुँदैन । प्रहरीको वर्दी देश र जनताको लागि हो । वर्दीधारी प्रहरीसंग अपराधि मात्रै काँप्छ, निरपराध व्यक्ति काँप्नै पर्दैन । प्रहरीको मन्त्रै पनि छ नि ’प्रहरी मेरो साथी,मुस्कान सहितको प्रहरी !’ अनि समाजिक अपराध र विकृतिका बारेमा के भैराखेको छ ? भन्ने प्रश्न किन नसोध्ने ?
यहि कार्यक्रमले एउटा तथ्यांक बाहिर ल्याएको छ । ६५ जनाको दुब्र्यसनीको समुह देखाएको छ । यो दुब्र्यसनी समूह तयार गर्नेहरु उत्तिकै अपराधि हुन जति रुपाको हत्यारा हो । लाखौंको समाजमा पाँच छ दर्जनको संख्या नगण्य होला तर यिनलाई समयमै निर्मुल नपार्ने हो भने लाखौंको समाजमा असाध्य रोगले कहिल्यै छोड्ने छैन । दुब्र्यसनीको जालो ६५ जनामा मात्रै सिमित नहुन सक्छ । यो जिल्लाको मात्रै समस्या नबनेर देशव्यापी रुपमा विकराल छ । यसको जालो बिच्छ्याउनेहरु दुब्र्यसनी होईनन सुरब्यसनि हुन । दुब्र्यसनीहरु बेसुरमा लाग्छन तर सुरव्यसनिहरु राज्यका निकायमा समेत जालो बिच्छ्याएर दुई नम्वरी धन्दामा माहिर हुन्छन । यसको मुहान खोज्न प्रहरी नै लाग्नु पर्दछ । ठुल्ठुला शहरमा अड्डा जमाएर बस्ने सुरब्यसनिहरुलाई ठेगान नलगाए सम्म लागुपदार्थमा रुमल्लिएका कलिला युवाहरुलाई बचाउन सकिन्न । आँफै निम्तो दिएर पल्काउने र पछि एडिक्ट बनाउने सुरव्यसनिहरुको अखडा ध्वस्त नबनाएसम्म जिल्लामा दुब्र्यसनीहरुको निर्मुल हुँदैन । धनी परिवार र विदेशमा रोजगारीमा लागेका परिवारका सन्तानलाई खोजीखोजी फंसाईन्छ । जसले घरबाट पैसा निकाल्न सक्छ ऊ नै दुर्व्यसनमा फँसेको छ । परिवारमा रुवाबासी छ । सन्तानको भविष्य अन्धकारमय देखेर परिवारका कति त डिप्रेसनमा परेका छन् । यसो हुनुको जड सुरब्यसनिहरु नै हुन । मेघा पावरहाउस निर्माण गरेर जिल्लाजिल्लामा लागुपदार्थका तार बिच्छ्याउनेहरुका उपज माथि उल्लेखित कलिला बागलुङे युवाहरु हुन । आफ्नो स्वार्थका लागि सुरब्यसनिहरुले कलिला युवाहरु त बिगार्छन नै, पुरै समाजनै सुस्त मनस्स्थितिको लङ्गडो बनाउँछन । तिनलाई देश, समाज र व्यक्ति बर्बाद भएर केही फरक पर्दैन, आँफु बन्नु पर्दछ बस् । यसतर्फ प्रहरीको विशेष चासो रहनु पर्दछ । दुब्र्यसनीहरु स्वत हराउँछन । साक्षात्कार कार्यक्रमका माध्यमले आममान्छेलाई गम्भिर सामाजिक बिषय लगायत जिल्लाको समग्र शान्तिसुरक्षाका बारेमा जानकारी गराउँदा यी कुराहरु पनि मनमा उठे । उठाएका र उठेका यी विषयमा संबन्धित निकायको गम्भीर ध्यानाकर्षण होस ।