६ दिने सहकारी तालिम सुरु

बागलुङ, ९ वैशाख – जिल्ला सहकारी संघ बागलुङको आयोजना तथा भुमी सुधार, गरिबी न्युनिकरण तथा सहकारी मन्त्रालयको सहयोगमा बागलुङ बजारमा ६ दिने सहकारी लेखा बित्तिय बिश्लेषण तालिम आइतवारदेखी शुरु भएको छ । आगामी बैशाख १३ गते सम्म चल्ने तालिममा सकरात्मक सोच, सहकारीको अवधारणा, महत्व, मूल्य मान्यता, ऋण तथा बचत व्यवस्थापन, सम्पति शुद्धिकरण सम्वन्धि कानुनी प्रावधान, सहकारीका अवसर, चुनौति, मुख्य चार खाता, भौचर तयारी अभ्यास लगायतका बिषयमा जानकारी दिइनेछ ।

तालिममा जिल्लाभरका ३० सहकारीका ३० जना प्रवन्धक, लेखापाल र प्रतिनिधिको सहभागिता रहेको जिल्ला सहकारी सघंका अध्यक्ष दिपक गौतमले बताए । तालिमको उद्घाटन गर्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले समय सापेक्ष नयाँ ऐन, नयाँ प्रविधि र प्रणालीको विकास भइरहेकाले अब सहकारीकर्मीले पनि समय सापेक्ष आँफु र आफ्नो संस्थालाई परिवर्तन गर्न जरुरी भएको बताए ।

समय तिव्र फेरवदल र प्रविधिको विकासका कारण आएको परिवर्तनले सहकारीको सेवालाई चुनौतिपूर्ण र सहज दुवै बनाएको भन्दै सहज बनाउने कि चुनौतिपूर्ण सहकारी कर्मचारीको हातमा भएको उनको भनाई थियो । कार्यक्रममा नेपाल बचत तथा ऋण सहकारी संघका केन्द्रिय सञ्चालक चण्डीप्रसाद शर्माले लेखा भन्न साथ डेविड क्रेडिट मात्र नहुने भएकाले यसलाई समग्र व्यवस्थापनमा ध्यान केन्द्रित गर्ने गरि सहभागीलाई तालिममा सहभागी हुन आग्रह गरे ।

कार्यसल्लाहकार तोयनाथ गौतम लगायतले शुभकामना मन्तव्य व्यक्त गरेको कार्यक्रम जिल्ला सहकारी सघंका अध्यक्ष दिपक गौतमको अध्यक्षता, उपाध्यक्ष अशोक गोविन्द राजभण्डारीको स्वागत मन्तव्य र सचिव तेजेन्द्र थापा मगरको सञ्चालनमा सम्पन्न भएको थियो ।