ताल संरक्षणमा तदारुकता जरुरी


परिचय दिनु नपर्ने सहरको नाम हो, पोखरा । यद्यपी, पोखरालाई विभिन्न उपमाले सिँगारिन्छ । कसैले यसलाई पर्यटनको राजधानी भन्छन्, कसैले साँस्कृतिक सहरको उपमा पनि दिन्छन् । फिल्म नगरी,खेल नगरी जस्ता उपमाहरुले पनि यसलाई बेलाबेलामा पुकारिन्छ । हो, पोखरा नेपालको प्रमुख पर्यटकीय सहर हो । नेपाल आउनेमध्ये ६० प्रतिशतजति पर्यटकहरुको गन्तव्य पोखरा हुने गर्छ । यसरी हेर्दा पोखरालाई पर्यटकीय नगरी भन्नु अन्यथा हुँदैन । पोखरामा पर्यटकलाई लक्षित गरेर अरबौँ लगानी भएको छ । पोखराले दैनिक २० हजार पर्यटकलाई सुताउने हैसियत राख्छ । फेवाताल, देखिने सुन्दर हिमश्रृंखला पोखराका पर्याय वा गहना हुन् । खासमा, पोखराले प्राकृतिक सौन्दर्य बेच्छ, मान्छेको अन्तरमनमा रहेको प्रकृतिप्रतिको मोहलाई व्यवहारिक कार्यान्वयन गर्छ र पर्यटक तान्छ । यो पोखराको विशेषता नै हो । तर, पछिल्लो समय पोखरा सोचेजस्तो सुन्दर छैन । मानवीय अतिक्रमणले फेवाताल संकटमा परेको छ । सर्वोच्च अदालतको आदेशपछि धिमा गतिले यसको संरक्षणमा चालिएका कदमहरुले अस्तित्व जोगिन्छ कि भन्ने आशा त पलाएको छ, तर त्यसमा सन्तुष्ट हुने ठाउँ छैन । गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका दुबैले फेवाताल संरक्षणमा देखाएको चासो सह्रानीय हुँदाहुँदै पनि कार्यान्वयन पक्ष फितलो हुँदा परिणाममुखी काम हुन नसकेकोप्रति नागरिक समाज रुष्ट रहेको कहिँकतैबाट छिपेको छैन ।

पोखराबाट फेवाताल हटाउने हो भने यसको अस्तित्व रहँदैन । यस मानेमा पोखराको पर्याय हो, फेवाताल । फेवा यतिबेला अतिक्रमणको चपेटामा परेको छ । पोखराको जलीय क्षेत्रफल ९ हजार ९ सय ५६ रोपनी रहेको तथ्य बताउँछ । तालको किनारामा रोक्का राखिएको ६५ मिटरभित्र ६ सय ९७ कित्ता जग्गाभित्र पनि ४७ रोपनी जग्गा रहेको प्रतिवेदनले औंल्याएको छ । व्यक्तिको नाममा रहेको जग्गाको मुआब्जा दिएर भए पनि ६५ रोपनी मापडण्ड कायम गर्नुपर्ने दायित्व पनि यतिबेला महानगरलाई परेको छ । महानगरले सर्वोच्चको आदेश अनुसार समिति नै बनाएर काम थालनी गरेको छ । यो खुसीको कुरा हो । तर, काममा ढिलाई भने कसैलाई स्वीकार्य छैन ।

ताल सीमाङ्कनले मात्र संरक्षण हुन सक्दैन । वर्षेनी थपिँदै गएको माटोले पनि ताल संकटमा परेको छ । तालमा यसरी माटो थपिँदै जाँदा कुनै समय यो ताल नै संकटमा पर्ने वातावरणवीदहरुले चेतावनी दिँदै आएका छन् । उनीहरुको चेतावनीलाई महत्व दिइएको छैन । फेवाताल संरक्षणको नाममा आ–आफ्नो डम्फु बजाउनेहरुले ताललाई भँजाएर आफ्नो दुनो सोझ्याउन बाहेक विज्ञहरुको प्रतिवेदन प्रयोगमा आएको छैन । अर्कोतर्फ तालमा बिसर्जन हुने फोहरले पनि तालको अस्तित्व संकटमा परेको छ । पोखराका ढलहरु तलमा मिसाउँदा त्यहाँको पानी पिउनै नमिल्ने भएको प्रतिवेदनले औंल्याएको छ ।

तालको पानी पिउन नमिल्ने भनेको त्यो पानी पौडी खेल्न पनि उपयुक्त छैन भन्ने हो । पानीमा दिसाको मात्रा बढी भएकोले यो अवस्था आएको प्रतिवेदनको निष्कर्ष हो । यसर्थ,ताल संरक्षणको कुरा गर्दा यसको वातावरणीय पक्षलाई पनि ध्यान दिनुपर्छ । खासगरी पानीका श्रोतहरुको संरक्षणलाई मानवीय अतिक्रमणसँगै निरुपणतर्फ सरोकारवाला निकायले ध्यान दिनुपर्छ । त्यसो हुन नसके तालको अस्तित्व जोगाउन मुस्किल पर्छ । संघीय सरकारले नै सिमसार क्षेत्र घोषणा गरेको यो ताललाई संरक्षण नगरे आउँदो पुस्ताले फेवाताल फोटोमा मात्र हेर्ने अवस्था आउन सक्छ । मानवीय विकासक्रमलाई नियाल्ने हो भने पानीको विशेष महत्व रहेको छ । फेवाताल नहुनु भनेको पानी नहुनु हो र पानी नै भएन भने यहाँको मानवीय जीवन पनि संकटमा पर्छ भन्ने अर्को सत्य पनि त्यति नै महत्वपूर्ण हो । फेवाको कुरा गरिरहँदा पोखरा महानगरभित्र पर्ने अन्य तालहरुलाई पनि ध्यान दिनैपर्छ । फेवामा लागेको रोग अन्यत्र पनि फैलँदै गएकोप्रति ध्यान दिइएन भने ति तालहरु पनि संकटमा पर्नेमा कुनै द्धिविधा छैन ।