नेपाल कसो नबन्ला लक्जम्बर्ग ?

सन्दर्भ डिसेम्बरको अन्तिम साता, सन् २०१८ को हो । पुरानो वर्षलाई बाइबाई गर्दै सबै युरोपियनहरु नयाँ वर्षको सुस्वागतको प्रतीक्षामा थिए । म पनि पशुपतिको यात्रा सिद्राको व्यापार भनेझैं नयाँ वर्षको स्वागत र आफन्तहरुको भेटभाट गर्ने निहुँमा इटालीबाट लक्जम्बर्गको भ्रमणमा निस्किएको थिएँ । झिलिमिली साँझले अंग्रेजी नयाँ वर्ष र क्रिश्मसकालीन समयकोे उल्लास बढाउँदै थियो । सडकपेटी, बजारका चोक र खाली चौरहरुमा समेत क्रिश्मस ट्रीलाई घेरेको बत्तीले अध्यारो रातलाई पनि दिवामा परिणत गरे जस्तो देखिन्थ्यो । युरोपको चिसोलाई वाइनसँगै डिस्को र क्लबको म्युजिकले गर्माएको थियो । यही रंगीन समयलाई छिचोल्दै म भने पादोभा इटालीबाट मिलानो हुँदै लक्जम्बर्ग पुगेँ ।

विश्वको मानचित्रमा ४९ भूपरिवेष्टित राष्ट्रहरु मध्येको एउटा लक्जम्बर्ग पनि हो । अधिकांश भूपरिवेष्टित देशलाई छिमेकीको टोकाई, गरिवी, पछौटेपन, राजनैतिक खिचातानी र अशान्तिले छाडेको छैन । तर लक्जम्बर्ग भने अन्य भूपरिवेष्टित देशभन्दा बेग्लै शान्त र आर्थिक रुपमा सबल मुलुक रहेछ । फ्रान्स, जर्मनी र बेल्जियमले घेरिएको यो युरोपेली मुलुक भारत र चीनले चेपिएको दुई ढुंगाबीचको तरुल नेपाल जस्तो थिएन । बरु युरोपमा लक्जम्बर्ग आर्थिक, सामाजिक र साँस्कृतिक समृद्घिको पर्याय थियो । क्षेत्रफलका हिसाबले नेपालभन्दा करिव सन्ताउन्न गुणा सानो लक्जम्बर्ग युरोपको आर्थिक हब नै मानिदो रहेछ ।

लक्जम्बर्गका विषयमा मैले मेरा आफन्तबाट धेरै कुरा सुनेको र पत्रपत्रिकामा पढेको पनि थिएँ । मलाई मेरा आफन्तसँग भेटघाट गर्नु त थियो नै, योभन्दा पनि उक्त भूपरिवेष्टित मुलुकको गतिविधिका विषयमा मलाई बढी चासो रहेको थियो । मेरा काकाहरुका सपरिवार तीन दशकदेखि यतै लक्जम्बर्गतिरै बन्दव्यापार र नोकरी गर्दै आउनु भएको छ । उहाँहरुबाटै थाहा भयो कि यो पनि भूपरिवेष्टित, बहुभाषिक र बहुसाँस्कृतिक मुलुक । यो मुलुक नेपालसँग धेरै कुरामा मिल्दोजुल्दो छ तर यहाँ भाषिक, साँस्कृतिक, स्वदेशी, विदेशी, धनी, गरिब, सानो जात, ठूलो जात, महिला, पुरुष, गाउँले, सहरिया, नेता, नागरिक, सभ्य, असभ्य कुनै विषयमा पनि विभेदहरु नहुँदो रहेछ । यिनै लक्जम्बरी सामाजिक, साँस्कृतिक र पर्यटकीय गतिविधिका विषयमा चर्चा गर्दागर्दै मेरो एक हप्ताको पारिवारिक बसाइ त पत्तै नभइ सकिएछ । लक्जम्बर्ग सिटीदेखि बेटमबर्ग, डुडेलेंज, सेन्जेन, रिमिज र वियनडेनसम्मको यात्रा अनुभव भने यहाँ वर्णन गर्नै नसकिने प्रकृतिका थिए ।

विश्वमानचित्रमा विलिन नै देखिने लक्जम्बर्ग मिश्रित भाषा र संस्कृतिको संगम रहेछ । यहाँ जर्मन, फ्रेन्च र लक्जम्बगरिस भाषाका कस्तो नौलो भाषिक विविधता हो । राज्य संचालनमा संवैधानिक राजतन्त्रात्मक व्यवस्था रहे पनि सरकारले जनताका आवश्यकताहरु पूर्ति गरेको आभाष शिक्षा, स्वास्थ्य, रोजगारी र सुरक्षाको प्रबन्धबाट प्रष्ट हुन्थ्यो । अझ झन् निःशुल्क सार्वजानिक यातायात सेवा बनाउने कुराले त सबैको ध्यान खिचेको थियो । मध्य सहरमा दृश्यावलोकनका लागि ग्लास एलिभेटरदेखि विविध टावर राखिएका थिए । सहरको केन्द्रका गगनचुम्बी महलहरुमा युरोपियन युनियनका महत्वपूर्ण संयत्रहरुले लक्जमबर्गको महत्व झल्काएका थिए । सायद यसैले गर्दा लक्जम्बर्ग युरोपको केन्द्र बनिरहेको हुनुपर्छ । सहरको मध्य भागमा रहेको ऐतिहासिक गोल्डेन लेडी स्मारक जस्तै लक्जम्बर्ग पनि चम्किरहेको थियो ।

लक्जम्बर्गको इतिहास, प्रकृति र भौतिक विकास आप्mनै मौलिक प्रकृतिको थियो । उहिले स्टिल उद्योगको अर्थतन्त्रमा आधारित यो मुलुक अहिले बैंकिंग क्षेत्रतर्फ अगाडि बढ्दै रहेछ । सेन्ट्रल गारेमा सहर भित्रका घरै पिच्छे देखिने अनेकौं बैंकहरुले लक्जम्बर्गको आर्थिक समृद्धिलाई झल्काइरहेका थिए । दुबै विश्वयुद्धमा जर्मनीको कब्जामा रहेको यो सानो देश अहिले जर्मन, बेल्जियमदेखि फ्रान्ससम्मका नागरिकको रोजगारीको केन्द्र रहेछ । यहाँ दिनमा काम गर्न मानिसहरु जर्मन, बेल्जियमदेखि फ्रान्सबाट आएर राति बासबस्न आप्mनै दश फर्किने गर्दा रहेछन् । त्यसैले त यो देश रातमा कम दिनमा बढी जनसंख्या हुने मुलुक भनेर चिनिदो रहेछ । यो देशको प्रति व्यक्ति आय पनि विश्वमै अग्र स्थान आउँदो रहेछ । यहाँको प्रतिव्यक्ति आय करिव एक लाख डलरसम्म रहेको त्यहाँका मानिसहरु बताउँछन् ।

लक्जम्बर्गका विभिन्न सहरहरुमा मेरा आफन्तहरु छरिएर रहेका थिए । आफन्तहरुलाई भेट्ने क्रममा एक हप्तासम्म भीम दाजुसँगै लक्जम्बर्गका प्राकृतिक र मानव निर्मित स्थलहरुको दृश्यावलोकन गरियो । रिमिच पुग्दा फम काका र भविन्द्र काकाको सत्कारले आप्mनै गाउँघरमा पुगेको आभाष दिलायो । रिमिचको नदीमा बकुल्लाले माछा छोप्दाको दृश्य उस्तै मनमोहक थियो । अनि त्यो छेउँको पानीजहाज र नदीपारि जर्मन बेल्जियमकाकति सुन्दर दृश्यहरु हुन् । सडक छेउको चिसो मौसमलाई झेलिरहने वाइन यार्डहरु उस्तै हेरिरहु लाग्ने देखिन्थे ।

डुडेलेंजबाट भीम दाजुसँगै सेन्जेन पुग्दा त्यस ठाउँको नामबाट सेन्जेन भिषा बनेको कुरा सुनाउँदा अनौठो नै माँने । सेन्जेन ठाउँको नाउँ बाटै युरोप पुगिने युरोपियन सेन्जेन भिषा बनेको कुरा सुन्दा त साँच्ची अब लग्जम्बर्ग चासो र चर्चाको नै मुलुक हो भन्ने लाग्यो । लग्जम्बर्गको सिटीबसबाट बेटमबर्गसम्म पुग्दाका पलहरु बेग्लै रमाइला थिए । चन्द्र काका, कृष्ण काका र जीतु काकाको परिवारसँग भेट्दाको आनन्द छुट्टै थियो । काकाका छोराहरु कोही इन्जिनियर, राष्ट्र सेवक कर्मचारी त केही ठूलाठूला व्यापारी । यो पारिवारिक जमघटले म आपूm युरोप नभएर नेपालमै छु, बेटमबर्ग नभएर गलकोटमै छु भन्ने आभाष हुन्थ्यो । काकाहरु युरोपमा बसे पनि उहाँहरुको खानपिन, भाषा, भेषभूषा र सबै रहनसहन नेपाली नै थियो । त्यहाँ पुग्दा नेपालको नेपालीपन साँच्चिकै युरोपतिर सरेजस्तो लाग्थ्यो । काकाहरुले त्यहाँका दरबार, संग्राहलय, पुरानो सहर र पुलहरुका बारेमा बताउँदै जानुहुन्थ्यो मलाई मेरै देश एकाएक समृद्ध भए जस्तो लाग्थ्यो ।

लक्जम्बर्ग यात्राकै क्रममा वियनडेनकासल् पनि पुगियो । लग्जम्बर्गको उत्तरी भेगमा रहेको यो वियनडेन कासल् (महल) एक अद्भूत गन्तव्य रहेछ । डाँडामा रहेको त्यो महल रोमनकालीन कला सभ्यता र इतिहासको साक्षी थियो । पुराना घरहरु, सफा चिटिक्क सिंगारिएका रोडहरु, सडक छेउँका मूर्तिहरु र निश्चल नदीले वियनडेनधपक्कै बलेको थियो । लुगलुग काप्ने चिसो मौसममा पनि वियनडेन घुम्नेहरुले मज्जा लिइरहेका देखिन्थे । बाटोमा देखिने डाडाँका रुखहरुमा हिउँका कणकणहरु बुर्कुसी मारिहेका थिए । लाग्दथ्यो प्रकृतिको अद्भूत सुन्दरताको चुम्बकीय गुणले सबैलाई यहाँ तानिराखेको छ । डिसेम्बरको महिना लुगलुगी काप्ने शून्य डिग्रीभन्दा तल झरेको तापक्रममा सेता फुस्स परेको हिउँले जनजीवन कठिन भए पनि आफन्तसँगै हुँनाले यात्रालाई रमणीय नै बनायो । यो प्रतिकूल मौसमलाई पनि विकासको चमत्कारले अनुकूल नै बनाएको थियो । संसारका पर्यटकको ध्यानाकर्षण गरिरहेको थियो ।

अँग्रेजी नयाँ वर्षको अवसरमा हरेक वर्ष लक्जम्बर्गमा रहेका नेपाली समुदायले रमाइलो कार्यक्रम आयोजना गर्नेगर्दा रहेछन् । यो साल मैले पनि मौकाले यो कार्यक्रम हेर्ने र त्यहाँ बस्ने धेरै नेपालीसँग चिनजान गर्ने अवसर पाएँ । परदेशी ठाउँमा नेपाली गीत, सँगित, नृत्य, सेवासत्कार र नेपाली प्रस्तुती निक्कै चाख लाग्दा थिए । करिव तीन सय जनाको उपस्थिति रहेको उक्त कार्यक्रमको आयोजनालाई देख्दा नेपाली समुदायमा एक अर्कामा सम्पर्क, समन्वय र नेपाली सत्भाव रहेछ भन्ने आभाष हुन्थ्यो । वसन्त थापाको ‘सालको पात टपरी हुनी बरै, नहुनी सल्लैको’ बोलको लोक भाका गुञ्जिदा बच्चादेखि पाकासम्म सबै रमेका देखिन्थे । यो लोक भाकाले मलाई पनि उही डाँडा पाखामा घाँस दाउरा गरेको, मेलापातमा झरेको र खोला खोल्सीेको सम्झनाले झस्कायो । पक्कै अरुलाई पनि यस्तै त अनुभूति भएको हुनुपर्छ । भाषा, कला र संस्कृति मानिस जता गयो उतैसँगै जाने जीवनको अभिन्न अंग रहेछ । जस्तो सुकै भूगोल र परिस्थिति होस्, मातृभाषा र सँस्कृति नै प्यारो हुने कस्तो बनाइएको होला यो मानव चोला म कहिले काँही आफैमा घोत्तलिन्छु ।

लक्जम्बर्गमा करिब डेढ सय संख्यामा नेपाली परिवार र करिब तीसवटा नेपालीका रेष्टुरेन्ट रहेको सुनेँ । यहाँको बसाइमा काकाहरुका रेष्टुरेन्टहरुमा पस्ने मौका पनि मिल्यो । चन्द्र काकाको ‘एभरेष्ट रेष्टुरेन्ट’ र जितु काकाको ‘काठमाडांैै रेष्टुरेन्ट’ मा नेपाली खानाका परिकारहरु बन्दा रहेछन् । मेरै काकाहरु रेष्टुरेन्टका मालिक र नेपाली खानाले युरोपमा नाम र दाम कमाएको देख्दा मलाई गर्वको अनुभूति भयो । रेष्टुरेन्टका भित्ताहरुमा नेपालका डाँडापाखा, गाउँघर, लेकबेसी, सगरमाथा, गौतमबुद्ध, काठमाडौं र पोखराका सहर, नेपाली मठमन्दिरहरु र नेपालकै तालतलैयाका तस्वीरहरु झुण्डाइएका थिए । यी तस्वीरहरुले नेपालको नै पर्यटन प्रवर्धन गरिरहेका थिए । लक्जम्बर्गका अन्य नेपाली रेष्टुरेन्टहरुले पनि यसरी नै नेपाली नाउँ, ठाउँ र नेपालीपनलाई युरोप सामु चिनाइरहेका थिए । यी नेपालीहरुले आपूmले जतिसुकै कठोर काम गरेरै भए पनि नेपाललाई विप्रेषण (रेमिटान्स) पोखिरहेका थिए । हाम्रो गाउँठाउँको स्थानीय नाम, भोजन, भाषा, कला, संस्कृति र परिश्रमलाई युरोपमाझ चिनाउने भएकाले यिनीहरु नै यहाँका असली नेपाली दूत भए झै मलाई लाग्यो । यहाँको शान्ति र सुरक्षाले नै व्यापार व्यवसाय फष्ट्याएको कुरा पनि थाहा भयो । मनमनै सोँचे यही शान्ति र सुरक्षाले नै गर्दा होला लग्जमबर्ग आज विश्वमा खुसी र समृद्ध मानिसहरु बस्ने देशका नामले चिनिएको र नेपालीहरु यतै झुम्मिएको ।

लक्जम्बरी व्यापार व्यवसायमा जमेका जितु काका गाउँमा आउँदा लक्जम्बर्गको विकासका बारेमा मैले धेरै कुरा त पहिले नै सुनेको थिर्एँ । यहाँ आउँदा काकाले भने झै शान्त वातावरण, सुन्दर सहर, समृद्ध अर्थतन्त्र र समृद्ध देशका रुपमा लक्जम्बर्गलार्ई देखियो । लक्जम्बर्गको अर्थतन्त्रलाई समृद्ध बनाउने आधारहरु केलाउँदा बैंकिग क्षेत्र, स्टील उद्योग, सूचना प्रविधि, पर्यटन र कृषि व्यवसाय यहाँका मूल आधारहरु रहेछन् । लक्जम्बर्गको शान्ति र सुरक्षा, राम्रो सम्पर्क समन्वय, मिलेको भूगोल र वित्तीय कारोवारको विज्ञताले लक्जम्बर्गमा बैंकिङ्ग क्षेत्र फस्टाएको रहेछ । पहिलो र दोस्रो विश्वयुद्धमा थलिएको अर्थतन्त्रलाई यहाँको स्टील तथा फलामको उत्पादनले दह्रोसँग टिकाएछ । अझै पनि ठूलाठूला उद्योगहरुले लक्जम्बर्गको अर्थतन्त्रमा टेवा पुयाइरहेका रहेछन् । सूचना तथा प्रविधिको विकासमा राज्यको उचित नीति निर्माणले लक्जम्बर्गको विकासलाई अग्र गतिमा राखिरहेको रहेछ । पर्यटन व्यवसाय लक्जम्बरीको रोजगारीको राम्रो हिस्सा बनेको रहेछ । वाइन तथा मासु उत्पादनले कृषि क्षेत्रको महत्वपूर्ण हिस्सा लिने रहेछन् । सबै क्षेत्रबाट योगदान भए राष्ट्र बन्न कति पो वर्ष लाग्दो रहेछ र ? दोस्रो विश्व युद्धपछिका तीन दशक (सन् १९४५ देखि १९७५ सम्ममा) स्टील उद्योगबाट अर्थतन्त्र राम्रो बनाउँदै सन् १९८५ देखि सन् २००० सम्ममा वित्तीय क्षेत्रबाट चमत्कारिक प्रगति हासिल गर्दै लक्जमबर्ग औँलामा गनिने राष्ट्र बन्न सफल भएछ ।

लक्जम्बर्गकोे यात्रामा आफन्तसँग विताएका पलहरु ज्यादै याददार थिए । विश्वविद्यालयको शिक्षा जस्तै यो एक हप्ते भ्रमण ज्यादै नै फलदायी र व्यवहारिक थियो । आफन्तसँग भेटघाटले मन चंगा गराउँदै म आप्mनै वासस्थान फर्केँ । मन भन्थ्यो परदेशका आफन्तलाई अब फेरि भेट्नु कहिले हो कहिले । इटाली पुगुञ्जेल लक्जम्बर्गका आर्थिक विकासका आधारहरुलाई सम्झेँ । विकास र समृद्धि दिलाउने राज्य व्यवस्था र भूराजनीतिलाई नेपालसँग तुलना गरिरहेँ । नेपालमा विकासका संभावनाहरु के के होलान् त भनी मनमनै खोतलेँ । लक्जम्बर्गको स्टील उत्पादनलाई मेरै पल्लो गाउँको सिसाखानी, तामाखानी, राङखानी, गुर्जाखानीमा हाम्रै हजुरबाले झिकेका तामा, फलाम र सिसाखानीका सुरुङहरुसँग तुलना गरेँ । आजसम्म मेरा गाउँठाउँका खानीहरु लुकेरै बसेका छन् । हामी भने कस्तुरीले विनाको सुगन्ध थाहा नपाए झैं गाउँका खानीहरु ठम्याउन सकेको छैनौँ । बाजेले खोतलेका खानीहरुमा समेत सूचना प्रविधिको प्रयोग गरी प्रचार र प्रयोगमा ल्याउन सकेनौँ । हाम्रै गाउँघरमा पर्यटनका लागि चाहिने विश्वमै नपाइने आकर्षक प्रकृति छ । स्वच्छ हावा दिने चारकोसे झाडीदेखि लेकाली वनजंगलसम्मको यथेष्ट धन छ । कलकल बग्ने स्वच्छ पानीको भण्डार छ । तराईदेखि हिमालसम्म विदेशी औषधिलाई टक्कर दिने सञ्जीवनी बुटीधारी आयुर्वेद छ । कृषि र पशुपालनका लागि उर्वर भूमि जताततै बाँझो छ । तर हामी यी सब प्रकृतिका बरदानलाई अर्थसँग साट्न जानेनौँ । प्रकृतिले सबथोक दिँदा पनि व्यवस्थापन र उपयो गर्न नजानेर भोकै र अभावमै छौँ । तर त्यहाँको संवैधानिक राजतन्त्रात्मक राज्य व्यवस्थाले आफूलाई मात्र नभइ संसरभरका नागरिकलाई गास, वास र आवास दिइरहेको छ । सबैलाई शान्ति, सुरक्षा, सुख, विकास र अमनचयनको शिक्षा दिलाएको छ । हाम्रोमा भने राणा शासन, राजतन्त्र, प्रजातन्त्र, निर्दल, बहुदलदेखि लोकतान्त्रिक गणतन्त्रसम्म पनि शासक उस्तै, शासन व्यवस्था उस्तै र समृद्धिको हालत उस्तै छ ।

हामीले बाजेका पालादेखि आजसम्म पनि हाम्रो अमूल्य जीवनलाई कि त बैदेशिक रोजगारी कि त राजनीतिक परिवर्तन भन्दै खेर फालिरहेका छौँ । राजनीतिमा पात्र फेरे पनि कुसंस्कार र प्रवृत्ति फेर्न सकेनौँ । राजनीतिकर्मीले सपना मात्र देखायौँ, व्यवहारमा कहिल्यै उतारेनौँ । स्वरोजगारको सपना त बाडियो तर कार्यान्वयन कहिल्लै भएन । लक्जम्बर्ग जस्तै भूपरिवेष्टित मुलुकका नागरिक हामीले कहिले भूराजनैतिक सन्तुलन मिलाउने अनि कहिले गणतन्त्रात्मक राज्यव्यवस्थालाई सही उपयोग गर्ने होला ? प्रकृतिलाई समृद्धि तर्फ कसरी धकेल्ने होला ? लक्जम्बर्गलाई हेर्दा राज्य व्यवस्थाको परिवर्तन मात्र पनि विकासको मूल सूत्राधार होइन रहेछ । भूराजनैतिक सन्तुलन, सुशासन र प्राकृतिक स्रोतको उचित व्यवस्थापन गरे मात्र अब मुलुक समृद्ध बन्ने पाठ लक्जम्बर्गबाट पनि सिक्न सकिँदो रहेछ । मेरो मनले अब नेपाली माटोमा भूराजनीति, प्रकृति र संस्कृतिलाई संयोजन गर्ने युग पुरुषको खाँचो देख्दछ । कुराले मात्र होइन कार्यान्वयनले नै समृद्धिको आधार ल्याउँछ । भूराजनीतिक सन्तुलन, प्राकृतिक स्रोत व्यवस्थापन र सुशासन कायम गरे हाम्रै पालामा एकदिन कसो नबन्ला र नेपाल पनि लक्जम्बर्ग ?