नेकपाको जिल्ला तहमा एकता टुंगियो

कतै खुसी कतै असन्तुष्टी !

बागलुङ, १० वैशाख – पुष्पलाल श्रेष्ठको नेतृत्वमा २००६ साल बैसाख १० गते स्थापना भएको नेपाल कम्प्युनिष्ट पार्टीले सात दशक पार गरेको छ । तत्कालिन राणा शासनको अन्याय र अत्याचारको बिरुद्ध कम्प्युनिष्ट पार्टी स्थापना भएको थियो । यस अघि स्थापना भएको नेपाली कांग्रेस सँगको सहकार्यको आन्दोलनबाट राणा शासनको अन्त्य गरेर नेपालमा प्रजातन्त्र स्थापना गराएको थियो । स्थापना ७० बर्ष अघि भएपनि पटक पटकका अधिवेसन, सम्मेलन लगायतमा फुट्ने क्रमले कम्प्युनिष्ट पार्टीले नेतृत्व गरेर सरकारमा पुग्ने अवसर भने धेरैपटक गुमायो ।

२०४६ साल सम्म पंचायती शासनको कारण बहुदलीय प्रतिष्पर्धा थिएन । त्यसैले राजनीतिक नेतृत्वले सरकार संहाल्ने अवसर पाएनन् । २०४७ को संविधान र राजनीतिक दल खुला भएपछि कांग्रेस र कम्प्युनिष्ट नेतृत्वका सरकारहरु गठन हुने क्रम बढ्यो । २०५१ मा नेपालमा पहिलो पटक धेरै सिट जितेर तत्कालिन एमालेले सरकार गठन गरेको थियो । छोटो समय मात्र टिकेको यो सरकारपछि अधिकांस समय मिलेमतोमा सरकार गठन भए । २०६२÷०६३ को जनआन्दोलन र संविधान सभाको निर्वाचनमा कसैको पनि बहुमत नआएपछि नेपालमा कम्प्युनिष्ट पार्टीहरुका ४ जनाले प्रधानमन्त्री पद संहाले । २०७० को निर्वाचनमा कांग्रेस ठूलो पार्टी भयो । २०७४ को संसदीय निर्वाचनमा भने तत्कालिन एमाले र नेकपा माओवादीको एकीकृत घोषणापत्रबाट निर्वाचन लडेर दुइतिहाई नजिकको बहुमत ल्याएपछि नेकपाको नेतृत्वमा एकल सरकार गठन भएको छ । शोषण, अन्याय र अत्याचार बिरुद्ध लडेको पार्टीनै सत्तामा पुगेकोले जनतामा धेरै आसा र अपेक्षाहरु छन् । ती अपेक्षाहरु पुरा गर्न सरकारले संयम भएर काम गर्नुपर्ने बेला आएको नेकपा बागलुङका नेता फमलाल निउरे बताउँछन् ।

‘जुन उद्धेश्यले पार्टी स्थापना भएको थियो, त्यो उद्धेश्य पुरा गर्न हामी लाग्नुपर्छ’ उनले भने, ‘पार्टी नेतृत्व भ्रष्ट्रीकरणमा गैरहेको छ, कार्यकर्ताले रोक्नुपर्छ ।’ नैतिकता र जनताको हितमा काम गर्न सकिएन भने दुइतिहाई बहुमतको केही औचित्य नहुने उनले टिप्पणी गरे । पुष्पलालको नेतृत्वमा ५ जना संस्थापकहरुले स्थापना गरेको पार्टी मिल्न नसकेकै कारण नेकपाकै सत्ता भैरहेपनि सडक र प्रतिपक्षको रुपमा पनि कम्प्युनिष्टपार्टी हरुनै छन् । उनीहरुले पार्टीको नाम एउटै भएपनि बिचारमै बिभेद र फरक रहेको टिप्पणी गर्छन् । सत्तासिन नेकपा साना तिना बिमती छाडेर मुलधारमा हिड्नुपर्ने धारणा राख्छ भने साना कम्प्युनिष्ट पार्टीहरुले सिद्धान्त बिर्सेर पूजिवादमा लागेको आरोप लगाउँछन् । स्थापना दिवश मनाउँदा उद्धेश्य बिर्सेर कम्प्युनिष्ट बन्न नसकिने टिप्पणी बढी उठ्ने गरेका छन् । २००६ सालमा स्थापना भएको नेपाल कम्प्युनिष्ट पार्टीबाट २०१८ सालको अधिवेसनबाट पार्टी फुटको राजनीतिक शुरु भएको थियो । २०२८ सालमा मोहन विक्रम सिंहले मसाल पार्टी बनाएका थिए ।

त्यस्तै २०३५ सालमा माले र झापाली समूहहरुको कम्प्युनिष्टले नेपालको राजनीतिमा तरंग ल्याएको थियो । २०४१ सालमा निर्मल लामा समूह, २०४३ सालमा पुष्पकमल दाहालहरु फुट्दै गएपछि मसाल भने सानो दलको रुपमा पछि परेको छ । २०४६ सालको आन्दोलनका लागि कांग्रेस नेता गणेशमान ंिसहको नेतृत्वमा आन्दोलन गर्न बाम मोर्चा बनेको थियो । सहाना प्रधान, सिपि मैनाली लगायतका नेताहरुको नेतृत्वले आन्दोलन सफल पारेपछि २०४७ सालमा एमाले बनेको थियो । २०७४ को निर्वाचनमा पुष्पकमल दाहाल नेतृत्वको माओवादीसँग मिलेर निर्वाचन लडेपछिको बहुमत थेग्न गठित नेकपाको केन्द्रीय र जिल्ला तहको एकताले अन्तिम रुप लिएको छ । यो एकतापछि देशकै ठूलो कम्प्युनिष्ट पार्टी बनेको छ । नेकपाले भने एशियाकै दोश्रो ठूलो दल भएको दावी गरेको छ । स्थापना दिवश मनाउने क्रममा भने नेकपाले ठूला कार्यक्रमहरु गर्न सकेनन् । लामो समय देखिको नेतृत्व बिहिनताको अवस्थाले क्रियाकलापमा असर परेको कार्यकर्ताको बुझाइ छ । केन्द्रीय रुपमा भएका कार्यक्रममा नेताहरुले सहभागिता जनाएर स्थापना दिवशको झल्को मेटाएका छन् ।

टुंगियो जिल्ला नेतृत्त, कतै खुसी कतै असन्तुष्टी !
देशभरका जिल्ला मध्ये तत्कालिन एमाले र माओवादीले नेतृत्व बाँडफाँड गरेपछि सबै नेतृत्व टुंगिएको छ । तत्कालिन एमालेको भागमा ४४र माओवादीको भागमा ३३ जिल्ला परेको छ । गण्डकी प्रदेशमा साबिक एमालेले ७ र साबिक माओवादीको भागमा ४ जिल्लाको नेतृत्व बाँडफाँड गरिएको छ । लमजुङ, गोर्खा,स्याङजा म्याग्दी साबिक माओवादीले पाएको छ । बागलुङमा सचिव माओवादीले पाएको छ । जस अनुसार एमाले नेता तथा निर्वतमान अध्यक्ष ईन्द्रलाल सापकोटानै अध्यक्ष भएका छन् । माओवादीको तर्फबाट ज्ञामनाथ गैहै्र सचिव भए । तत्कालिन माओवादीको सेक्रेटरी रहेका गैह्रेले एकीकृत पार्टीको सचिव पाएका हुन् । यस अघि माओवादीका नेता रहेका फमलाल निउरेको पनि चर्चा बढी थियो । दुइ बर्ष अघि भएको जिल्ला अधिवेसनबाट एमाले अध्यक्षमा निर्वाचित भएका ईन्द्रलाल सापकोटाले प्रदेश सभा सदस्य भएपनि अध्यक्षको पनि जिम्मेवारी पाएका छन् ।

सापकोटा बागलुङ क्षेत्र नं. १ को प्रदेश १ बाट निर्वाचित सदस्य हुन् । उनले कांग्रेस सभापति दिपेन्द्र थापालाई पराजित गरेका थिए । पार्टी नेतृत्वमा विधि र विधानलाइ सम्मान गर्ने र चुस्त कार्यप्रकृया अगाडि बढाउने लक्ष राख्ने सापकोटाले एकीकृत पार्टीको पनि जिम्मेवारी पाएका छन् । २०४२ सालदेखि गाउँपार्टीको राजनीतिमा सक्रिय सापकोटाले २०४७ मा एमालेको सदस्यता लिएका हुन् । २०५४ को स्थानीय निर्वाचनमा मालिका गाविस अध्यक्षमा निर्वाचित भएपछि युुवा संघको जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य र २०६२ मा केन्द्रीय महासचिव सम्म भएका हुन् । जिल्ला पार्टी प्रमुख सचिव रहने बेला नेतृत्वमा आएका सापकोटाले जिल्ला सचिव राजिनामा दिएर युवा संघको केन्द्रीय अध्यक्ष लडेका थिए । पूर्व मन्त्री महेश बस्नेतसंग पराजित सापकोटा जिल्ला फर्केपछि पार्टीको अध्यक्षमा निर्वाचित भएका हुन् । ५१ बर्षका सापकोटा हाल प्रदेश कमिटिका सदस्य पनि छन् ।

त्यस्तै कास्कीमा अध्यक्षमा कृष्ण थापा र सचिवमा बखानसिंह तमु भएका छन् । यस अघि पनि एमालेको अध्यक्ष रहेका थापा प्रदेश सभा सदस्य पनि हुन् । तमु पर्वतका हुन् । उनले पोखराको राजनीतिमा प्रवेशपछि बिभिन्न पदहुँदै माओवादीको नेतृत्वमा पुगेका थिए । यसअघि अध्यक्षमा तत्कालीन एमालेका सचिव तथा नेकपाको कार्यदल सदस्य दामोदर बैरागीको चर्चा थियो । तर, उनलाई अध्यक्ष दिइएन । प्रदेश सांसद रहेका कृष्ण थापाले नै अध्यक्ष पाएपछि बैरागीले फेसबुकमार्फत असन्तुष्टी जाहेर गरेका छन् । उनले नेपाल कम्युनिस्ट पार्टीको एकता पछि कमिटी एकीकृत गर्न बनेका मापदण्ड र सरकारमा प्रतिनिधित्व गर्ने मन्त्री,सांसदहरूको रुवावासी सुन्दा र अहिले कमिटी घोषणा गर्ने बेला बनेका मापदण्ड हेर्दा ५ (पाँच) टुक्रा पुराना गीतको याद आयो भन्दै फाटेको जालले छेकेको,छेके पनि छर्लङ्ग देखेको हेर गाउँले हो,कोहीलाई भने धनमाथि धनको राश,कोहीको भने घरवासै उठिबास हाम्रो नेपालमा, कोही त भने जहाजमा हररर,कोहीको भने पसिना तररर हाम्रो नेपालमा,कोहीको घरमा कुकुरलाई मासुभात,कोहीको घरमा सधैंको रुवावास हाम्रो नेपालमा, हिडें म त काले कि आमा गरिबको सुदिन फिराउन,रुञ्चे मुख नलगाउ तिमी हिड बरु जनतालाइ बिँउझाउन भन्ने टुक्का पोष्ट गरेका छन् ।

तनहुँमा एमालेका केदार सिग्देल अध्यक्ष माओवादीका राजेन्द्रकेशरी न्यौपाने सचिव भएका छन् । लमजुङमा माओवादीका मधु अधिकारी अध्यक्ष, सचिवमा एमालेका धनन्जय दवाडीलाई जिम्मेवारी दिइएको छ । मधु प्रदेशसभा सदस्य हुन् । उनी जिल्ला अध्यक्ष बन्ने तीन महिनामध्येकी भाग्यमानी पनि हुन् । उनी माओवादी केन्द्रकी संयोजक थिइन् । उनी पहिलो संविधानसभा निर्वाचनमा अहिलेका मुख्यमन्त्री पृथ्वीसुब्बासँग पराजीत भएकी थिइन् । उनी धनञ्जयकी बहिनी हुन् । उनीहरुको गाउँ पनि एउटै हो ।

गोरखामा लेखबहादुर थापा अध्यक्षमा र सचिवमा प्रेम गुरुङ चयन भएका छन् । त्यस्तै हिमाल पारीको जिल्ला मनाङको अध्यक्षमा पाल्तेन छोयान गुरुङ र सचिवमा बेदबहादुर गुरुङ तथा मुस्ताङको अध्यक्षमा चन्द्रमोहन गौचन र सचिवमा सत्य नारायण शेरचन चयन भएका छन् । पर्वतको अध्यक्षमा एमालेका पदम गिरी र सचिवमा माओवादीका सुदिप कुँवर तथा म्याग्दीको अध्यक्षमा माओवादीका गोबिन्द पौडेल र सचिवमा एमालेका हरिकृष्ण श्रेष्ठ चयन भएका छन् । त्यस्तै स्याङजाको अध्यक्षमा सूर्यप्रसाद गैह्रे र सचिवमा मीनबहादुर गुरुङ चयन भएका छन् । सूर्यप्रसाद स्याङ्जा २ खका पराजीत उम्मेदवार हुन् । नवलपुरको अध्यक्षमा माओवादीका रोशन गाहा र सचिवमा एमालेका मित्रशरण शर्मा चयन भएको जनाइएको छ ।