हिमाली देवताको भरमा ‘घोडेपानीबासी’

म्याग्दी, ११ वैशाख – शिरमा रहेको पुनहिलबाट हात अघि बढाए छोइएला झै लाग्ने धौलागिरि, निलगिरि, अन्नपूर्ण, गुर्जा टुकुचे, माछापुच्छ«े लगाएतका हिमाल । तिनै हिमाललाई हेर्नका लागि आउने विश्वभरका लाखौं पर्यटकहरुलाई सेवा र सहयोग गर्न आवश्यक सुविधाहरुको चाँजोपाँजो मिलाउन सधै व्यस्त हुने गर्छन विश्वविख्यात घोडेपानीका होटल व्यावसायीहरु ।
घोडेपानीका होटल व्यावसायीहरु मगर जातीका छन् । उनीहरु सधैं पर्यटकहरुको खानपान, खाजानास्ता र वासका लागि व्यस्त हुन्छन् । उनीहरुको दैनिकी सधैं एकनासको हुने गर्छ । पर्यटकहरुको सेवाका लागि सधै्र भ्याइनभ्याइ हुने घोडेपानीका व्यावसायीहरुको दैनिकी भने विहान उठ्ने वित्तिकै हिमाली देवताको आर्शिवाद लिएपछि मात्र शुरु हुन्छ ।
हिमाल र गुराँसकै कारण घोडेपानी विश्वभरी चिनिएको छ । हिमाल घोडेपानी र पुनहिलको समृद्धि र विकासको सोपान भएको घोडेपानीका होटल व्यावसायी जुनबहादुर पुनले बताए । ‘हिमाल हाम्रो प्राण हो, हिमालकै कारण हाम्रो जीवन चलेको छ,त्यसैले हामीले विहान उठ्ने वित्तिकै हिमाली देवताको आर्शिवाद लिएर आफ्नो काम धन्दामा लाग्ने गर्छौ’ घोडेपानीको होटल स्नो भ्यूका संचालक पुनले भने ।

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ६ मा पर्छन् विश्व चर्चित अन्नपूर्ण र पुनहिल । पुनहिल सरकारले घोषणा गरेको एक सय गन्तव्य स्थलमा समेत पर्छ । भ्रमण वर्षको अवसर पारेर सरकारले एकसय गन्तव्य स्थलको घोषणा गरेसंगै घोडेपानी र पुनहिलमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्यामा उल्लेख्य बृद्धि भएको घोडेपानीका होटल व्यावसायीहरुले बताएका छन् ।
म्याग्दी र कास्कीका दुई अन्नपूर्ण गाउँपालिकाको सिमामा अवस्थित घोडेपानी पदयात्रामा आएका पर्यटकका लागि नाता कुटुम्बकहाँ पाहुना लाग्न गएको घर जस्तै लागेको यहाँ आउने पर्यटकहरुले बताउने गर्दछन् । घोडेपानी केवल हिमाल, गुराँस र प्राकृतिक सौन्दर्यका कारणले मात्रै संसारका विभिन्न मुलुकहरुबाट आउने पर्यटकहरुलाई प्यारो र आफ्नै जस्तो लाग्ने गरेको भने होइन । यहाँको व्यावसायीहरु केवल पैसा कमाउन र पर्यटनलाई व्यावसायसंग जोड्न मात्र होइन आएका पाहुनाहरुको सेवा र सहयोग गर्न पनि उत्तिकै लागि पर्दछन् ।

घोडेपानीबाट पुनहिल जानका लागि उकालो चढ्ने क्रममा कोही विरामी भयो,अशक्त वा घाइते भयो भने आफैले बोकेर वा गाडीको व्यवस्था गरी पुनहिलसम्म पुर्‍याउँछन् । विरामीलाई अस्पतालसम्म लैजानु र सारो गाह्रो परेकाहरुलाई सहयोग गर्नु उनीहरु हिमाली देवताको आज्ञा भन्ठान्छन् र सोही अनुरुप सहयोग गर्ने गर्दछन् । स्थानीय होटल तथा पर्यटन व्यावसायी टेकसर बुद्धुजा पुन भन्छन् ‘यहाँ व्यावसायी भावना कम, सहयोग र सेवाको भावना बढी छ, त्यसैले यहाँका व्यावसायीहरुप्रति पर्यटकहरुको पूरा पूरा विश्वास छ, हामीले कमाएको सम्पत्ति पनि त्यही हो ।’ हिमाली देवताको आर्शिवाद, प्रकृतिको सदाबहार सौन्दर्य, हिमश्रृङ्खलाहरुको चुम्वकीय आकर्षण र स्थानीयको सहयोगी र सेवा प्रधान भावनाले घोडेपानी र पुनहिलको समृद्धि चुलिएको छ । यहाँका व्यावसायीहरुले पैसा मात्रै कमाएका छैनन् विदेशीहरुको विश्वास पनि कमाएका छन् । आत्मियता र हार्दिकता प्राप्त गरेका छन् र यी सबै चिजहरुलाई उनीहरुले सोही ठाउँको पूर्वाधार निर्माणमा खर्चिएका स्थानीय होटल व्यावसायी एवम् अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्या.डमबहादुर पुनले बताए ।

अध्यक्ष पुनका अनुसार घोडेपानीका व्यावसायीहरु विकासका लागि सरकारको मुख ताक्ने प्रवृत्तिबाट कोशौं टाढा छन् । यहाँका व्यावसायीहरुको विकास प्रतिको लगाब विछट्टै छ । अध्यक्ष पुन भन्छन् ‘यहाँ जति पनि पूर्वाधारहरु निर्माण भएका छन् त्यसमा सरकारको लगानी थोरै र स्थानीयको श्रम बढी छ । पर्यटकबाट प्राप्त आर्थिक सहयोग र जनश्रमदानबाट पदमार्गदेखि लिएर अन्य सबै पूर्वाधारहरु निर्माण भएका छन् ।