नेकपा क्रियाशिताको सुखद सन्देश

सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी नेकपाले देशका ७७ वटै जिल्लामा अध्यक्ष र सचिव नियुक्त गरेको छ । पूर्वएमाले र माओवादी केन्द्रबीच भएको एकताको झण्डै २ वर्षपछि पार्टीले कम्तिमा जिल्ला तहसम्म आफ्नो संरचना बनाउन सफलता प्राप्त गरेको हो । जिल्ला कमिटीहरुमा पूर्वएमाले र माओवादीबीच भागबण्डा मिलाइएको छ । पूर्व एमालेलाई अध्यक्षको जिम्मेवारी दिइएको जिल्लामा पूर्वमाओवादी केन्द्रले सचिव पाएको छभने पूर्वमाओवादी केन्द्रले अध्यक्ष पाउँदा एमालेको भागमा सचिव परेको छ । पार्टीको जिल्ला संरचना निर्माणसँगै पोलिटब्यूरो गठन र अन्य जनवर्गीय संगठनहरुको एकता टुंग्याइने नेकपाले बताएको छ ।

कम्युनिष्ट विचार माने पनि फरक पृष्ठभूमिबाट आएका पार्टीहरुबीचको एकता आफैमा जटिल विषय थियो । दुई वर्षअघि हतारमा एकता गर्दा दुई पार्टीबीचका वैचारिक पक्षहरु मिल्न सकेका थिएनन् । खासगरी माओवादी केन्द्रले संचालन गरेको सशस्त्र युद्धको औचित्यप्रति एमालेले प्रश्नचिन्ह उठाउँदै आएको थियो । सशस्त्र द्धन्द्ध र त्यसपछि पनि देखिएका दुई पार्टीबीचको अन्तरद्धन्द्ध एकता हुनासाथ निमिट्यान्न हुने स्थिति पनि थिएन । दुबै पार्टीका नेताहरुले एकअर्काप्रति शंंकाले हेर्ने प्रवृत्ति घोषित एकताले टुंग्याउन सकेको थिएन । पार्टीका दुई अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहालको जोडबलले धन्न पार्टीमा बिद्रोहको अवस्था सृजना हुन पाएन । लगत्तै दुई तिहाईसहित सत्ता प्राप्तिले पनि एकताको औचित्य प्रुष्टी गर्न सहयोग नै पु¥यायो । कम्युनिष्टहरु आन्तरिक जनवाद र प्रक्रियामा बढी विश्वास गर्छन् । तर, एकता प्रक्रियामा आन्तरिक जनवादको अभ्यास नभएको गुनासाहरु पनि सुनिए । एकपक्षले अर्कोलाई निषेध गर्न खोजेको आरोपहरु पनि बाहिर आए । तर, सतहमा देखिएका सबै कुराहरुलाई पार लगाउँदै कम्तिमा नेकपाले तल्लो तहसम्म एकिकरणको प्रयासको थालनी भने गर्न सक्यो ।

नेपालमा वामपन्थप्रतिको लगाव अनौठो छ । २००६ सालमा विश्व ध्र्रुविकृत थियो । माक्र्सवादबाट मुक्ति पाइने नारासहित सोभियत संघ, चीन, पूर्वी जर्मनीलगायतका देशहरुमा कम्युनिष्ट शासन सुरु भएको थियो । तेस्रो विश्व मानिने नेपाल पनि त्यो वामपन्थी लहरबाट अछुतो रहेन । समाजवादीको जगमा नेपाली कांग्रेस स्थापना र दुई कांग्रेसको एकता भएकै बेला नेपालमा कम्युनिष्ट पार्टीको स्थापना भयो । झापा बिद्रोह, माओवादीले संचालन गरेको ‘सशस्त्र जनयुद्ध’ र शान्तिपूर्ण आन्दोलन हुँदै अहिले जनताको मतबाट शक्तिशाली सरकार गठनमा सफलता प्राप्त ग¥यो । कम्युनिष्ट पार्टीको इतिहासमा अहिलेको यो उपलब्धी आफैमा महत्वपूर्ण रहेको पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीकारेको विषय हो । हो, नेपालका ऐतिहासिक परिवर्तनहरुमा वामपन्थी शक्तिको विशेष योगदान रहेको छ । त्यसो त, वामपन्थी शक्तिको भरमा मात्र नेपालका ठूला परिवर्तन सम्भव भएको होइन । नेपालको पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस र वामपन्थी शक्तिहरुको सहकार्यमा नै नेपालले राजनीतिक उपलब्धी हाँसिल गरेको हो । २०४६ सालदेखि हालसम्मका सबैजसो परिपवर्तनमा अहिले प्रतिपक्षमा रहेको नेपाली कांग्रेसको भूमिका पनि उत्तिकै महत्वपूर्ण रहेको बिर्सन मिल्दैन ।

मुख्य कुरा, लोकतन्त्रमा दलहरुले राज्य हाँक्ने हो । जनताको मतमा विश्वास गर्ने पार्टीहरु कहिले जनताबाट अनुमोदित हुन्छन् र सत्तामा पुग्छन् भने जनताबाट त्यक्त हुँदा प्रतिपक्षमा पुग्ने वा अस्तित्वको लागि संघर्ष गर्नुपर्ने हुन्छ । जनमतलाई कदर नगर्ने पार्टीहरु कुनै कालखण्डमा बलिया देखिए पनि उनीहरुको अस्तित्व नै नामेट हुने उदाहरण त नेपालकै प्रजापरिषदलाई लिन सकिन्छ । त्यसैले लोकतन्त्रमा जनतालाई जनार्दन भनिन्छ । अहिले जनता जनार्दनले नेकपालाई पत्याएका छन् । नेकपाको शक्तिशाली सरकार छ । सरकारले गर्ने राम्रा वा नराम्रा कामले नै अबको नेकपाको यात्रा तय गर्छ । अहिलेको विश्व परिस्थितिमा सत्ता कब्जा सम्भव छैन । राजालाई हटाएको पार्टीले निरंकुशताको परिकल्पना गर्न मिल्दैन । पार्टीको आन्तरिक जीवनमा लोकतान्त्रिक थिति बसाल्दै जनपक्षीय काम गर्नाले मात्रै पार्टी जीवन्त बन्छ । पार्टीलाई जनताले पत्याउँछन् । यो यथार्थलाई अहिलेको ठूलो पार्टीले आत्मसात गर्नैपर्छ । देशले यतिबेला आर्थिक सम्मृद्धि चाहेको छ । आर्थिक सम्मृद्धिको यात्रा गफले हैन, व्यवहारले निर्देशित हुन्छ । सदस्यतामा निर्भर पार्टीले आफ्नो बलियो संगठनलाई देश निर्माणमा लगाउँदा नै नेकपाको भविष्य सुन्दर हुन्छ । आफूले केही गर्न नसक्ने र दोष अर्काको टाउकोमा थुपरेर वा अमूक शत्रु देखाउँदै राजनीति गर्न थालियो भनेचाहिँ संगठन भित्रभित्रै मक्किन्छ भन्ने नेकपाले बुझ्नैपर्छ ।