मापदण्ड बिपरित बनेका घरटहरा भत्काउन नगरको पत्राचार

बागलुङ, ११ वैशाख – नगरक्षेत्रमा सडकको मापदण्ड बिपरित बनेका घर टहरा भत्काउन बागलुङ नगरपालिका वडा नं. २ ले पत्राचार गरेको छ । पोखरा बागलुङ राजमार्गकै मापदण्ड नपुगेका घरटहरा भत्काउन पत्राचार भएको हो । वडा नं. २ का अध्यक्ष जीवन आचार्यले १८ वटा घरटहरा तत्काल भत्काउन सार्वजनिक सूचना समेत जारी गरेका छन् । मध्यपहाडी लोकमार्गको समेत बिस्तार गर्ने क्रम चलिरहेकोले बजारको जिरो किलोमिटर सम्मको क्षेत्रमा घरटहरा हटाउनु परेको उनले बताए ।

मध्यपहाडी लोकमार्ग हाल बागलुङ नगरपालिका वडा नं. १ को बाङगेचउरदेखि वडा नं. ४ को उपल्लाचौर तर्फ जाने तय भएको छ । त्यसबाहेक वडा नं. २ को ट्राफिक चोकलाई पोखरा बागलुङ खण्डकै जिरो मानिएको थियो । उक्त स्थान सम्म पुरानै मापदण्ड पनि पुरा नभएकोले भत्काउनु परेको आचार्यले बताए । पुरानो मापदण्डमा सडकको बिचभाग बाट साँढे १० मीटर छाडेर घरटहरा बनाउनु पर्नेमा केही घरले पुरा गरेका थिएनन् । केही पुरानै घर अहिले सम्म नभत्काएकोले सडक चौडाको क्रममा भत्काउनु परेको हो । नगरपालिकाले यस अघि सार्वजनिक सूचना पनि जारी गरेको थियो । चौडा पारिने सडक कम्तिमा १० मीटरमा कालोपत्रे गर्ने योजना छ । हाल यो खण्डमा ८ मीटर मात्र कालोपत्रे छ । यो खण्डको झण्डै ३ किमी खण्डमा सडक सा“घुरो भएकोले सवारी आवागमनमा बढी समस्या पर्ने गरेको छ ।

‘बागलुङ पोखरा सडक आउने बेलामै नभत्काएका घर अहिले परेका छन्’ आचार्यले भने, ‘अब व्यवस्थित सहर निर्माणमा सबैको साथ र सहयोग चाहिन्छ ।’ मापदण्ड बिपरित बन्न लागेपनि सबैले समयमै खवर गर्न पनि भनेका छौं । दोहोरो नाली निर्माण र सडक चौडा बनाएमा लोकमार्गका सवारी सहित स्थानीय सवारी र पैदल यात्रीलाई सहज हुने आचार्यले बताए । बजार भित्र लोकमार्ग ल्याउ“दा धेरै क्षति हुने भन्दै केहीबर्ष अघिदेखिनै बजारबासी आन्दोलित भएपछि बजार छलेर रेखाङकन गरिएको छ । चौडा पारिने सडकले बिकल्पको काम गर्ने आयोजनाका प्रतिनिधिले बताए । चौडा पारिने भनिएको खण्डमा पनि स्थानीय आन्दोलित थिए । अहिले साबिकको ट्रयाकबाट सवारी साधन गुडेपनि चौडा पार्नै पर्ने आयोजनाका ईन्जिनियरले बताए ।

बजार भित्रको ट्राफिक व्यवस्थापनका लागि समेत योजना उपयोगी भएको जिल्ला ट्राफिक प्रमुख सुकबहादुर बिकले बताए । वडा नं. २ कै अगुवाईमा ट्राफिक व्यवस्थापन सहितका कार्यक्रम बनाइएको छ । जथाभावी पार्किङ हटाएर व्यवस्थापनका लागि हरेक साता एक तर्फ मात्र पार्किङ गर्ने, बिद्यालय र अन्य सवारीको रोक्ने र यात्रु ओराल्ने स्थान तोक्न लागिएको हो । ‘सबै सामाग्री तयार भएका छन्, अब केही दिनमा व्यवस्थापन शुरु हुन्छ’ प्रहरी उपरिक्षक कृष्णहरि शर्माले भने, ‘व्यवसायी स“ग पनि सहकार्य गरेर जथाभावी व्यपारिक सामान नराख्ने व्यवस्थाप भएको छ ।’ चौडा सडक बनाएपछि पैदल यात्रीका लागि फुटपाथ पनि बनाउने योजना छ ।