पोषण अवस्था सुधार्न प्रतिवद्वता

बागलुङ, ११ वैशाख – बागलुङका जनप्रतिनिधि र स्वास्थ्य क्षेत्रमा अगुवाले पोषणको अवस्था सुधार ल्याउन प्रतिवद्धतामा हस्ताक्षर गरेका छन् । सबै गाउँपालिका अध्यक्ष र नगरपालिकाकाका प्रमुख तथा स्वास्थ्यचौकीका प्रमुखहरुले सामुहिक रुपमा यस्तो प्रतिवद्धता जनाएका हुन् । उनीहरुले ५ बर्षभित्र जिल्लालाई कुपोषणमुक्त भएको बनाउने घोषणा पनि गरे । साविकका धेरै गाविसमा स्वास्थ्य चौकी र बर्थिङ सेन्टर भएपनि हाल वडाहरु छुट्टिएपछि केही वडामा स्वास्थ्य चौकी समेत छैनन् । सामुदायिक स्वास्थ्य ईकाईहरु मार्फत सेवा प्रवाह भएपनि भौतिक संरचना, जनशक्ति र उपकरण अभावमा ती स्थानमा स्वास्थ्य चौकी जस्तै सेवा संचालन भैसकेको छैन । त्यसका लागि जनप्रतिनिधिहरुले स्थानीय तहको बजेट परिचालन गर्नुपर्ने बरिष्ठ जनस्वास्थ्य प्रशासक दिपकप्रसाद तिवारीले बताए । जनप्रतिनिधिहरुले सबै वडा तहमा बर्थिङ सेन्टर स्थापना गर्ने प्रतिवद्धता जनाएकोले आगामी दिनमा बजेट र कार्यक्रम लक्षित बन्ने उनले आसा व्यक्त गरे । जिल्लाका ८५ वटा वडा मध्ये अहिले सम्म ४६ वटा वडामा मात्र सुरक्षित बच्चा जन्माउने व्यवस्था भएका वर्थिङ सेन्टर छन् । तिवारीका अनुसार सुरक्षित सेन्टरको अभावमा ग्रामीण क्षेत्रमा महिलाले प्रसुती सेवाका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता छ ।

विशेषगरी पश्चिम बागलुङका अधिकांस वडामा सेन्टर छैनन् । भौगोलिक कठिनाई भएकोले उनीहरुलाई सुविधा सम्पन्न स्वास्थ्य संस्थामा जान पनि धेरै समस्या पर्ने गरेको छ । रणसिंकिटेनी, जलजला, खुंखानी, बुंगादोभान तमान जस्ता गाउँका महिलालाई घण्टौ बोकाएर मात्र स्वास्थ्य संस्था लैजान सकिन्छ । कतिपयको बाटैमा मृत्यु हुने गरेको छ । ती क्षेत्रमा नियमित स्वास्थ्य परीक्षण गर्ने चलन पनि कम छ । त्यसैले जनप्रतिनिधिहरुले अनिवार्य स्वास्थ्य संस्था जाने, नियमित परीक्षण गर्ने व्यवस्था मिलाउन पनिपहल गर्ने बताए । जिल्ला समन्वय समितिले जिल्लाको पोषणको अवस्थाको बिष्लेषणका लागि कार्यशाला आयोजना गरेको थियो । सुआहारा कार्यक्रम र नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनले यो अभियानको प्राविधिक काम गरिरहेका छन् । सुआहारा कार्यक्रमकै प्रभाव स्वरुप ख्याउटेहरुको उपचार गर्ने, नियमित गर्भ परीक्षणमा महिलालाई आग्रह गर्ने, हरेक दिन पोषण सहितका खानेकुरा खान प्रोत्साहित गर्ने काम भैरहेको सुआहारा कार्यक्रमका जिल्ला संयोजक चिरन्जिवी दाहालले बताए ।

‘कार्यक्रम हामीले संचालन गरेको भएपनि सरकारी तहबाटै अपनत्व लिएर गरिएको छ’ उनले भने, ‘जनप्रतिनिधिहरु विश्वस्त भएपछि आगामी दिनमा बजेट र कार्यक्रम मार्फत पोषणमा सुधार हुने आसा गरिएको छ ।’ दुइ दिन सम्म चलेको कार्यशाला पछि उनीहरुले २८ बुँदे प्रतिवद्धता पत्र पनि सार्वजनिक गरेका छन् । आमा र शिशुको स्वास्थ्यमा सुधार ल्याएर मृत्युदर घटाउने तथा पोषणको अवस्थामा सुधार ल्याउन पनि उनीहरु प्रतिवद्ध भएका हुन् । उनीहरुले पोषणको अवस्था सुधार गर्न एक घर एक करेसाबारी अभियान चलाउने, १६ पटक स्वास्थ्य परीक्षण भएको आमा र बच्चालाई प्रोत्साहन पुरस्कार दिने, गाउँका किसोरी समूहमा सेनेटरी प्याडको महत्व बुझाउने र बनाउने तालिम दिने, बाल बिबाह न्युनिकरण गर्ने, स्वच्थ्य बच्चा प्रतिष्पर्धा संचालन गर्ने लगायतका निर्णय गरिएको जैमिनी नगरपालिकाका प्रमुख ईन्द्रराज पौडेलले बताए । ‘पाँच बर्षभित्र जिल्लालाई नै कुपोषणरहित बनाउने योजनामा प्रतिवद्ध भयौं’ पौडेलले भने, ‘त्यसका लागि हामीले गर्नुपर्ने सूचकहरु आजैदेखि पुरा गर्दै लैजान लगानी पनि बढाउने भनेका छौं ।’ स्थानीय तहको जिम्मामा आधारभूत स्वास्थ्य आएकोले समुदायमा सबै स्वस्थ्य रहन पाउने वातावरण बनाउन भूमिका खेल्ने उनले बताए । बिद्यालय तहमा जंक फुड निषेधित गर्ने, गर्भवती र सुत्केरी महिलालाई आयोडिन युक्त बितरण र खान प्रोत्साहन गर्ने लगायतका निर्णय पनि गरिएको हो ।