भिमापोखराका तीन सहकारी एकीकृत

बागलुङ, १५ वैशाख – जिल्लाको काठेखोला गाँउपालिका–२ भिमापोखरामा संचालित ३ सहकारी एकिकरण गरिएको छ । गुँहेली संचार सहकारी, सुर्यमुखी कृषि तथा पशु व्यबसायी सहकारी र सक्षम बचत ऋण सहकारी संस्था शनिबार सम्पन्न विशेष साधारण सभाबाट गुँहेली संचार सहकारी नाम रहने गरि एकिकरण गरिएको हो । विशेष साधारणसभामा बोल्दै गण्डकी प्रदेशका सांसद तथा नेकपा बागलुङका अध्यक्ष इन्द्रलाल सापकोटाले स्थानीय सरकार, पार्टी कमिटी, सामाजिक संघ संस्था सबैको ध्यान उत्पादनमा केन्द्रित हुनुपर्नेमा जोड दिएका थिए ।

सांसद सापकोटाले आर्थिक समृद्धिको लागि उद्योग संचालन, कृषिमा आधुनिकिकरण र व्यवसायिक विधि अबलम्बन गर्नुपर्ने सुझाव दिएका थिए । कार्यक्रममा जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतम, धौलागिरी एफएम प्रा.लि.का अध्यक्ष हरिनारायण गौतम, प्रगति बहुउद्येश्यीय सहकारी संस्थाका अध्यक्ष कुमार पौडेल, समाजसेवी चन्द्रमणि उपाध्याय, नेपाल पत्रकार महासंघ बागलुङ शाखाका सह–सचिव नविन शिशिर लगाएतले मन्तव्य व्यक्त गरेका थिए । साधारणसभाले भूमिश्वर उपाध्यायको अध्यक्षतामा नयाँ संचालन समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा सीता शर्मा, सचिवमा सूर्यबहादुर थापा, कोषाध्यक्षमा प्रसाद थापा, सहसचिवमा पार्वती शर्मा रहेका छन् ।

सदस्यहरुमा खिमबहादुर कार्की, ऋषिराम शर्मा, चित्रबहादुर कार्की, नवीन शिशिर, तारा थापा केसी, लक्ष्मी थापा रहेका छन् । लेखा समितिको सदस्य गीता हमाल साही, सदस्यमा प्रजापति उपाध्या र भीमबहादुर केसी रहेका छन् । एकिकृत सहकारीको ८९ लाख ९८ हजार९२६ रुपैयाँ कुल पूँजी पुगेको छ । विशेष साधारणसभाले बागलुङ नगरपालिकाका सम्पुर्ण वडाहरुमा कार्यक्षेत्र विस्तारका लागि गण्डकी प्रदेश सहकारी मन्त्रालयमा अनुमति लिने निर्णय गरेको छ । कार्यक्रम गुँहेली सहकारी संस्थाका अध्यक्ष खिम बहादुर कार्किको अध्यक्षता र सुर्य थापाको संचालनमा सम्पन्न भएको थियो ।