‘प्रसाद’ होइन नागरिकता !

तराईका जिल्लामा नेपाली नागरिकताको प्रमाणपत्र लिनेहरुको भीड लागेको दृश्य हेर्नलायक छ । यतिबेला तराईमा आएको हावाहुरीले घरवारबिहीन भएर राहत लिनको लागि लागेको लाइन भन्दापनि लामो लाइनमा नेपाली नागरिकताको प्रमाणपत्र लिने कामले निरन्तरता पाएको छ । नेपाली नागरिताको प्रमाणपत्र भनेको भुकम्प पीडित, बाढी पीडितहरूलाई जस्तो चाउचाउ र चिउरा राहतमा बितरण गर्ने चिज होइन । नेपाल सरकारले नेपाली नागरिकले बंशजको आधारमा नागरिकता पाउने बाटो खोलीदिएपछि यसको केही राजनीतिक दलले बिरोध गरे । सर्बोच्च अदालतमा मुद्दा पनि हाल्ने काम भयो तर त्यो सबै हावामा उडे ।

अहिले झन् संस्थागत रूपमै नागरिकता जिल्ला प्रशासन कार्यालयबाट प्रमुख जिल्ला अधिकारी कै हस्ताक्षरमा दिने काम धमाधम भइरहेको छ । हो, नेपाली नागरिकले नागरिकताको प्रमाणपत्र सहज रूपमा पाउनुपर्छ त्यो कुरामा अन्यथा छैन । तर, तराईमा नागरिकता लिनेको भिड देख्दा पशुपतिनाथ मन्दिरमा शिवरात्रीको मेलामा पुजा गर्न बसेको लाइन भन्दा पनि बढी भीड देखिन्छ । नेपाली नागरिकले नागरिकता सहज रूपमा पाउनुपर्छ त्यो कुरामा कुनै अन्यथा छैन तर तराईमा नागरिकता लिनको लाइन हेर्दा धेरैजसो छिमेकी मुलुक भारतकै नागरिक हुन र छन् भन्दा अन्यथा हुनेछैन ।

नागरिकता भनेको सातु बाँड्नु जस्तो पनि हैन जसले जतिसुकै बेला सहज रूपमा पाउने । तराईको प्रमुख समस्या भनेको नागरिकताकै देखिएको छ, जुन जहिल्यै पनि चलिरहने त्यहाँका राजनीतिक दलका नेताको राजनीति केवल नागरितामै सिमित छ । २०४६ सालपछि अहिलेसम्म आउँदा लाखौं तराईबासीले नेपाली भएको झुठो प्रमाण पेश गर्दै नेपाली नागरिता लिईसकेका छन् । नागरिता लिने भीडको संख्या हेर्ने हो भने सानोतिनो कुम्भमेला नै लागेको छ मधेसमा । तर, हाम्रो सरकार कतिसम्म लाचार र निरीह छ भन्ने ज्वलन्त प्रमाण हो यो । तराईमा बितरण गरेको नागरिकता प्रमाणपत्र भोली नेपाल र नेपालीको लागि आफ्नो खुट्टामा आफै बन्चरो हानेको साबित हुनेछ । मुलुकमा राष्ट्रवादी छवि भएको भनेर चिनिने नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शक्तिशाली अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री छन् तर काम भने राष्ट्रघाती छ भनेर यहाँ भनिरहन आवश्यक छैन ।

नेपालमा २०६४ सालमा संबिधानसभा बन्यो तर संविधान बनाउन नसकेर त्यो भंग भयो । दोस्रोपटक बनेको संबिधान सभाबाट संबिधान घोषणा गर्ने समयमा छिमेकी मुलुक भारतले ठूलो दबाब दियो, संबिधान जारी नगर्न कि त आफुले भने बमोजिमको संबिधान जारी गर्न तर त्यो कुरा नेपालका राजनीति दलले नमानेपछि जर्बजस्ती रूपमा संविधान घोषणा गरे तर छिमेकीले मधेसी दललाई उचालेर नाकाबन्दी लगाउने काम गर्न पछि परेन । फेरी संबिधान संशोधनको हल्ला मच्चाउन थाले । नागरिकता बितरणदेखि ‘एक मधेस एक प्रदेश’कै मुख्य एजेन्डा बनाउने काम गरेको कुरा दुनियाँसामु छर्लङ्ग छ । अहिले नागरिकताको प्रमाणपत्र सत्यनारायणको प्रसाद बाँडे जसरी बाँड्ने जुन काम गरिएको छ यसले भोली नेपाली नागरिकता लिएका हिजोका राजेन्द्र महतो जस्तै लाखौं भारतीय नागरिकले नेपाली भएको भन्दै राजनीतिदेखि सबै काम कुरामा अधिकार जमाउने निश्चित छ । तराईमा जनसंख्याको आधारमा निर्वाचन क्षेत्र छुट्टाउने काम गरिएको छ, भोलि बैधानिक रूपमा नेपाली टोपी लाएर नेपालीको टाउकोमा बुट, लाठी बर्साउने निश्चित छ । आफुलाई राष्ट्रवादी भनेर दाबी गर्ने मनुवाहरू छिमेकी प्रभुको अगाडि मात्रै दास हुन्, अर्को हैसियत छैन भन्ने कुराको यो बलियो प्रमाण हो ।

बिदेशमा नागरिकता पाउन त्यति सजिलो छैन । आज बिबाह गरे भोलिपल्टै नेपाली नागरिकता पाईहाल्न केही प्रक्रिया पुरा गर्नुपर्ने हुन्छ । बंशजको आधारमा नागरिकता बितरण गर्दा नेपालका धेरैजसो शासक आँखामा पट्टि बाँधेर हेरिरहेका छन् । बिरोध गरे खाइपाई आएको प्रधानमन्त्री मन्त्रीदेखि सांसद पद समेत फुस्किएला भन्ने पिर। हैन भने एमालेका नेता मदन कुमार भण्डारी र जीवराज आश्रित जसरी दुर्घटनामा मर्नु पर्ने अबस्था आउने । धेरै नेताहरूको रोजीरोटी खोसिने, छोराछोरीको छात्रवृत्ति खोसिने यावत कारणले पनि छिमेकी भारतले जे–जे भन्यो त्यो मान्नुको बिकल्प छैन ।

राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसीले भनेझंै भारतीयलाई नेपाली नागरिकता दिएर देशलाई सिक्किमकरणतर्फ उन्मुख भइरहेको भन्ने कुरा अहिले कसैलाई वास्ता छैन । पछि जब बैधानिक रूपमै नेपाल छिमेकीको इसारा अनुसार गाँभिने दिन आउँछ त्यो बेला हामी पछुतो मानेर केही हुनेवाला छैन । ‘नेपाली हामी रहुला कहाँ नेपालै नरहे, नेपालै नरहे’ भन्ने पुरानो नेपाली गीतको मर्म र धर्मलाई जबसम्म आत्मासाथ गर्न सक्दैनौं तबसम्म मात्रै खोक्रो राष्ट्रियताको नाराले केही हुनेवाला छैन । कुरा राष्ट्रवादको गर्ने ब्यबहार भने लम्पसारवादको गर्ने प्रवृत्तिले सबै कुरा बिग्रेको हो । नागरिकताको प्रमाणपत्र भनेको बाढीपीडितलाई राहत बितरण गर्ने बस्तु अबश्य पनि हैन । अहिले इतिहासकै सबैभन्दा शक्तिशाली सरकार भनेर प्रचारप्रसार भइरहेको बेला इतिहासमै कहिल्यै नभएको खेलमा सरकार लागेर छिमेकी मुलुकका नागरिकलाई नागरिकता दिने काम भइरहेको छ। यो अधिकार भनेको उसको लागि राजनीतिक, सामाजिक अधिकार सबै खालको अधिकार हो ।

भोलि संसदमा तिनै नेपाली नागरिकता बोकेका भारतीय नागरिक निर्वाचनबाट आउने छन् अनि तपाईं हामीमाथि शासन गर्ने छन् । गाउँ–गाउँमा पनि तिनैको राज चल्नेछ अनि हामी नेपाली ‘लाटोले केरा हेरे’ जसरी हेर्न बाध्य हुने छौ । नेपालको संविधान २०७२ मा नागरिकता सम्बन्धि स्पष्ट रूपमा लेखिएको छ । कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट बन्चित गरिने छैन । यो संविधान प्रारम्भ हुँदाका बखत नेपालको नागरिकता प्राप्त गरेका र यस भाग बमोजिम नागरिकता प्राप्त गर्न योग्य ब्यक्तिहरू नेपालको नागरिक हुनेछन् भनेर स्पष्ट रूपमा लेखिएको छ । अहिले संबिधानले भने बमोजिम भन्दा पनि फरक ढंगले भारतीय नागरिकलाई नागरिकता दिने ग्राइण्ड डिजाइन अनुसार काम भएको छ, त्यो नेपाल र नेपालीको लागि दुर्भाग्यपूर्ण हुनेछ ।