चालु आर्थिक बर्षका लागि विनियोजन भएको बजेट अझै खर्च नहुँदा फ्रिज हुने संभावना

बागलुङ, २३ वैशाख – आगामी आर्थिक बर्षका लागि बजेट आउने दिन नजिकीदैछ । सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भैसकेको छ । तर चालु बर्षका लागि बिनियोजन भएको करोडौं बजेट अझै खर्च भएको छैन । करोडौंको काम गर्नुपर्ने जिल्लाका बिकासे कार्यालयहरुले खर्च गर्न नसक्दा धेरै बजेट फ्रिज हुने संभावना बढेको छ । बिकासे कार्यालयहरु भने अन्तिममा रकम भुक्तानी हुने भएकोले बजेट खर्च हुने दाबी गर्छन् । चालु बर्षका लागि संघिय तथा प्रदेश सरकारबाट आएको बिकास बजेट १ अर्व ६३ करोड रुपैयाँ हो । उक्त मध्ये अहिले सम्म साँढे ४५ करोड रुपैयाँ मात्र खर्च भएको देखिन्छ । कुल बजेटको ३० प्रतिशत पनि रकम खर्च नभएपछि बाँकी ६० दिनमा अरु रकम खर्च हुने संभावना कम भएको बताइएको छ ।

विशेष गरी भवन, सिंचाई, खानेपानी, शहरी बिकास जस्ता शिर्षकका रकम न्युन खर्च भएका हुन् । अधिकतम खर्च गरेका कार्यालयले पनि चालु तर्पm ६६ र पूजिगतमा ३२ प्रतिशत खर्च गरेका छन् । जलश्रोत तथा सिंचाई बिकास डिभिजनको ९ करोड ९७ लाख पूजिगत बजेटमा अहिलेसम्म ३ करोड ६० लाख मात्र खर्च भएको छ । त्यो ३३ प्रतिशत मात्र हो । खोपानी तथा सरसफाई डिभिजनले ३३ करोड बजेटमा १० करोड मात्र खर्चेको छ । त्यो ३० प्रतिशत मात्र हो । भवन डिभिजनले पनि अहिलेसम्म २५ प्रतिशत रकम मात्र खर्चेको छ । १३ करोड बजेटमा चैत सम्म ३ करोड मात्र खर्चेको हो । ‘समयमा बजेट खर्च नगर्दा काम प्रभावित हुने, अन्तिम समयमा दुरुपयोग हुने खतरा बढ्छ’ प्रमुख कोष नियन्त्रक केशवप्रसाद ढकालले भने, ‘बजेट खर्च गर्न नसकेको भन्दै आगामी बर्षको पूजिगत बजेट घटेर आउने र योजनामा रहेका ठूला आयोजना प्रभावित हुने संभावना हुन्छ ।’ हिउँदको समयमा सिंचाई, खानेपानी, भवन र सडकका काम पुरा गर्न सकेमा आगमी बर्ष बजेट थप बढेर आउने उनले बताए ।

स्मार्ट शहर बनाउने भनिएको बुर्तिवाङ नयाँ सहरी आयोजनाको चालु बर्षकालागि बिनियोजित ११ करोड १० लाख रुपैयाँमध्ये चैत मसान्त सम्म ५ लाख १७ हजार रुपैयाँ मात्र खर्च भएको छ । यो एक प्रतिशत रकम पनि हैन । डिभिजन ईन्जिनियर नारायण भण्डारीले सबै काम ठेक्कामा गएकोले भुक्तानी नभएको दावी गरे । चालु बर्ष ढलनिकास, सडक र भवन निर्माण लगायतको काम गर्ने योजना उनले सुनाए । ‘यतिबेला सम्म कम्तिमा ६६ प्रतिशत रकम खर्चेको भए बिकास निर्माणले गति लिने थियो’ ढकालले भने, ‘बिकास निर्माणका काम गर्नै नसक्ने संयन्त्रहरुले बजेट सदुपयोग हुँदैन ।’ स्थानीय तहरुले पनि अहिले सम्म ३० देखि ३२ प्रतिशत रकम मात्र खर्च गरेको उनले बताए । भूकम्प पुन निर्माण प्राधिकरण मार्फत संचालित जिल्ला आयोजना कार्यालयले पनि सोचेजस्तो रकम खर्चन सकेको छैन । २ हजार ३ सय ७५ निजी आवास बनाउने जिम्मा पाएको कार्यालयले ८० करोड रुपैयाँ खर्चनु पर्नेमा १७ करोड मात्र खर्चेको छ । त्यो २० प्रतिशत मात्र हो । कार्यान्वयन ईकाइकै जिमानी तर्फ भने ५० प्रतिशत रकम खर्च भएको छ । उसको २१ करोड बजेटमा ११ करोड रकम खर्च भएको हो ।

‘अनुदान सम्झौता पछि कामको मूल्यांकनका आधारमा भुक्तानीको प्रवब्ध हुन्छ, तर मापदण्ड पुरा नभएका घरहरुको कारण भुक्तानी ढिलाई भएको हो’ प्राधिकरणका ईन्जिनियर रामआशिष शाहले भने, ‘कतिपयको एकैपटक भुक्तानी हुने क्रममा रहेकाले छिटै वित्तिय प्रगती देखिनेछ ।’ प्राविधिक रुपमा सामान्य त्रुटी भएपनि बनेका धेरै घरले भुक्तानी नपाएको गुनासो पनि बढेको छ संघिय सरकार, प्रदेश र स्थानीय सरकारका क्षेत्राधिकार बारे बिबाद र अन्यौल बढेकोले कतिपय बिकास निर्माण प्रभावित भएको जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगानाले बताए । ‘बजेट छ, काम कसले गर्ने भन्ने बिबाद छ’ उनले भने, ‘आफ्नो एकल जिम्मा भए मात्र प्रगती देखाउने प्रवृत्ति कर्मचारीहरुमा देखिन्छ, त्यसको प्रभाव बिकास निर्माणमा परेको छ ।’ संघियताको कार्यान्वयन चरण भएकोले यस्ता बिबादहरु अझै सुल्झीन ढीलाई भैरहने उनले बताए । पौडेलले भने स्थानीय तहको खर्च प्रणाली पारदर्शी र अनुशासन अनुरुप नभएको पाएको टिप्पणी गरे ।

‘अब बित्तिय अनुशासन अनुसार खर्च गर्नका लागि सबै तहका लेखा शाखालाई प्रशिक्षण दिने योजना बनाएका छौं’ उनले भने, ‘खाली भएका पद पुरा भएपछि यो काम गर्छौ ।’ वित्तीय सुशासन कायम गराउने जिम्मा कोष तथा लेखा नियन्त्रण कार्यालयलाई छ । बुर्तिवाङ सहरमा पनि नगरभित्रको ढल निकास र सडक चाक्लो बनाउने व्यवस्थित बसपार्क जस्ता काम अलपत्र पर्नुमा नगरपालिका र सहरी आयोजनाको बिबाद भएको नगरप्रमुख देव नेपालीनै स्विकार्छन् । ‘उनीहरुले डीपीआर बनाएको दुइ बर्षमा पनि काम गरेका छैनन्’ नेपालीले भने, ‘हामीले हात हाल्ने कुरा भएन, उनीहरुले काम गर्न सकेनन् ।’ बजार भित्रको ढल निकास र सरसफाईको जिम्मा र बजेट सहरी आयोजनामा आएको उनले बताए । आयोजनाले कम्तिमा १ लाख जनसंख्यालाई व्यवस्थित सहरमा राख्ने लक्ष राखेको छ ।